कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाउन्नेमा सास्ती उस्तै

नवीन पौडेल

परासी — पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड जीर्ण अवस्थामा छ । हिउँदमा धुलाम्य र वर्षातमा पहिरोका कारण सवारी सञ्चालनमा जटिलता छ । अझ बीच सडकमा बनेका खाल्डाखुल्डीले साना सवारी प्रयोगकर्ताका लागि सास्ती अति छ । 

मोटरसाइकल चालकलाई यो खण्ड पार गर्न हम्मेहम्मे पर्ने गर्छ । पश्चिम र पूर्वी नवलपरासी गरेर १५ किलोमिटर रहेको पहाडी चट्टानको बीचमा रहेको यो सडक खण्डमा सुक्खा पहिरो पनि जाने गर्छ । यसले दुर्घटनाको जोखिम छ । सडक जीर्ण हुँदा सवारी साधन बिग्रिएर घण्टौंसम्म जाम पर्ने गर्छ ।


चालक अर्जुन कार्कीका अनुसार जीर्ण सडक र दुर्घटनाको जोखिमका कारण सवारी चालकले निकै सास्ती खेप्नु परेको छ । ‘सडकभरि खाल्डाखुल्डी छन् । एउटा सवारी साधन बिग्रिएमा घण्टौंसम्म जाममा बस्नुपर्छ,’ उनले भने, ‘मर्मत समयमा नहुने र वर्षातको समयमा टालटुल गरेर निर्माण भएको सडक एक हप्ता नहुँदै बिग्रिने गर्छ ।ओभरलोडका सवारीलाई नियमन नगर्दा सडक धेरै समय टिक्दैन ।’


पश्चिम नेपालका सवारी साधन यही सडक हुँदै केन्द्रीय राजधानी र पूर्वी भेगमा चल्ने गर्छन् । तर, सडकको दुरावस्थाका कारण चालक र यात्रुले दिनहुँ सास्ती भोग्नु परेको छ । सडक जीर्ण हुँदा हरेक दिन घण्टौं जाम हुने गर्छ । पहाडको खोंचमा रहेको यस सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । हरेक दिन सानाठूला सवारी दुर्घटना भइरहेका हुन्छन् ।


सडक डिभिजन बुटवलका इञ्जिनियर कृष्णबहादुर कुँवरका अनुसार गत माघदेखि चिनियाँ कम्पनीलाई कामका लागि हस्तान्तरण गरिएकाले अहिले कार्यालयले मर्मत नगरेको बताए । ‘बुटवल–नारायणगढ खण्ड चार लेनको बन्दैछ,’ उनले भने, ‘ठेकेदारलाई कामका लागि सडक हस्तान्तरण गरिएकाले यसको जिम्मा उसैको हुन्छ ।’


सडकको दायाँबायाँ पानीको निकास नहुँदा वर्षायामको पानीले सडक भत्काएको छ । भलपानीले सडक भरिंदा सडकमा खाल्डाखुल्डी छन् । पहाडका रूख ढलेर दुर्घटना हुने जोखिम छ । ०२२ सालमा शिलान्यास भएको यस राजमार्गको क्षमता मुस्किलले ३० टन हो ।


तर, यहाँ अधिकांश ओभरलोडका मालबाहक सवारी बढी सञ्चालन हुने गर्छन् । भैरहवा, सुनौली नाकाबाट भित्रिने अधिकांश भारतीय ट्रक, लहरी तथा कन्टेनर ५० टनभन्दा बढी भार बोकेर कुद्ने गर्छन् । जीर्ण सडकमा ओभरलोड सवारी गुड्ने र बर्सेनि पहिरोले सडक बगाएका कारण दुर्घटनाको उच्च जोखिम यस क्षेत्रमा रहेको छ ।


जोखिम बढेपछि स्थानीय बासिन्दा, यातायात व्यवसायी र यात्रुले वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने माग गर्दै आएका छन् । एकापट्टि पहाड र अर्कोतर्फ भीर भएकाले उनीहरूको मागमा कसैले चासो देखाएनन् । अहिले प्रदेश ५ को बर्दघाट नगरपालिका र गण्डकी प्रदेशको दुम्कीबासको डाँडाजोर जोड्ने कच्ची सडक निर्माण भएपछि यसको विकल्पका रूपमा प्रयोग गर्न सकिने सम्भावना बढेको छ । तत्काल ठूला सवारी गुड्न नसके पनि स्तरोन्नति गरेमा केही वर्षमा नै यो सडकले दाउन्नेको सास्ती कम हुनेछ ।


बर्दघाट नगरपालिकाको विकटमा रहेको पटुके बस्तीका स्थानीयलाई नगरपालिकाको केन्द्रसम्म पहुँच पुर्‍याउनका लागि कच्ची सडक निर्माण गरेको छ । त्यसलाई पिच गरेमा दाउन्ने सडकको विकल्पका रूपमा प्रयोग गर्न सकिने बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बताए ।


केही वर्षअगाडि पवित्र त्रिवेणीधाम जोड्नका लागि ट्र्याक खोलिएको थियो । त्यसलाई नगरपालिकाले फराकिलो बनाएको हो । बर्दघाट–१०, भुताहादेखि विनयी त्रिवेणीको दुम्कीवाससम्म १४ किलोमिटर सडक निर्माण गरिएको हो ।

प्रकाशित : भाद्र ३०, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?