कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युतीय हाजिरीको प्रयोग सीमित

(रुकुम पूर्व) — पाँच महिनाअघि सिस्ने गाउँ कार्यपालिकाले गाउँपालिकाभित्रका ३८ मध्ये ९ विद्यालयमा हस्तलिखित हाजिरी विस्थापित गरेर डिजिटल हाजिरी सुरु गर्ने निर्णय गरेको थियो । विद्यालयमा डिजिटल हाजिरी जडान गरेर शिक्षक तथा कर्मचारीको उपस्थिति प्रविधिमैत्री बनाउने निर्णय गरे पनि अहिलेसम्म चार विद्यालयमा मात्रै कार्यान्वयनमा आएको छ । गत वैशाख ५ र ६ गते बसेको कार्यपालिका बैठकले २ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेर डिजिटल हाजिरी खरिद र जडान गर्ने निर्णय गरे पनि पाँच विद्यालयले अहिलेसम्म कार्यान्वयनमै ल्याउन सकेका छैनन् ।

विद्युतीय हाजिरीको प्रयोग सीमित

सिस्ने–३ को जनता माध्यमिक विद्यालय पोखरा, वडा ५ को कोट माध्यमिक विद्यालय रुमारबारा, वडा ६ को त्रिभुवन जनता मावि छिप्रिदह र वडा ८ को माध्यमिक विद्यालय लम्पाकोटले डिजिटल हाजिरी कार्यान्वयनमा आएका छन् । बाँकी ५ विद्यालयमा डिजिटल हाजिरी जडान हुन पनि सकेको छैन । वडा १ को हिमालय मावि पाखापानी, वडा २ को हिमालय मावि नायगाड, वडा ३ को सौजन्य आधारभूत पांगा, वडा ४ को मावि दादिङ र वडा ७ को आधारभूत विद्यालय सान्चौरमा गत वैशाख महिनाभित्रै डिजिटल हाजिरी जडान गर्ने निर्णय गरिएको थियो ।


गाउँ कार्यपालिकाले भने प्राविधिक कारणले सबै विद्यालयमा डिजिटल हाजिरी जडान गर्न नसकिएको बताएको छ । कार्यपालिकाका प्रवक्ता जीवन केसीले विद्युत् नभएका ठाउँमा विद्युत्को व्यवस्थापन गर्न प्रयास भइरहेकाले ढिला भएको बताए । ‘निर्णयअनुसार सामग्री खरिद भइसकेको छ,’ उनले भने, ‘विभिन्न प्राविधिक कठिनाइका कारण जडान हुन नसकेको हो ।’ सोलार सिस्टमबाटै भए पनि अब छिट्टै बाँकी पाँच विद्यालयमा डिजिटल हाजिरी जडान हुने र हस्तलिखित हाजिरी विस्थापित गर्ने उनले बताए ।


शिक्षक तथा कर्मचारीलाई नियमित बनाउने योजनाका साथ डिजिटल हाजिरी जडान गर्ने निर्णय कार्यपालिकाले गरेको थियो । समय अनुसार विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार पहिलो चरणमा डिजिटल हाजिरी जडानको निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष गोवर्द्धन बुढा मगरले बताए । ‘शिक्षा पनि गाउँपालिकाको प्राथमिकता क्षेत्रभित्रै पर्छ,’ उनले भने, ‘त्यसैको सुरुवातका लागि अब विद्यालयमा डिजिटल हाजिरी राख्ने तयारीमा लागिएको हो ।’ सिस्ने गाउँपालिका–५ को रुक्मिणी माध्यमिक विद्यालयले यसअघि नै डिजिटल हाजिरी जडान गरेको छ । विद्यालय आफैंले डिजिटल हाजिरी जडान गरेको हो । डिजिटल हाजिरी जडान गरेका विद्यालयले शिक्षक तथा कर्मचारीलाई नियमितता गराउन यसले सहयोग गरेको बताए । सिस्ने गाउँपालिका–६, को त्रिभुवन जनता माविका प्रधानाध्यापक मोहनकुमार केसीले डिजिटल हाजिरीले समयमै विद्यालय पुग्ने र ४ बजेपछि मात्रै फर्किने बानीको विकास गराएको बताए ।


‘डिजिटल हाजिरी विद्युत्मा निर्भर रहने भएकाले हाल डिजिटल र हस्तलिखित दुवै हाजिरी कार्यान्वयनमा छन्,’ उनले भने, ‘नियमित विद्युत् सेवा प्रवाह हुन थालेपछि हस्तलिखित हाजिरी स्वत: विस्थापित हुनेछ ।’

प्रकाशित : आश्विन ५, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?