कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगुका बिरामी बढे

रुपन्देहीमा ४८, परासी पश्चिममा ३१, पाल्पामा ६, कपिलवस्तुमा ३, दाङ र बाँकेमा २/२ एवं गुल्मी र बर्दियामा १/१ जनामा डेंगुको संक्रमण देखिएको छ 
अमृता अनमोल

बुटवल — प्रदेशका विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार शुक्रबारसम्म प्रदेशमा ९४ जनामा डेंगुको संक्रमण फेला परेको छ । 

डेंगुका बिरामी बढे

प्रदेशभरिमा सबैभन्दा धेरै ४८ बिरामी रूपन्देहीमा भेटिएका छन् । परासी पश्चिममा ३१, पाल्पामा ६, कपिलवस्तुमा ३, दाङ र बाँकेमा २/२ एवं गुल्मी र बर्दियामा एक/एक जनामा डेंगुको संक्रमण देखिएको छ ।


डेंगु बढ्दै गएपछि स्वास्थ्य संस्थामार्फत नागरिकलाई सचेत रहन आग्रह गरिएको महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए । जोखिम बढेका स्थानमा स्थानीय तहको सहकार्यमा लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान थाल्ने तयारी गरेको उनले बताए । डेंगुसँगै भाइरल ज्वरोका बिरामीको संख्यासमेत दैनिक बढेको छ ।


लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. कृष्ण खनालले बिरामी बढ्दै गए डेंगु परीक्षणका लागि किटको अभाव हुने बताए । चिकित्सकका अनुसार लामखुट्टेको वृद्धि र फोहोर तथा टायरको उचित व्यवस्थापन नहुँदा डेंगु र ज्वरोका बिरामी बढेका हुन् ।


लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि आएकामध्ये साउनमा दुई र भदौमा चार जनामा डेंगुको संक्रमण देखिएको कलेजका सूचना अधिकारी कृष्णप्रसाद पराजुलीले बताए । पाल्पामा गत वर्ष पनि सात जनामा डेंगु देखिएको थियो । स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख केयरसिंह गोदारका अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका थप २४ जना संक्रमित छन् । डेंगुकै आशंकामा उनीहरूको उपचार भइरहेको भए पनि पुष्टि हुन बाँकी रहेको उनले बताए ।


विद्यालय बन्द

पाल्पाको पूर्वखोला गाउँपालिका–३, रिङनेरहको अर्खलडाँडामा चार दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँ नै प्रभावित भएको छ । विद्यार्थी नै बिरामी परेपछि दुई दिनदेखि विद्यालय बन्द छ । अर्खलडाँडामा केही दिनयता मौसमी भाइरल ज्वरोको प्रकोप देखिएको वडाध्यक्ष नीलकण्ठ भट्टराईले बताए ।


कोरङ्गा र अर्खलडाँडा गाउँका २० बढी घर परिवारमा भाइरल ज्वरोको प्रकोप देखिएको उनले बताए । भाइरल प्रभावित क्षेत्रमा गाउँपालिकाको स्वास्थ्य शाखा र रिङनेरह स्वास्थ चौकीबाट गाउँमै शिविर राखेर बिहीबार उपचार गरिएको थियो । स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालका अनुसार ७३ जनालाई गाउँमै पुगेर उपचार गरिएको छ ।


टोलीले ४३ जना पुरुष, ३० जना महिलाको स्वास्थ्य परीक्षण गरेको थियो । यसमा १८ जना विद्यार्थी प्रभावित भेटिएको उनले बताए । ‘रुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्या बढी देखिएको छ,’ उनले भने, ‘सिंगो गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित भएका छन् ।’


गाउँका अधिकांश बालबालिका बिरामी परेको र भाइरल अन्यलाई सर्ने भएकाले जनउज्ज्वल आधारभूत विद्यालय शुक्रबारलाई बिदा दिइएको छ । मौसमी रुघाखोकी, ज्वरो र भाइरलमा उपचारपछि केही सुधार आएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।

प्रकाशित : भाद्र २१, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?