कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहाराविहीनलाई खानेबस्ने व्यवस्था

‘विद्यालयले १ देखि ५ कक्षासम्मका सबै १ सय ७१ विद्यार्थीलाई निःशुल्क खाजा खुवाउँछ’
हरि गौतम

रुकुम पूर्व — सिस्ने गाउँपालिका ५, रुकुमकोटस्थित रुक्मिणी माध्यमिक विद्यालयकी सलिना रोका झन्डै एक सातादेखि घर गएकी छैनन् । कक्षा ४ मा अध्ययनरत उनी विद्यालयमै बस्छिन् । सोही विद्यालयको कक्षा ७ की अस्मि बुढा मगर पनि सात दिनयता विद्यालयमै छन् ।

सहाराविहीनलाई खानेबस्ने व्यवस्था

दिउँसो विद्यालयमा पढ्ने उनीहरू साँझ–बिहान पनि विद्यालयमै समय बिताउँछन् । रोका र बुढा मात्रै होइन, यसरी विद्यालयमै बसेर अरु ११ विद्यार्थीले पढ्दै छन् ।


विभिन्न कारणले सहाराविहीन बनेका १३ विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन थालिएपछि उनीहरू घर नगएका हुन् । कक्षा १ देखि ९ सम्मका नियमित विद्यालय आउन नसक्ने सहाराविहीन त्यस्ता विद्यार्थी छनोट गरेर विद्यालयले पठनपाठनका साथै खाने/बस्ने व्यवस्था पनि विद्यालयमै गरिदिएको छ । विद्यालयमा छात्रावास छैन ।


तर, विद्यालय भवनलाई नै विद्यार्थी बस्ने गरी व्यवस्थापन गरिएको छ । ‘कुनै न कुनै रूपमा सहाराविहीन विद्यार्थी भाइबहिनीको पढाइ नछुटोस् भनेर विद्यालयमै राखेर पढाउन थालेका हौं,’ प्रध्यानाध्यापक कृष्ण गौतमले भने, ‘सम्बन्धित वडाको सिफारिसका आधारमा विद्यार्थी छानेर विद्यालयमै राखेर पढाउन थालिएको हो ।’ विद्यालयमा सिस्नेसहित भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका साथै रुकुम पश्चिमका समेत विद्यार्थी छन् ।


बुबाआमा नभएका एवं बुबा र आमामध्ये एक नभएका विद्यार्थी नियमित पठनपाठनबाट वञ्चित भएपछि विद्यालयले आफ्नै स्रोतबाट विद्यालयमै बसेर पढ्ने व्यवस्था गरेको हो । केही विद्यार्थी नियमित पढ्न नआउने भएपछि विद्यालयले सोधखोज गरी नियमित विद्यालय नआउनका कारण पत्ता लगाएको थियो ।


त्यसै आधारमा विद्यालयमै राखेर पढाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द समालले बताए । ‘ठूला बुबा, काका, फुपू र आन्टीको घरमा बसेर पढ्न आउँदा विद्यार्थी नियमित हुन सकेनन्,’ उनले भने, ‘घरमा काम गरेर आउनुपर्दा विद्यालय ढिलो पुग्ने र कहिलेकाहीं त विद्यालय नै छुट्ने भएपछि विद्यालय आफैंले विद्यालयमै बस्ने व्यवस्था गरेको हो ।’ कम्तीमा २० जनाजति विद्यार्थीलाई आवासीय सुविधा दिएर पठनपाठन गराउने योजना रहेको उनले बताए ।


प्रतिविद्यार्थी मासिक २ हजार रुपैयाँ तिर्ने गरी विद्यालयले खाना खुवाउनेसँग सम्झौता गरेको छ । हाल विद्यालयको आन्तरिक स्रोतबाट त्यसको व्यवस्थापन गरिए पनि केही निकायसँग सहयोगका लागि सरसल्लाह भइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष समालले बताए । विद्यालयले १ देखि ५ कक्षासम्मका सबै १ सय ७१ विद्यार्थीलाई विद्यालय खुलेको दिन निःशुल्क खाजा खुवाउने गर्छ ।

प्रकाशित : भाद्र २८, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?