उद्यम अभिवृद्धिका लागि प्रतियोगिता

कान्तिपुर संवाददाता

रूपन्देही — तिलोत्तमा ९ मा अर्ग्यानिक च्याउ तथा तरकारी फर्म सञ्चालन गरिरहेका वसन्त छन्त्यालले सिजनमा ३ सय किलोसम्म च्याउ उत्पादन गर्छन् । अफसिजनमा एक क्विन्टल उत्पादन हुन्छ ।

कृषिमा सरकार र स्थानीय तहले दिने अनुदान र तालिमले सहयोग मिलेको उनले बताए । ‘फर्मबाट सन्तुष्ट छु,’ उनले भने, ‘यही पेसामा अझ मिहिनेत गरी अघि बढ्ने तयारी स्वरूप निरन्तर काम गरिरहेको छु ।’

तिलोत्तमा १७ का अभय चौधरीले कृषि पर्यटन प्रवर्द्धन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि सञ्चालन गरेको साढे २ वर्ष भयो । उनको उद्यम एक्वा टुरिजम ६ बिघामा फैलिएको छ । ‘माछाका परिकार र थारू परिकार पाइने रिसोर्ट चलाएका छौं,’ उनले भने, ‘कृषितर्फ कागती खेती छ । ६ सय २० त कागतीकै बोट छन् ।’

यस्तै विभिन्न कृषि उद्यम गरिरहेका यहाँका किसानलाई समेटी युवा उद्यमशील प्रतियोगिता सुरु भएको छ । रुरल इन्टरप्राइज एक्सलरेन्सी कार्यक्रम र तिलोत्तमा नगरपालिकाको समन्वयमा नगर प्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रमअन्तर्गत प्रतियोगिता सुरु भएको हो । तिलोत्तमा नगरपालिकाका ८० उद्यमीबाट छानिएका २० जनाले प्रतियोगितामा सहभागी छन् ।

संस्थाका स्थानीय सदस्यले संकलन गरेको तथ्यांकका आधारमा उद्यमीको उद्यमशील क्षमता हेरेर पहिलो चरणमा २० उद्यमी छनोट गरिएको परियोजना प्रमुख सायुज्य शर्माले बताए । २० युवा उद्यमीबाट १० र त्यसबाट छानिएका ५ जनालाई उद्यम विकास तालिमको व्यवस्था गरिएको छ । ५ मध्येबाट अन्तिममा छानिने एक जनाले उत्कृष्ट पुरस्कार स्वरूप १ लाख रुपैयाँ पाउनेछन् ।

सन् २०१४ बाट थालनी भएको यो कार्यक्रम मकवानपुर, पाल्पा, गुल्मी, रामेछाप हुँदै रूपन्देहीको तिलोत्तमामा बुधबारबाट सुरु भएको प्रमुख शर्माले बताए । प्रतियोगितामा सहभागी उद्यमीले नगरका नागरिकसँग आफ्नो उद्यमबारे जानकारी गराउँदै भोटका लागि अपिल गर्नेछन् । सोही भोटका आधारमा अंक जोडिने आयोजक संस्थाले जनाएको छ ।

उद्यमी आफ्नो कामप्रति अझ बढी लगनशील भएर लागून् र युवालाई उद्यममा लाग्न अभिप्रेरित गरौं भन्ने उद्देश्यले संस्थासँग समन्वय गरिएको नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘आय आर्जन र सीप विकासका लागि कार्यक्रम उपयोगी हुनेछ,’ उनले भने ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्

पन्टुन पुल बेवारिसे

कान्तिपुर संवाददाता

बर्दिया — राजापुरलाई बाँकी जिल्लासित जोड्न २० वर्षअघि कोठियाघाटमा निर्मित रेडिमेट पन्टुन पुल ६ वर्षदेखि बेवारिसे बनेको छ । ०५६ सालमा यो पुल जडान भएपछि यहाँ यातायात सञ्चालनमा आएको थियो ।

हिउँदमा जडान गरिने र वर्षायाममा निकालिने उक्त पुलको व्यवस्थापन नहुँदा राजापुर सिँचाइ व्यवस्थापन कार्यालयलाई घाँडो भएको छ । उपयोग नहुँदा क्षति पनि बढ्दै गएको छ ।

कर्णालीको भंगालो गेरुवामा ०७१ असोजमा पक्की पुल बनेपछि पन्टुन पुल थन्क्याइएको हो । यसका ६ डब्बा काम नलाग्ने बनेका छन् । करिब १० डब्बा खिया लागेर मर्मत गर्नुपर्ने अवस्थामा रहेको सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर प्रवेश खनालले बताए । ‘आधा दशक भइसक्यो, यसको व्यवस्थापन नहुँदा हरेक वर्ष खिया लाग्ने र डब्बा काम नलाग्ने हुँदै गएका छन्,’ उनले भने, ‘आधा दर्जन डब्बा कामै नलाग्ने भएकाले यसको व्यवस्थापन कतैबाट नहुँदा आयोजनालाई घाँडो भएको छ ।’

पन्टुन पुल सुरक्षाका लागि कोठियाघाटमा राखिएको छ । सुरक्षा आयोजनाबाट खटिएका दुई करारका चौकीदारको जिम्मामा यसलाई राखिएको छ । ३३ डब्बा रहेको पन्टुन एसियाली विकास बैंकको ऋण सहयोगमा खरिद गरिएको थियो । चीनमा निर्मित पन्टुन पुल ०५६ मा सञ्चालनमा आएको हो । करिब ७ करोड रुपैयाँमा पुल खरिद गरिएको थियो ।

पक्की पुल नबन्दै साबिक जिल्ला विकास समिति, कृषक समन्वय समिति र राजापुर सिँचाइ आयोजनाले संयुक्त रूपमा सञ्चालन गरेको पुलको ठेक्का बर्सेनि दिँदै आएको थियो । पन्टुनबाट उठेको राजस्वको लेखाजोखा नै छैन । वार्षिक ३० लाख रुपैयाँमा ठेक्का लाग्ने गरेका थियो ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्