कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाले जतासुकै पहिरो

माधव अर्याल

(पाल्पा) — यहाँको पूर्वखोला गाउँपालिका ५, वीरकोटस्थित वीरकोट–बर्दले खण्डमा पहिरो खसेपछि विगत ५ दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । यस क्षेत्रका विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ ।

वर्षाले जतासुकै पहिरो

अविरल वर्षासँगै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएको र ढुंगा खसिरहेको हुँदा सडकमा यात्रा गर्न समस्या भएको स्थानीय सीमा श्रेष्ठले बताइन् । पहिरोले सडक अवरुद्ध भएपछि विद्यार्थी विकल्पका रूपमा साँघुरो र झन्डै एक घण्टा लामो दूरीको बाटोबाट विद्यालय पुग्ने गरेको जनकल्याण आधारभूत विद्यालयका शिक्षक जीनबहादुर सारुले बताए ।


सडक बन्द हुँदा सिंगो गाउँ प्रभावित भएको छ । ३५ बढी घरधुरी रहेको भैसादी, आफरडाँडालगायत गाउँका स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । उता, फोक्सिङकोटका बासिन्दाले १५ दिनदेखि सवारी साधनमा यात्रा गर्न पाएका छैनन् । उनीहरूलाई पहिरोले नाकाबन्दी लगाएको स्थानीय एवत सारुले बताए । अघिल्लो शुक्रबारदेखि सवारीका साधन चल्न नसकेको उनले सुनाए । फोक्सिङकोट वडा कार्यालयबाट बाहिर जान ५ नाका छन् । तर, अहिले कुनै पनि सुचारु हुन नसकेको उनले बताए । पूर्वी नाका रिमीघाको लभडाँडामा पहिरोले नाकाबन्दी गरेको छ । स्थानीय र ताहुँ प्रहरी चौकीका प्रहरी जवानहरूसमेत आएर पहिरो सफा गरे पनि सडक खुल्न सकेको छैन ।


अर्को मूख्य नाका पश्चिम रानीबासको पुछार लम्भारमा सिरानदेखि बर्खे भल पस्दा बाटो भ्वाङ परेको छ । पश्चिमको अर्कै नाका छ । हुँगीको असेर्दी जोड्ने नाका पनि पहिरोले समस्या पारेको छ । झर्लेङ भएर राम्दी निस्कने नाकामा पनि पहिरोले सवारी साधन चल्न सक्ने अवस्था छैन । स्थानीयबाट उठाएको पैसाले खनेको बाटो बिगारिदिएको स्थानीयले बताए । वैकल्पिक नाका गाबुडाँडा झेस्काङ हुँदै अँगाहाखोला झर्ने नाकामा पनि पहिरोले हिंड्न सकिने अवस्था छैन ।


हरेक वर्ष सडक खन्नका लागि जिल्लाका सबै स्थानीय तहले करोडौं रकम खर्च गर्छन् । दुई–चार घरपरिवार भएको स्थानमा समेत भोटको प्रभाव पार्न लाखौं खर्चेर बनाएका सडक अहिले कामै नलाग्ने भएका छन् । अविरल वर्षाले जिल्लाका ग्रामीण क्षेत्रमा जाने सबैजसो सडक सवारी साधन चल्नै नसक्ने अवस्थामा छन् । पानीले सडक बगाएपछि यात्रु, बिरामी र अन्य मानिसले सास्ती बेहोर्नु परेको रानीमहल जाने सडकछेउका होटल व्यवसायी सुशील कुँवरले बताए । सदरमुकाम तानसेनदेखि पश्चिम छहरा जाने बाटो हिलाम्य छ । बाँसटारी–खहरे–झडेवा सडक पनि उस्तै छ । आर्यभन्ज्याङदेखि रामपुर, निस्दी र पूर्वखोला जाने बाटोसमेत क्षतविक्षत छ । लसुनेदेखि रम्भाको पाँच सय मिटर सडकसमेत अवरुद्ध छ ।


अधिकांश गाउँपालिका केन्द्र पुग्ने सडक भत्किएका छन् । हिउँदको समयमा करोडौं रकम खर्च गरेर बाटो खन्ने र वर्षाको भेलले बगाउँदा जनता सडक सञ्जालबाट टाढा भएका हुन् । रम्भा गाउँपालिकाले गत वर्ष खनेका कुनै पनि सडकमा अहिले गाडी गुड्न सकेका छैनन् ।


पूर्वखोला गाउँपालिकाको केन्द्र, रिङनेरह जाने सडक पनि वर्षा हुनासाथ बन्द छ । तानसेन हुँदै हुमिन–रिङनेरह जाने सडकको स्तरोन्नतिको काम भए पनि पानी पर्नासाथ सडक बिग्रेको छ । निस्दी, माथागढी, तिनाउ, रिब्दीकोट, रम्भा, पूर्वखोला, रैनादेवी छहराले लाखौं खर्चेर बनाएर सडकमा अहिले गाडी गुड्नै मुस्किल पर्ने गरी बिग्रिएका छन् ।


बिहीबारदेखि एकतर्फी

तीन दिनदेखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गलगायत जिल्लाका अधिकांश सडक अवरुद्ध भएकामा बिहीबारदेखि एकतर्फी खुलेका छन् । सिद्धार्थ राजमार्गको राम्दीदेखि सिद्धबाबा क्षेत्रका दर्जनौं स्थानमा पहिरो गएको छ । सिद्धबाबा, झुम्सा, आर्यभन्ज्याङलगायत स्थानमा पहिरो खसेकामा प्रहरीले एकतर्फी सडक सुचारु गरिएको जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार अर्घाखाँची जाने सडकको बतासे र रामपुर जाने सडकको जब्गादीनजिक बाहेक अन्यत्र बिहीबारदेखि सडक एकतर्फी खुलेको छ ।


झुम्सा, दोभान, सिसुवालगायत स्थानमा खसेको पहिरो हटाउने कार्य सकिएको छ । प्रहरी र सडक डिभिजनले डोजर, स्काभेटर लगाएर एकतर्फी चलाएका हुन् । राजमार्गको आर्यभन्ज्याङलगायत स्थानमा पहिरो खसेको छ । जिल्लाको पूर्व भेग जोड्ने आर्यभन्ज्याङ–रामपुर सडक खण्डको जब्गादीबाहेक सिलुवाको बासुका, सानो गल्धा, बैछाप, रामपुरको गिजिनडाँडालगायत स्थानमा अविरल वर्षाले पहिरो खसेपछि बाटो एकतर्फी भएको छ । जिल्लाकै रम्भाको हुँगी असेर्दीस्थित रामपुर–पीपलडाँडाअन्तर्गत कालीगण्डकी करिडोरमा पहिरो खसेको छ । यहाँ डोजर लगाएर एकतर्फी बनाइएको छ । तानसेन–तम्घास सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेको छ । तानसेनबाट हार्थोक–बतासे सडकमा पनि पहिरो खसेको छ ।

प्रकाशित : आश्विन ३, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?