कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहद्वारा अभियान : प्राथमिकतामा पर्यटन प्रवर्द्धन

गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ भन्छन्, ‘बढैयाताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिरहेका छौं, अब माछापालन गर्न ठेक्का लगाइन्न’ 
ठाकुरसिंह थारू

बर्दिया — यहाँका सबै स्थानीय तहले पर्यटनलाई पहिलो प्राथमिकतामा पारेका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि बजेटसमेत विनियोजन गरिएको छ । सर्वसाधारणलाई आयआर्जन गर्न सहज हुने भएकाले पर्यटनलाई प्राथमिकतामा पारिएको स्थानीय तहहरूले बताएका छन् । 

स्थानीय तहद्वारा अभियान : प्राथमिकतामा पर्यटन प्रवर्द्धन

बर्दियाका आठवटै स्थानीय तहमा एकसे एक पर्यटकीय गन्तव्य छन् । ओझेलमा परेका ती क्षेत्रको प्रचार गरी पर्यटक भित्र्याउने अभियानमा यहाँका स्थानीय तह जुटेका हुन् । व्यावसायिक पर्यटनका लागि प्रख्यात ठाकुरबाबा नगरपालिकाले थप पर्यटकीय क्षेत्रको विकासका लागि योजना अगाडि सारेको छ ।


नगरपालिकाले बेतहनी, भुरीगाउँ क्षेत्रमा होमस्टे निर्माण गर्ने लगायतका योजना अगाडि सारेको हो । त्यसो त बर्दिया राष्ट्रिय निकुञ्जका कारण ठाकुरद्वारा पर्यटन क्षेत्रका लागि विश्वभरि चिनिन्छ । नगर प्रमुख घननारायण श्रेष्ठले ठाकुरद्वाराबाहेक थप पर्यटकीय क्षेत्रको विकासमा जोड दिएको बताए ।


उनले ग्रामीण पर्यटनले सर्वसाधारणको आय आर्जनमा सहयोग पुग्ने जनाए । ‘गाउँमा थप होमस्टे खोल्न बजेटको व्यवस्था गरेका छौं । नगरपालिकालाई पर्यटकीय क्षेत्रका रूपमा थप पहिचान दिलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रको पर्यटनका लागि अग्रसर छौं ।’ बर्दिया निकुञ्जको बबई भ्यालीमा र्‍याफ्टिङ हुँदै आएको छ ।


बढैयाताल गाउँपालिकाले बढैयाताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास थालेको छ । माछाको ठेक्का तोडेर संरक्षण थालिएको हो । जैविक विविधताको दृष्टिकोणले सीमसार घोषणा भइसक्नुपर्ने बर्दियाको बढैयाताल अझै ओझेलमा छ । प्राकृतिक रूपमै रहेको उक्त ताल १ सय १० बिघामा फैलिएको छ । १२ महिनै पानी जम्ने दलदले तालमा दुर्लभ चराचुरुंगी र पानीमा पाइने जीवजन्तु पाइन्छन् ।


यस क्षेत्रकै ठूलो प्राकृतिक ताल प्रचारप्रसार अभावमा सीमसार घोषणा हुन नसकेको हो । तत्कालीन जिल्ला विकास समितिले व्यावसायिक माछा पालनका लागि ठेक्का दिएपछि जैविक विविधतामा ठूलो क्षति पुगेको थियो । अब स्थानीय तहले माछा पालनका लागि ठेक्का नदिने जनाएको छ ।


‘बढैयाताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिरहेका छौं,’ गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले भने, ‘अब माछापालन गर्न ठेक्का लगाइन्न ।’ बढैयाताल गाउँपालिकाले यस वर्ष यहाँको पर्यटकीय क्षेत्रका लागि ६० लाख रुपैयाँ बजेट छुट्याएको छ । बढैयाताल गाउँपालिका ५ मा पर्ने यस क्षेत्रकै ठूलो ताललाई सीमसारका रूपमा विकास गर्न स्थानीयले माग गर्दै आएका छन् ।


बाँसगढी नगरपालिकाले ग्रामीण तथा विकट चेपाङ गाउँलाई पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममा पारेको हो । कर्णाली प्रदेश जोड्ने बबई पुलको पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णालीको राजधानी सुर्खेत पुग्ने हर्रेडाँडा पश्चिमको भाग प्राकृतिक सौन्दर्यले सिँगारिएको छ ।


बबई छेउमा बन्ने भ्युटावरबाट बर्दिया निकुञ्ज र सुन्दर चेपाङ गाउँ हेर्न सकिनेछ । त्यस्तै, निकुञ्जको मध्यवर्ती क्षेत्रमा पार्क निर्माण गर्ने लक्ष्य छ । बर्दियाको चिनारीका लागि पार्कमा बाघको मूर्ति राखिनेछ । बर्दिया निकुञ्जमा ८० पाटे बाघ छन् । गाउँहरूमा होमस्टे चलाउन नगरपालिकाले स्थानीयलाई आर्थिक सहयोग गर्नेछ ।


बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले चेपाङ क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन नीतिगत रूपमै निर्णय गरिसकेको बताए । उनले उक्त क्षेत्र प्राकृतिक रूपमा निकै सुन्दर रहेकाले पहल थालिएको जनाए । ‘यो आफैंमा निकै सुन्दर गाउँ हो । निकुञ्ज छ । बबई नदीको सुन्दता छँदैछ,’ उनले भने, ‘बजेट छुट्याइसकिएकाले अब छिट्टै नै पर्यटकीय क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधार बनाइनेछ ।’ पर्यटकीय क्षेत्रले स्थानीयको आय आर्जन बढ्ने र पर्यटकको आउने क्रम बढ्ने विश्वास गरिएको छ ।


हाल चेपाङमा बस्ती बिस्तारसँगै बजार पनि बढेको छ । यसले उनीहरूको दैनिकी केही सहज भएको छ । नगरपालिका प्रमुख अधिकारीले पर्यटकीय क्षेत्र बनेसँगै यहाँको विकासले गति पाउने बताए । बारबर्दिया नगपालिकाले सतखोला होमस्टे, बबई क्षेत्रलाई पर्यटकीय क्षेत्रमा पारेको छ । गुलरिया नगरपालिकाले कृष्णसार संरक्षण क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिरहेको छ । होमस्टे बन्ने क्रममा छन् ।


गेरुवा गाउँपालिकाले होमस्टे र सामुदायिक वन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालेको छ । राजापुर नगरपालिकाले कर्णालीमा र्‍याफ्टिङ र मुलुककै लामो कोठियाघाट पुलको प्रचार गरी पर्यटकीय क्षेत्रको प्रचार थालेको छ ।

प्रकाशित : भाद्र २६, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?