सीपले बनायो आत्मनिर्भर

बाँकेको गगनगन्जमा बस्ने बादी समुदायका अधिकांश महिला शिक्षित छैनन्, त्यसैले उनीहरू सीप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छन् 
रूपा गहतराज

नेपालगन्ज — र्‍याकभरि जुत्ता–चप्पल । फाट्टफुट्ट कपडा पनि छन् । नेपालगन्ज उपमहानगरपालिका ७, गगनगन्जकी ३४ वर्षीया कविता नेपालीले सञ्चालन गरेको पसलको दृश्य हो यो । ‘पहिले काम थिएन । अहिले भ्याइनभ्याइ छ,’ उनले भनिन्, ‘थोरै लगानीमा सुरु गरेको पसलबाट घर व्यवहार चलेको छ ।’ 

१२ कक्षा अध्ययनपछि पढ्नै छाडिन् । परिश्रम गरी जीवन निर्वाह गर्नुपर्छ भन्ने लाग्यो । व्यवसाय गर्ने सोच बनाइन् । ‘थोरै लगानीमा यो पसल सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘ग्राहक बढ्दै गएपछि लगानी बढाउने सोचमा छु ।’ उनका पति वैदेशिक रोजगारीमा छन् । खाली समय आत्मनिर्भरका लागि पसल सुरु गरेको उनले बताइन् ।

उनीमात्र होइन, यहाँका धेरै महिलाको अवस्था अहिले फेरिएको छ । गगनगन्जमा बसोबास भएका बादी समुदायका अधिकांश महिला शिक्षित छैनन् । त्यसैले सीप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । धेरैले केही न केही आय आर्जनका काम गरिरहेका छन् । कविताले जस्तै रेनु नेपालीले पनि न्युरोडमा जुत्ता–चप्पल पसल खोलेकी छन् । ‘अवसर पाइयो भने काम गरी खान दुःख छैन,’ रेनुले भनिन्, ‘दिनमा १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म कमाइ हुन्छ ।’

विस्तारै आफूमा परिवर्तन ल्याउन यहाँका महिला कस्सिएका छन् । रेनुकी छिमेकी ६५ वर्षीया गोब्ली नेपालीले पनि १० हजार रुपैयाँमा किराना पसल चलाइरहेकी छन् । छोरीसँगै बस्दै आएकी थिइन् । छोरीको मृत्युपछि उनले नै पसललाई निरन्तरता दिइन् । ‘उसैलाई सम्झेर पसल चलाइरहेकी छु,’ गोब्लीले भनिन्, ‘घरखर्च चलिरहेको छ । सीप भयो भने छोरी–बुहारी पनि काम गर्न सिपालु छन् ।’

गगनगन्जमा वादी समुदायको बाक्लो बस्ती छ । उनीहरू आपसमा मिलेर बसेका छन् । ‘अहिले यहाँका धेरै महिला कामकाजी बनेका छन्,’ समुदायकी अगुवा सुशीला नेपालीले भनिन्, ‘अवसर पाएको ठाउँमा अगाडि छन् ।’ विस्तारै समुदायलाई हेर्ने दृष्टिकोण फरक हुँदै गएको उनले सुनाइन् ।

यो बस्ती अहिले प्रगतिशील नगरमा रूपान्तरित भएको छ । नाममात्र होइन, बस्तीको स्वरूपै परिवर्तन भइसकेको छ । नेपालगन्ज उपमहानगरपालिका ७ की वडा–सदस्य मन्जु बादीले परिवर्तनलाई स्थायी बनाउन राज्यको लगानी आवश्यक रहेको बताइन् ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

हात नभए पनि स्वरोजगार

कान्तिपुर संवाददाता

प्यूठान — दुर्घटनामा परि ५ वर्षअघि बायाँ हात काट्नुपर्दा उनलाई जीवन सकिएझैं   लागेको थियो । ऐरावती गाउँपालिका २, उपल्ला गाउँका ३७ वर्षीय हरि गिरी अहिले स्वावलम्बी बनेका छन् । उनी गाउँका अन्यका लागि पनि उदाहरणीय बनेका छन् । 

चालक अनुमति पत्र लिएर ३ वर्ष एम्बुलेन्स चलाएका थिए । त्यसपछि जिप किनेर चलाए । जिप किनेको ६ महिनामै दुर्घटना हुँदा बायाँ हात ३ ठाउँमा भाँच्चिएर काट्नुपरेको हो । ‘गाडी आफैं चलाउँथें,’ उनले भने, ‘मासिक किस्ता तिरेर महिनामा ४०/५० हजार रुपैयाँ बचत हुन्थ्यो ।’

उपचार गर्दा लागेको ऋण जिप बेचेर तिरेका गिरीले त्यसपछि १ वर्ष परिवारको सहयोगमा व्यावसायिक तरकारी खेती गरेको सुनाए । ‘तरकारी खेती गर्न एक हातले सहज भएन,’ उनले भने, ‘जीवन सहज जिउने विकल्प खोज्दै जाँदा बियाडे राँगो पाल्न थालेको हुँ ।’ राँगो पाल्न थालेपछि जीवन गुजारा गर्न सहज भएको उनले सुनाए । ‘दुईवटा राँगो पालेको छु,’ उनले भने, ‘भैंसीलाई राँगो चाहियो भने फोन आउँछ । किसानको घरमै पुर्‍याइदिन्छु ।’

दूरीअनुसार राँगो लगाएबापत उनले १२ सयदेखि १५ सय रुपैयाँसम्म लिने गरेका छन् । ‘राँगो पालेर वर्षमा डेढ लाखसम्म कमाइ गर्ने गरेको छु,’ उनले भने, ‘राँगोले नै हाम्रो परिवार धानेको छ ।’

परिवारले राँगोका लागि घाँसपातको व्यवस्था मिलाइदिन्छन् । घरमै राँगो ल्याइदिएको भनेर किसानले खुसी भएर शुल्कभन्दा थप केही रकम बाटोखर्च भनेर दिने गरेको पनि उनले बताए । राँगो लिएर बिजुली, बैरेनी, अर्लाबाङ, पकला, धुबाङ, दाङबाङसम्म पुग्ने गरेको उनले बताए ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्