मन जित्दै महिला वडाध्यक्ष 

कान्तिपुर संवाददाता

बर्दिया — जिल्लामा ६ नगरपालिका र २ गाउँपालिकामा गरी ७४ वडा छन् । तीमध्ये ३ वटामा मात्र वडाध्यक्ष महिला छन् । ठाकुरबाबा नगरपालिका ९, गुलरिया ५ र ७ नम्बर वडाको नेतृत्व महिलाले गरिरहेका छन् । 

ठाकुरबाबा ९ की वडाध्यक्ष राधा चौधरी दिनरात स्थानीयका समस्या सुल्झाउन र विकास योजना कार्यान्वयन गर्न खटिन्छिन् । स्थानीय तह चुनावयता उनलाई फुर्सदिलो भएर घरमा बसेको कहिल्यै भेटिन्न । कार्यालयको जिम्मेवारी र स्थानीयको घरदैलो गर्नै भ्याइनभ्याइ छ ।

नगरसभामा आफ्नो वडाका समस्या र मुद्दा निर्धक्क उठान गर्छिन् । योजना पार्न बहस र तर्क गर्छिन् । लडेरै भए पनि वडामा विकास योजना ल्याउने गरेकी छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय उनकै वडामा पर्छ । त्यहाँ तीन दर्जनभन्दा बढी पर्यटकीय होटल छन् । स्थानीय महिलाले आफ्ना समस्या उनैलाई सुनाउँछन् । त्यसैले उनीहरूको हकअधिकारका लागि वकालत गर्नुपरिरहेको चौधरीले बताइन् । ‘महिला अधिकारको मुद्दा छोड्नै भएन,’ उनले भनिन्, ‘महिलाहरू बढी आशावादी देखिन्छन् ।’ निर्वाचनपछि सरकारी कामको मेसो पाउन केही समय लागे पनि दुई वर्षयता धेरै सिकेको उनको अनुभव छ । ‘सुरुमा वडाध्यक्ष हुँदा कसरी काम गर्ने होला भन्ने चिन्ता लाग्थ्यो,’ उनले भनिन्, ‘बिस्तारै सहज बनेको छ । सबैको मन जित्ने गरी काम गर्ने प्रयास गर्दै आएकी छु ।’

वडाध्यक्ष निर्वाचित हुनुअघि उनी विभिन्न सामाजिक संघसंस्थामा काम गर्थिन् । सहकारी संस्था चलाएकी थिइन् । ती अनुभवले उनलाई नेतृत्व–क्षमता निखार्न सहयोग गर्‍यो । निर्वाचनका बेला महिलाले वडाध्यक्ष चलाउन नसक्ने भन्दै कुरा काट्नेलाई विकासका योजना ल्याएर जवाफ दिएको उनको दाबी छ । ‘चुनावका बेला थारू महिलाले के वडाध्यक्ष चलाउली भनेर कुरा काटे,’ उनले भनिन्, ‘मलाई कमजोर पार्न त्यसो भनिएको होला तर म डराइनँ र जनताले जिताए ।’ उनी पूर्वएमालेका तर्फबाट उम्मेदवार थिइन् । गुलरिया ५ की वडाध्यक्ष सावित्रा गौतम र ७ की गीता बस्नेतको व्यस्तता पनि कम छैन । आफ्नो वडाको विकासमा जुटेका छन् । नगरमा महिला प्रतिनिधित्व कम भएकै कारण नगरसभाका बेला महिलाका मुद्दा अल्पमतमा पर्ने गरेको उनीहरूको अनुभव छ । ‘अहिले पनि महिलालाई हेर्ने दृष्टिकोण पुरानै छ,’ गौतमले भनिन्, ‘महिलाले पनि विकासे योजना अगुवाइ गर्लान् भनेर विश्वास गर्दैनन् ।’ काम देखाएर मन जित्ने प्रयास गरिरहेको उनले बताइन् । कांग्रेसको राजनीतिमा आउनुभन्दा पहिले उनी पनि सामाजिक संस्थामा काम गर्थिन् । संघसंस्थामै काम गर्ने क्रममा समुदायले उनलाई नेताका रूपमा स्वीकार गरिसकेको थियो ।

