कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूपैडिहामा किनमेलको घुइँचो

रूपा गहतराज

नेपालगञ्ज — चाडपर्व नजिकिएसँगै नेपालगञ्जको भारतीय सीमा नाका रूपैडिहा बजारमा किनमेल गर्ने नेपालीको भीड लाग्न थालेको छ । नेपाली ग्राहक, उनीहरूका गाडी, रिक्सा अनि साइकलले भरिएका सडकछेउमा अहिले खुट्टा राख्न नसकिने भीड लागेको छ ।

चाडपर्वका लागि किनमेल गर्नेदेखि नेपालगञ्जमा आउने अन्य नेपाली उपभोक्ता पनि किनमेल गर्न रूपैडिया पुग्ने गर्छन् ।


त्यसले सधैं त्यहाँ भीड लाग्छ । कोहलपुरकी सिर्जना आचार्य कपडा किन्नका लागि सधैं रूपैडिहा बजार पुग्छिन् । ‘यहाँ सस्तो अनि रोजाइअनुसारको कपडा पाइन्छ,’ उनले भनिन्, ‘दैनिक उपभोग्य सामग्रीदेखि कपडा किन्नकै लागि रूपैडिहा पुग्छु ।’ नेपालगञ्ज बाँके गाउँकी द्रोपती गिरीले ग्राहकप्रति गरिने राम्रो व्यवहार र मूल्यको एकरूपताका कारण आफू सधैं रूपैडिहा पुग्ने गरेको बताइन् ।


‘सबै सामान एउटै बजारमा पाइन्छ । सामानको मूल्य पनि कम हुन्छ,’ उनले भनिन्, ‘नेपालगञ्जमा जस्तो मान्छे हेरेर मूल्य हुँदैन् ।’ सयौं उपभोक्ताले रूपैडिहा बजारबाट दैनिक घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरी ल्याउने गर्दा नेपालगञ्जका व्यापारीलाई भने पिरोल्ने गर्छ ।


रूपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्यांक नभए पनि दैनिक पाँच करोड बढीको कारोबार हुने नेपाली व्यापारीको अनुमान छ । चाडपर्वका बेला यो रकम दोब्बर हुन्छ । भूमि, बजार, व्यापारी भारतकै भए पनि पैसा र ग्राहक नेपाली हुन्छन् । मूल्य भारतीय भए पनि कारोबार नेपाली पैसामै हुन्छ ।


उपभोक्ता साबुन, चिनीजस्ता दैनिक उपभोग्य सामग्री सस्तो मूल्यमा पाइने भ्रमले भारतीय बजारमा पुगेर ठगिने गरेको उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष नन्दलाल वैश्यले बताए । ‘उता सस्तो पाइन्छ भन्ने भ्रम मात्र हो । नेपाली सामान झन् गुणस्तरीय र सस्तो हुन्छ,’ उनले भने, ‘यो भ्रमलाई उद्योग व्यापार संघ र नेपाली व्यवसायीले चिर्ने प्रयास गर्नैपर्छ । अनि बल्ल रूपैडिहामा नेपालीको भीड कम हुन्छ ।’


नेपालगञ्ज, कोहलपुरदेखि सुर्खेत, दैलेख, दाङ, सल्यानलगायतका जिल्लाबाट पनि उपभोक्ता किनमेलका लागि रूपैडिहा पुग्छन् । रूपैडिहाको राष्ट्रिय व्यापार मण्डलका अनुसारका बजारमा सानाठूला गरी एक हजार बढी पसल छन् । धेरै खाद्यान्न, फेन्सी र काँचो कपडा पाइन्छन् ।


अटो मोबाइल्सको व्यापारमा पनि भीड उस्तै हुन्छ । एउटा पसलले दैनिक कम्तीमा ५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनीहरूले बताए । रूपैडिहाका थोक वस्त्र बिक्रेताका सञ्चालक नरेन्द्रकुमार कुँवरले ९० प्रतिशत नेपाली ग्राहक आउने गरेको बताए । ‘बाँके, दाङ, सुर्खेत, सल्यान जाजरकोटबाट समान किन्न ग्राहक आउँछन्,’ उनले भने, ‘दैनिक ५ लाख भन्दा बढीको कारोबार हुन्छ ।’

प्रकाशित : भाद्र २९, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?