कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढलको पानी पुन: प्रयोग

अमृता अनमोल

बुटवल — रूपन्देहीको सैनामैना नगरपालिकाले ढलको पानी प्रशोधन सुरु गरेको छ  । घरबाट निस्केर सडकमा बग्ने र खोलामा मिसिने पानी एकै ठाउँमा जम्मा गरेर प्रशोधन थालिएको हो  ।

प्रशोधन गरेको पानी लुगा धुन, जनावरलाई खुवाउन र सिंचाइ गर्न प्रयोग गरिन्छ ।


नगर प्रमुख चित्रबहादुर कार्कीले पानीको पुन: प्रयोग बढाउन र प्रदूषण रोक्न ढल प्रशोधन केन्द्र निर्माण गरिएको बताए । ‘बजारीकरण हुँदै जाँदा एकातिर पानीको अभाव हुने रहेछ, अर्कोतर्फ घरबाट निस्कने फोहोर पानी व्यवस्थापन जटिल बन्दै जाँदो रहेछ,’ उनले भने, ‘दुवै व्यवस्थापन हुने गरी ढल प्रशोधन केन्द्र बनाएका हौं ।’ ढलको उचित व्यवस्थापन र फोहोर पानी प्रशोधनले बजार क्षेत्र र खोला सफासुग्घर हुने उनले सुनाए ।


गत वर्षदेखि सैनामैना–३ का करिब ६ सय घरधुरीको ढलको पानी प्रशोधनको काम गरिएको छ । प्रशोधित पानी मानिसले पिउन र खाना पकाउनबाहेक अन्य सबै काममा उपयोग गरिएको मुर्गियाकी उपभोक्ता कमला शर्माले बताइन् ।

अस्नैयामा निर्माणाधीन
चालु आर्थिक वर्षबाट सैनामैना–४ का ५ सयभन्दा बढी घरधुरीको ढलको पानी प्रशोधन थालिनेछ । यसका लागि घमाहा खोला किनारको अस्नैया डाँडामा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ । करिब पाँच कट्ठा क्षेत्रफलमा फैलिएको केन्द्रमा पानी संकलन, प्रशोधन र वितरणका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् । घरको फोहोर पानी ल्याउन करिब ३ हजार ७ सय मिटर लम्बाइको ढल निर्माण गरिएको छ । ढलबाट आएको पानी सुरुवातमा फिल्टर हुनेछ । त्यसबाट ठोस पदार्थ थिग्रिएर पानी मात्रै जम्मा हुनेछ । दोस्रो चरणमा पानी प्रशोधित हुनेछ । प्रशोधित पानी जम्मा गर्न १ लाख ७० हजार लिटर क्षमताको ट्यांकी बनाइएको छ । उक्त पानी घमाह खोलामा पठाइनेछ ।


संघीय सरकारको खानेपानी तथा ढल निकास विभागद्वारा ढल प्रशोधन केन्द्र आयोजना सञ्चालन भएको हो । ३ करोड ५५ लाख रुपैयाँ लागतको ढल प्रशोधन केन्द्र निर्माणको ठेक्का सुपेरियर निर्माण सेवाले लिएको छ । निर्माणको काम गत वर्षको जेठबाट सुरु भएको हो । अहिले करिब ८० प्रतिशत काम सकिएको छ । आउँदो मंसिरभित्र निर्माण सकेर प्रशोधनको काम थाल्ने सम्झौता रहेको ठेकेदार कम्पनीका सुपरभाइजर तुलसीप्रसाद वाग्लेले बताए । ‘ढलको फोहोर पानीलाई प्रदूषणरहित बनाउने र सिँचाइका लागि पठाउने मुख्य उद्देश्य हो,’ उनले भने, ‘यो पानी बस्तुभाउलाई खुवाउन, लुगा धुन र नुहाउन मिल्ने गरी प्रशोधन गरिनेछ ।’


विज्ञहरूका अनुसार घरमा उपयोग हुने पानीको ८५ प्रतिशत विभिन्न रूपमा विसर्जन हुन्छ । त्यही पानीलाई प्रशोधन गर्ने हो भने विभिन्न रूपमा उपयोग गर्न सकिन्छ । यस क्षेत्रमा भने सैनामैनाले ढलको पानी प्रशोधनको सुरुवात गरेको छ । बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले पनि ढलको पानी प्रशोधन गर्ने योजनाबारे छलफल चलाएका छन् । ‘बुटवल बजारको फोहोर र ढलको पानी सीधै बगाउँदा तिनाउ नदीमा जलचर नै देखिन छोडेका छन्,’ उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीका अध्यक्ष नोर्बु लामाले भने, ‘तिनाउ नदीको अस्तित्व बचाउने हो भने सबैभन्दा पहिले यस क्षेत्रमा ढल प्रशोधन केन्द्र बनाएर प्रदूषणरहित पानी मात्रै नदीमा पठाउनुुपर्छ ।’

प्रकाशित : कार्तिक ४, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?