कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्भ जाँचसँगै नुन र तेल

कान्तिपुर संवाददाता

रुकुम पूर्व — सिस्ने गाउँपालिकाले गर्भवतीको गर्भ जाँचसँगै नुन र तेल वितरण गर्न थालेको छ  । स्वास्थ्य संस्थामार्फत गर्भ जँचाउन आउने हरेक गर्भवतीलाई एक पोका आयोडिनयुक्त नुनका साथमा एक लिटर तेल दिने गरेको हो  ।

गर्भ जाँचसँगै नुन र तेल

गाउँपालिकाले हरेक स्वास्थ्य संस्थाको स्टोर कक्षमा अरु सामग्रीका साथमा नुन र तेल पनि भण्डारण गरेको छ । गाउँपालिकाका आठवटै वडाका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य एकाइमा नुन र तेल राखिएको छ । गर्भ चेकजाँचका लागि आउने गर्भवती महिला र स्वास्थ्य संस्थामै सुत्केरी हुने गर्भवतीका लागि स्वास्थ्य चौकीमा नुन र तेल राखिएको हो ।

गर्भ चेक जाँचका लागि स्वास्थ्य चौकी आउने गर्भवतीलाई प्रोत्साहनका साथै गर्भवती आमा र शिशुको आयोडिनमा सहयोग पुर्‍याउन आयोडिनयुक्त नुन दिइन्छ भने स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गर्भवतीलाई तेल दिने गरिएको छ । सिस्ने गाउँपालिकाको पोषण कार्यक्रमअन्तर्गत गर्भवतीलाई प्रत्येक गर्भ जाँचका बेला एक किलो आयोडिनयुक्त नुन र सुत्केरीलाई एक लिटर खाने तेल प्रदान गर्दै आएको छ ।

गाउँपालिकाले सजिलोका लागि नुन र तेल खरिद गरेर सम्बन्धित स्वास्थ्य संस्थामै पठाइदिएको हो । गर्भ जाँच र सुत्केरी भएकै दिन महिलाले नुन र तेल पाउने गर्छन् ।

‘नुन, तेल दिने कार्यक्रमले गर्भ जाँच र स्वास्थ्य संस्थामै सुत्केरी हुनेको संख्या बढेको छ,’ स्यालापाखा स्वास्थ्य चौकी धपेका इन्चार्ज हरि केसीले भने, ‘प्रोत्साहन र स्वास्थ्यमा फाइदा हुने चीजले गर्भवतीलाई आकर्षित गरेको छ ।’ उनले गाउँपालिकाको पोषण कार्यक्रमले स्वास्थ्य सचेतनामा समेत सहयोग पुगेको बताए । गाउँपालिकाले नुन र तेलको साथमा नियमित चारपटक गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई थप नगद पनि दिने गरेको छ ।

संघीय सरकारले दिने गरेको प्रोत्साहन भत्ता तथा यातायात खर्चमा गाउँपालिकाले थप ६ सय रुपैयाँ सहयोग गर्दै आएको छ । गाउँपालिकाले यातायात खर्च भनेर प्रतिसुत्केरी ५ सय र अन्तिम गर्भ जाँचका लागि भने थप १ सय रुपैयाँ दिंदै आएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्यामा वृद्धि गर्न तथा मातृ, शिशुको सुरक्षाका लागि नुन र तेलका साथमा प्रोत्साहन रकम दिने गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । नुन, तेल र सुत्केरीलाई दिइने प्रोत्साहन रकमका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको थियो भने चालु वर्षमा ७ लाख विनियोजन गरेको छ ।

सिस्ने गाउँपालिकाले दिने ६ सयसहित स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले ३ हजार ४ सय रुपैयाँ प्रोत्साहन र यातायात खर्चबापत पाउँछन् । साबिकका सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट र स्यालापाखा गाविसका सात वडा मिसाएर सिस्ने गाउँपालिका बनाइएको छ ।

हाल गाउँपालिकाका २, ३, ५ र ८ वडाका स्वास्थ्य चौकीमा प्रसूति सेवा छ । पाँचवटा वडामा स्वास्थ्य चौकी छन् भने गाउँपालिका आफैंले पाँच सामुदायिक स्वास्थ्य एकाई स्थापना गरेर स्वास्थ्य सेवा दिइरहेको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?