रातो माटो र कमेरोको चटारो

वीरेन्द्र केसी

(अर्घाखाँची) — दसैं नजिकिँदै गर्दा गाउँका महिला कमेरो र रातो माटोको जोहो गर्नमै व्यस्त छन् । घण्टौं पैदल हिँडेर जंगलमा माटो खोज्न गाउँभरीका महिला जुटिरहेका छन् । दसैं/तिहारका लागि घर पोतेर चिटिक्क पार्न गुल्मी पुर्कोटदहकी शान्ता थापा हातमा नाम्लो, बोरा र कोदालो लिएर अर्घाखाँचीको लौरीमा रातो माटो लिन आएकी छन् । 

अढाइ घण्टा पैदल हिँडेर उनले एक बोरा माटो घर पुर्‍याइन् । घरको आधा भित्ता रातो र आधा सेता (कमेरो) माटोले पोतिन् । ‘अहिले त कमेरोको खानी भेट्टाउनै मुस्किल छ । बजारबाट चुना वा रंग ल्याएर पोत्नुपर्ला,’ उनले भनिन् । धार्मिक संस्कार अनुसार रंग र चुनाले घर चोखिन्न । माटो नै शुद्ध मानिन्छ । गाउँमा धनी परिवारले सेतो र रातो रंग ल्याएर घर पोत्छन् । गरिब परिवारले मात्रै जंगल धाएर खानीकै माटोले चोख्याउने उनले बताइन् ।
माटो पाउनै मुस्किल छ । केही खानीमै कमेरो सकियो, कही मोटरबाटोले पुरिए । नयाँ ठाउँमा पत्ता लगाउनै गाह्रो पर्ने मालारानी गाउँपालिका–७ की विमला खड्काले बताइन् । बजारको रंगले खानीको शुद्ध माटोलाई विस्थापित गराएको उनले बताइन् । माटो खानीभित्र एक/डेढ घन्टा खनेपछि बल्ल एक बोरा भरिन्छ । बोकेर घर लैजाने, भाँडोमा भिजाएर घोलेपछि घरको भित्तामा छ्यापिन्छ । खानीको माटोले पोतेपछि घर मगमग बास्ना आउने, वर्षदिनसम्म देवता खुसी हुने र परिवारलाई काम गर्दा शुभसाइत पार्ने धार्मिक विश्वास रहेको उनले सुनाइन् ।

घर शुद्ध पार्न वनजंगलमा माटो खोज्दै भौंतारिनु परेको खड्काले बताइन् । ‘घर पोत्ने रातो माटो र सेतो कमेरो जहाँसुकै पाइँदैन,’ उनले भनिन्, ‘दसैंमा कसको घर चिटिक्क छ भनेर दाँजिन्छ । त्यही भएर वर्षाभरि पानीले पखालेको भित्तो टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्न थालेकी छु ।’ गाउँमा पक्की घर छिटफुटमात्रै छन् । घटस्थापनाअघि नै घर चोख्याइन्छ । टपरीमा जमरा नयाँ माटोमा उमारिन्छ । त्यसैले पनि अहिलेदेखि नै आफूहरू माटोको जोहोमा लागेको स्थानीले सुनाए । फुदवाङको राताटारीमा अहिले रातो माटो झिक्नेको भीड छ । सन्धिखर्क, खाँचीकोट, नरपानी लगायत ठाउँबाट पनि स्थानीय आइरहेका छन् ।

‘दसैंमा घरलाई पवित्र बनाउन लिपपोत गरिन्छ । त्यसैले माटोखानीकै माटो खोजिन्छ,’ खाँचीकोटका पदम खत्रीले भने । उनको खर्‍यानमा पनि खानी छ । दसैंअघि नै उनी खानी खोल्छन्, माटो झिकेपछि खानी पुरेर छाड्छन् । ‘छिमेकी र केही शुभचिन्तकसम्मलाई खर्‍यानको माटोले पुगेको छ,’ उनले भने, ‘कमेरो खोज्न भने टाढै धाउनुपर्छ । गाउँनजिक कतै कमेरो खानी छैन ।’

प्रकाशित : आश्विन ७, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्

जनता ठगिएको ठगियै

कान्तिपुर संवाददाता

मेडिकल कलेजले विद्यार्थीबाट असुल गरिरहेको अतिरिक्त शुल्कका विरुद्ध चितवन मेडिकल कलेजबाट प्रारम्भ भएको आन्दोलन उपलब्धिसहित टुंगिएको समाचार सार्वजनिक भएको छ  । मेडिकल प्रशासन र आन्दोलनकारीबीच सम्पन्न सहमति बमोजिम कलेजले अतिरिक्त शुल्क फिर्ता या समायोजन गर्ने निर्णय भएको सार्वजनिक भएको छ  ।

यद्यपि गण्डकी मेडिकल कलेजको आन्दोलन जारी छ । चितवन मेडिकल कलेजले गरेको निर्णयसँगै स्वास्थ्य क्षेत्रमा भएको मनपरीतन्त्र सार्वजनिक मात्र भएको छैन, अब देशभरका मेडिकल कलेजहरू आन्दोलित हुनेछन् । मेडिकल कलेजमात्र होइन, अधिकांश शैक्षिक प्रतिष्ठानहरू सेवाका नाममा व्यापार गरिरहेका छन् । स्वास्थ्य, शिक्षा, सामाजिक प्रतिष्ठानहरू व्यापारिक प्रतिष्ठानका रूपमा अनुवाद भइरहँदा सरकारी नियमनकारी निकायहरूको मौनता आश्चर्यपूर्ण छ । जथाभावी खोलिएका स्वास्थ्य प्रतिष्ठानहरू र तिनले प्रदान गर्ने सेवामा लाग्ने शुल्कको निगरानीमा सम्बन्धित निकायको बेवास्ताले स्वेच्छाचारिता बढिरहेको छ । चितवन मेडिकल कलेजलाई नजिर मान्दै सरकारले कुनै पनि मेडिकल कलेजलाई अतिरिक्त शुल्कका रूपमा विद्यार्थीबाट रकम असुल नगर्न निर्देशन दिनुपर्छ ।
– उत्तम पुडासैनी, जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन ७, २०७६ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्