कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण सकिने बेला पुल अलपत्र

परासी — नारायणीपारि सुस्ताका मनोज हरिजन वर्षातको समय भारतीय बाटो हुँदै आफ्नो स्थानीय तहको कार्यालय र किनमेलका लागि बजार आउजाउ गर्छन् । असोजसम्म पनि डुंगा चलाएर नारायणी वारपार गर्न जोखिम हुन्छ ।

मोटरसाइकलसहित नदीपार गर्न जोखिम हुने भएपछि वर्षातमा उनलाई भारतीय बाटो हुँदै आउजाउ गर्नुपर्ने बाध्यता आइलागेको हो ।

‘उर्लिएको नारायणी भेलमा ओभरलोड हुने डुंगामा नदी तर्न डर लाग्छ,’ उनले भने, ‘सुस्ताको नागरिक भनेपछि भारतीय सुरक्षाकर्मीले बढी निगरानी र जाँच गर्छन् । के गर्नु, भारतीय बाटो हुँदै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।’ हरिजनमात्र होइन, सुस्ताका बासिन्दाको पीडा एउटै हो । आर्थिक अवस्था मजबुत भएकाहरू नारायणी वारि बजारमा कोठा भाडामा लिएर बस्छन् ।


निम्न आर्थिक अवस्था भएका यहाँका स्थानीय भने नारायणी नदीमा पुल नहुँदा भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । हिउँदमा भने डुंगामार्फत ओहोरदोहोर गर्छन् । तीनतर्फ नारायणी नदी र एकातर्फ भारतीय भूभाग छ । साउन महिनामा नारायणी नदी उर्लिएर समतल भएको थियो । करिब १६ किलोमिटर भारतीय भूमि हुँदै त्रिवेणी आएर अस्पताल तथा अन्य कामका लागि जान घण्टौं लाग्छ । यस्तो बाध्यता पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले वर्षौंदेखि भोग्दै आएका छन् ।


सुस्ताबासीको यो दुःख नारायणी नदीमा पुल निर्माण भएमा समाधान हुने थियो । तर, चार वर्षअगाडि निर्माण सुरु भएको झोलुंगे पुलको ठेकेदार नै सम्पर्कमा नआएपछि सुस्ताबासीको पुल सपना अझै पूरा भएको छैन । सुस्तामा उत्पादित बाली बेचबिखन र मजदुरीका लागि यहाँका बासिन्दा डुंगाबाटै आवतजावत गर्छन् ।


नारायणीमा पुल निर्माणको जिम्मा पाएको कम्पनीले स्थानीय मनोहर अहिरको जग्गा भाडामा लिएर उपकरण राखेको छ । जग्गा भाडा १ लाख १० हजार र रेखदेखबापत मासिक १० हजार रुपैयाँ दिने सर्त थियो । अहिरले तीन वर्षदेखि रकम पाएका छैनन् । पारि श्रमिक उपलब्ध गराउन जिल्ला प्रशासनमा उनले उजुरी दिएका छन् । झोलुंगे पुल निर्माण हुने भयो भन्दा यहाँका बासिन्दामा खुसीको सीमा थिएन ।


काम छाडेर ठेकेदार सम्पर्कविहीन भएपछि स्थानीय निराश छन् । ठेकेदारलाई कारबाही गर्न उनीहरूले माग गरेका छन् । सम्झौता अनुसार ०७३ पुसमा सुरु गरेर डेढ वर्षमा काम सक्नुपर्ने थियो । अहिलेसम्म १० प्रतिशत काम भएको छैन । भारतसँग जोडिएको सुस्ता र गाउँपालिका केन्द्र जोड्नका लागि पुल निर्माण गर्न लागिएको हो ।


१ किलोमिटर ५ सय ७१ मिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो पुल निर्माणका लागि त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सन कम्पनीले २७ करोड रुपैयाँमा ठेक्का लिएको थियो । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेका अनुसार ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपछि सम्पर्कमा आएको र वर्षा सकिएपछि काम सुरु गर्ने आश्वासन दिएको बताए ।


‘काममा कहींबाट केही अवरोध नहुँदा समेत निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम अगाडि बढाएको छैन । अहिले सम्पर्कमा आएर नारायणी नदीको बहाव घटेपछि काम सुरु गर्ने बताएको छ,’ उनले भने, ‘करोडौंको आयोजना त्यसै अलपत्र पारेकाले मन्त्रालयमा खबर गरेपछि अब काम सुरु हुने आशा जागेको हो ।’

प्रकाशित : भाद्र ३१, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?