प्रकाशित : आश्विन ३, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

८४ वर्षमाथिकालाई घरमै उपचार

अस्पताल पुगेर औषधि ल्याउन सक्ने अवस्था नभए पनि स्वास्थ्यकर्मीहरू घरमै आएपछि धेरै सजिलो
हरि गौतम

(रुकुम पूर्व) — भूमे गाउँपालिका २ स्थित काँक्री स्वास्थ्य चौकीले ८४ वर्षमाथिका ज्येष्ठ नागरिकको घरमै उपचार सेवा थालेको छ । साबिकको काँक्री गाविस तथा हालको भूमे गाउँपालिकाका १ र २ वडाका ज्येष्ठ नागरिकले घरघरमै नियमित स्वास्थ्य सेवा पाइरहेका हुन् । स्वास्थ्यकर्मी ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजाँच, उपचार, परामर्शका साथै नि:शुल्क औषधिसमेत वितरण गर्छन् । 

रुकुम पूर्व भूमे गाउँपालिका २, को स्वास्थ्य चौकी काँक्रीमा कार्यरत स्वास्थ्यकर्मीहरू घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार गर्दै । तस्बिर : हरि/कान्तिपुर 

स्वास्थ्यकर्मीहरू एक महिनामा दुईपटक ज्येष्ठ नागरिकका घरमै पुगेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिनुका साथै उपचार र परामर्श दिने गरेका छन् । ‘यस स्वास्थ्य चौकीको कार्यक्षेत्रभित्रका ८४ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य चेकअप गर्न घरघर पुगिरहेका छौं,’ स्वास्थ्य चौकी इन्चार्ज सञ्जीव खड्काले भने, ‘स्वास्थ्य चेकअपका साथै सरसल्लाह, परामर्श र नि:शुल्क औषधि वितरण गरिरहेका छौं ।’ प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर उपचार गर्न थालिएको उनले बताए ।

भूमे गाउँपालिकाका पञ्चासे, लुकुम, काँक्री, खाबाङ, गाबाङ, सैपातुङका विभिन्न टोलमा पुगेर ज्येष्ठ नागरिकको उपचार गर्ने गरिएको हो । स्वास्थ्यकर्मीहरू स्वास्थ्य चौकीदेखि चार घण्टासम्मको पैदल दूरी पार गरेर ज्येष्ठ नागरिकको उपचारमा जाने गरेका छन् । स्वास्थ्य चौकी काँक्रीको कार्यक्षेत्रभित्र १३ जना ८४ वर्षमाथिका ज्येष्ठ नागरिक छन् । घरघर पुगेर उपचार गर्दा उनीहरू खुसी भएको स्वास्थ्यकर्मीहरूले बताए । घरमै बसीबसी स्वास्थ्य चेकजाँच, सरसल्लाह, परामर्शका साथै नि:शुल्क औषधि पाइने भएपछि ज्येष्ठ नागरिक खुसी भएका हुन् । घरमै आएर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, सरसल्लाह दिने र आवश्यक परे औषधिसमेत नि:शुल्क पाइने भएपछि खुसी लागेको भूमे–२, गाबाङकी ८६ वर्षीया तिर्सना रोकाले बताइन् । आँखा दु:ख्ने र खोकी लाग्ने समस्याले आफू ग्रस्त भएको उनले सुनाइन् । ‘अस्पतालका नानीबाबुहरू आएर हालखबर सोध्नु हुन्छ, नाडी छाम्नु हुन्छ, चेक गर्नुहुन्छ,’ उनले भनिन्, ‘अलिअलि औषधि पनि दिनु भएको छ । यो औषधिले रोग केही बिसेक भएको छ ।’ हिंडडुल गर्न नसक्ने अवस्थामा अस्पताल पुगेर औषधि ल्याउन सक्ने अवस्था नभए पनि स्वास्थ्यकर्मीहरू घरमै आएपछि धेरै सजिलो भएको उनले सुनाइन् ।

भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले स्वास्थ्य चौकी काँक्रीले गएको चैत महिनादेखि यसको सुरुवात गरेको बताए । ‘स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू घरघरमै पुगेर ज्येष्ठ नागरिकको उपचार गरेका छन्,’ उनले भने, ‘यसबाट नागरिकमा आशाको सञ्चार भएको छ । स्थानीय सरकारप्रति विश्वास जागेको छ ।’

प्रकाशित : आश्विन ३, २०७६ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्