कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमै खटिया

सडकलाई आँगन बनाउँदा पैदल यात्रुको अधिकार खोसिएको छ भने अर्कोतर्फ प्रयोगकर्ता दुर्घटनाको सिकार हुनुपर्ने अवस्था छ
मधु शाही

(बाँके) — काँक्राको चिराजस्तै सर्लक्क परेको एघार हात जग्गामा छाप्रो छ । त्यही छाप्रो छोएर चिल्ला गाडी गुड्छन् । सडक निर्माण भएपछि धूलो उड्न छोड्यो तर जमिन खोसियो । नेपालगन्ज १४ की सम्धुरा कोरीको घरको ढोकै फुटपाथसँग जोडिएको छ । त्यसमुनि नाला छ । फुटपाथ होस् या नाला, ३५ वर्षीय कोरीका लागि भने त्यो आँगनसरह छ ।

सडकमै खटिया

बच्चा फुटपाथमै खेल्छन् । ‘बच्चे लोग नही मानते,’ उनले आफ्नै लबजमा भनिन्, ‘गाडी से डर लगता है ।’ उपमहानगरको भित्री बस्तीमा सडक बनेपछि अलि व्यवस्थित भएका छन् । यहाँ थोरै जमिन हुनेका लागि भने सडकै आँगन बनेका हुन् । उनीहरू घरका आधा काम सडक पेटीमै गर्छन् । थोरै जमिन भएको हुँदा बाध्यताले सडक पेटी प्रयोग गर्नुपरेको उनीहरूको तर्क छ ।

सडकमै खटिया ओछ्याएर सुत्ने, अन्न सुकाउने, भाँडा माझ्ने र यहाँसम्म कि नुहाउने सबै यहीं गरिन्छ । नेपालगन्ज १४ बस्ने ६० वर्षीया रब्बुल राईको घर नालासँगै जोडिएको छ । बिहान उठ्नेबित्तिकै पाइला टेक्ने भनेकै मूल सडकमै हो । छाप्रोभित्र छोरा–बुहारी सुत्छन् । उनी सडक पेटीमै ओछ्यान लगाउँछिन् । १० हातमा बनेको छाप्रोमा उनको ८ जनाको परिवार अट्दैन । पानी नपर्दा उनीहरू सडकमै सुत्छन् । ‘हामीलाई पानी नपरेकै जाति,’ वडा ७ की मीना बर्माले भनिन्, ‘घरभित्र सुत्ने थलो पुग्दैन ।’

रेहमान अन्सारीको दैनिकी मात्रै होइन, व्यवसायसमेत सकडमै छ । मासु व्यवसाय गर्ने उनले सडकपेटी मिचेरै ठेला राखेका छन् । घरसँगै जोडिएको फुटपाथ बाहेक उनको एक धुर जमिन छैन । जीविकोपार्जन गर्ने आधार नभएपछि उनले फुटपाथमै पसल खोल्न बाध्य भएको बताए । सडक पिच भएपछि धूलोधूवा खानु परेको छैन । तर, जमिन काटिंदा सडकमै व्यवसाय गर्न बाध्य भएको उनले सुनाए । दसैं लागेपछि खसीको व्यापारमा जोड दिएका अहमान महम्मदले सडकमै बजार लगाएका छन् ।

दैनिक ३/४ खसी बेच्न उनी सडकमै राख्छन् । त्यहाँ घाँस खुवाउनेदेखि बाँधेर राख्नेसमेतको काम हुन्छ । नेपालगन्ज १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रका अनुसार गाउँका भित्री भागमा सडक पुगे पनि त्यसको प्रयोग कसरी गर्ने भन्ने जनताले बुझेका छैनन् । सडकलाई व्यक्तिगत सम्पत्तिसरह उपयोग गर्दै आएको उनले सुनाए । सडक व्यवस्थित राख्न धेरैपटक गाउँघरमा पुगेको समेत उनले बताए । तर, यस्तो बेला ‘अर्कोपटक भोट दिंदैनौं, प्रधानले धेरै नियम लगाए’ भन्दै जनगुनासो आउन थालेको उनले सुनाए । ‘गाउँले जनतालाई बुझाउनै गाह्रो छ,’ उनले भने, ‘सडक निजी सम्पत्तिसरह बनाएर गोठसमेत राखेको पाएँ । खाली गर्नुभन्दा अर्कोपटक भोट दिन्नौं भन्दै धम्की दिए ।’

सडकलाई आँगन बनाउँदा एकातिर पैदल हिंड्डुल गर्ने यात्रुको अधिकार खोसिएको छ भने अर्कोतर्फ प्रयोगकर्ता आफैं दुर्घटनाको सिकार हुनुपर्ने अवस्था आएको उनले बताए । ‘जनचेतना फैलाएर सेचत बनाउने कोसिस गरिरहेका छौं,’ उनले भने, ‘हेरौं कत्तिको सफल हुन्छौं !’

प्रकाशित : आश्विन १६, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?