विदेश छाडेर सयपत्री

मनोज पौडेल

(कपिलवस्तु) — शिवराज नगरपालिका ५, नौडिहवामा व्यावसायिक फूल खेती सुरु गरिएको छ । दसैं, तिहार र छठलाई लक्षित गरी फूल लगाइएको हो । गत जेठमा लगाइएका फूलका बिरुवा अहिले हुर्किएर ढकमक्क फुलेका छन् । 

विदेश छाडेर सयपत्री

स्थानीय ८ युवाले सञ्चालन गरेको ऋग्वेद कृषि फर्मले १० कट्ठामा सयपत्री खेती गरेको हो । आठमध्ये ६ युवा वैदेशिक रोजगारीबाट फर्किएका हुन् भने २ वैदेशिक रोजगारमा जाने तयारी त्यागेर खेतीतर्फ लागेका छन् । फर्म सञ्चालकका अनुसार सयपत्री फूलको बीउ चितवनबाट ३० हजार रुपैयाँमा खरिद गरी ल्याइएको थियो । ‘फूल टिप्न थालेका छौं,’ सञ्चालक युधीर पौडेलले भने, ‘माग बढी छ ।’ नेपालगन्जदेखि चितवनसम्मका व्यवसायीले सम्पर्क गरी फूल मागिरहेको उनले सुनाए । ‘दसैंमा फूल तयार भएन । तिहार र छठलाई लक्षित गरी अहिले बजारसम्म पुर्‍याइरहेका छौं,’ उनले भने, ‘२ क्विन्टल फूल चितवन पठाइसक्यौं । शनिबार थप २ क्विन्टल पठाउँदै छौं ।’ ५ सय रुपैयाँ प्रतिकिलोका दरले फूल बिक्री गरिरहेको उनले बताए ।


फूल रोप्न १ लाख खर्च भएको र ३ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको सञ्चालकहरूले बताए । साढे ४ महिनासम्ममा फूल तयार हुन्छ । माला पनि बनाएर बेच्ने गरेको उनीहरूले बताए । एउटा माला सय रुपैयाँमा बिक्री भइरहेको छ । यसपटक १० क्विन्टल फूल उत्पदान हुने अनुमान छ । ‘फूल व्यवसायलाई व्यावसायिक र राम्रो गर्दै लैजाने सोच छ,’ सञ्चालक सन्तोष पन्तले भने, ‘आगामी दिनमा सयपत्रीसँगै मखमलीलगायत फूल पनि लगाउने योजना बनाएका छौं ।’ चार्डपर्वमा मात्र नभएर पूजा, बिहेवारी र अन्य कार्यक्रमलाई पनि लक्षित गरी धेरै किसिमका फूल लगाउने योजना रहेको उनीहरूले सुनाए । फूल खेतीनजिकै उनीहरूले तरकारी खेती पनि गरेका छन् । फूलको सुगन्धले तरकारीलाई हानि गर्ने कीरा–फट्यांग्रा कम आउने उनीहरूको अनुभव छ । फूललाई कम खर्च र थोरै हेरचाह चाहिने भएकाले सँगसँगै तरकारी खेती पनि गरिरहेको उनीहरूले बताए ।


एक दशक इजरायल बसेर फर्किएका पन्तले नयाँ काम गरी राम्रो आय आर्जन गर्न सकिन्छ भनेर देखाउन खोजेको बताए । ‘यहीं राम्रो आम्दानी हुन्छ, विदेश जाने सोच बनाउनेका लागि मुलुकमै सम्भावना छ भन्ने देखाउन चाहन्छौं,’ उनले भने । फूल आयात बढेको भन्दा पनि हामीले सम्भावना हुँदाहुँदै पनि खेतीका लागि जाँगर नचलाउनु समस्या भएको उनको जिकिर छ ।


प्रकाशित : कार्तिक ८, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?