कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलाको पानी खान बाध्य

गिरुप्रसाद भण्डारी

(प्यूठान) — चाडपर्वका बेला धारामा खानेपानी नआउँदा बृहत् बिजुवार साना सहरी खानेपानी आयोजनाअन्तर्गतका उपभोक्ता समस्यामा परेका छन्  । धारामा पानी आउन छाडेपछि उपभोक्ता पुराना मूल, झिमरुक र जुम्रिखोलामा धाएर पानी खान बाध्य छन्  ।

पानीको स्रोत सुक्दै गएपछि आयोजनाअन्तर्गत निर्माण गरिएका इनारमा पानी कम भएकाले धारामा नियमित छोड्न नसकिएको समितिले जनाएको छ । घरघरमा धारा राख्नका लागि ठूलो रकम खर्च गरे पनि पानी नआउँदा धेरै समस्या भोग्न परेको प्यूठान नगरपालिका–४, बिजुवारका बाबुराम श्रेष्ठले बताए । ‘दसैं लागेदेखि धारामा पानी आउन छाडेको छ,’ उनले भने, ‘रमाएर चाडपर्व मनाउने बेला सधैं हामीलाई पानीको पिरलो हुन्छ ।’

केही दिन पहिलेसम्म एक दिन बिराएर धारामा पानी आउने गरेकामा अहिले चार दिनदेखि नआएको उनले बताए । पानीको समस्या भएको विषयमा गुनासो गर्न थालेको धेरै दिन भए पनि सुनुवाइ नभएको उनले सुनाए । धारामा पानी नियमित नआए पनि पैसा भने नियमित तिर्न परिरहने स्थानीय दोबन्ता पाठकले गुनासो गरिन् । ‘पानी आए पनि नआए पनि महिनामा २ सय ५० रुपैयाँ न्यूनतम तिर्नैपर्छ,’ उनले भनिन्, ‘हाम्रो गुनासो कसले सुन्ने ?’ पानी नआएको विषयमा स्थानीय जनप्रतिनिधिसँग समेत गुनासो गरेको उनले बताइन् ।

श्रेष्ठ र पाठकको धारामा मात्र नभएर प्यूठान नगरपालिका–८, ७, ४, ३ र २ वडामा वितरण गरिएका १ हजार ६ सयभन्दा बढी उपभोक्ताका धारामा अहिले नियमित पानी आउन छाडेको छ । बिजुवार, टारी र जुम्री क्षेत्रका स्थानीयले उपभोक्ता समितिका पदाधिकारीलाई बोलाएर पानी नआएको विषयमा सामूहिक गुनासो गरेको टारीका सुरेन्द्र सुवेदीले बताए । आयोजना निर्माण गर्दा दिगोपनाबारे नसोचिएका कारण उपभोक्ताले दुःख पाउने गरेको सुवेदीको आरोप छ । ‘करोडौंको योजना बन्यो भनेर पुराना आयोजनाको मर्मत गरिएन,’ उनले भने, ‘अहिले आयोजनाले धोका दिंदा पानीको धेरै दुःख पाइयो ।’

नगरपालिकाको मुख्य बजार क्षेत्रमा खानेपानीको समस्या भएकामा प्यूठान नगरपालिका गम्भीर बनेको प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । उनले बृहत् खानेपानीका रिजर्भ ट्यांकी मिसाउने गरि टिकुरीमा र दाखाक्वाडीमा लिफ्ट योजना निर्माण भइरहेको बताए । तिहारअगाडि नै टिकुरीको योजना सञ्चालन गर्न पहल थालेको उनले बताए ।

पहिले निर्माण गरिएका इनारमा पानीको स्रोत राम्रो नभएकाले नियमित पानी छोड्न समस्या भएको उपभोक्ता समिति अध्यक्ष जानुका केसीले बताइन् । ‘बर्खाभर पानी नियमित थियो,’ उनले भनिन्, ‘हिउँद लाग्न थालेपछि पानीको स्रोत सुक्दै गएकाले समस्या परेको हो ।’ उनले बिजुवारको भौकाबाहेक अन्य स्थानमा बनाएका पुराना इनारमा पानीको स्रोत सुकेको बताइन् ।

टिकुरी र दाखाक्वाडीमा निर्माण गरिएका नयाँ इनार सञ्चालनमा आएपछि खानेपानीको समस्या समाधान हुने उनको दाबी छ । ‘पानी आएन भनेर धेरै उपभोक्ताको गुनासो छ,’ उनले भनिन्, ‘हामी पानीको दिगो स्रोतको खोजीमा छौं ।’ बिजुवार ढाडमग्राको पुरानो खानेपानी आयोजना मर्मत र टकुरीको नयाँ योजना तत्काल सञ्चालनमा ल्याउने तयारी समितिले गरेको उनले बताइन् । ‘तिहारअगाडि नै सबै उपभोक्ताका धारामा नियमित पानी आउँछ,’ उनले भनिन्, ‘त्यसैको तयारीमा अहिले दिनरात नभनेर लागिपरेका छौं ।’

प्रकाशित : कार्तिक १, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?