कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बचेरा कोरल्दै सारस

मनोज पौडेल

कपिलवस्तु — लुम्बिनीस्थित शान्तिद्वीप नजिक विश्वमै दुर्लभ पंक्षी सारस झिंजाझिजी बटुलेर ओथारो बसेका छन् । मनोरा, एकला र शिवगढिया गाउँमा पनि यतिबेला ओथारो बसेका सारस धेरै देखिन्छन् । कपिलवस्तुको तुल्सीडिहवा र तिलौराकोटमा पनि यस्तै दृश्य 
देख्न पाइन्छ । 

बचेरा कोरल्दै सारस

रूपन्देही र कपिलवस्तुका ४० भन्दा बढी ठाउँमा अहिले सारस ओथारो बसेका छन् । तीमध्ये अधिकांशले एक/दुई दिनमै बच्चा कोरेल्ने अवस्था छ । कहीं दुई र कहीं तीन सातादेखि ओथारो बसिरहेका छन् । खतराबाट जोगिन सारस चारैतिर पानी जमेको ठाउँको बीचमा झार पतिंगर राखेर अग्लो ठाउँमा ओथारो बस्छ । पोखरी, ताल र जंगली धान हुने सीमसार र धाप क्षेत्र उनीहरूको रोजाइमा परेको छ ।

‘जेठ/असार महिना उनीहरूका लागि ओथारो बस्ने उपयुक्त समय हो,’ चराविद् डा. हेमसागर बरालले भने, ‘साउन दोस्रो र तेस्रो सातातिर भाले र पोथी मिलेर अण्डा पार्छन् ।’ भदौ चौथो सातासम्म अण्डा कोरल्छन् । ‘अण्डा निश्चित तापक्रममा राख्नुपर्छ,’ उनले भने, ‘त्यही भएर भालेपोथीमध्ये एउटाले गुड छोड्दैनन्।’ सुरक्षाका लागि पालैपालो चर्न जान्छन् । ओथारो बसेको ३१ देखि दिनभित्र बच्चा जन्माउने गर्छन् । बच्चा जन्मेको एक/दुई दिनमा सारस ओथारो बसेको ठाउँ छोड्ने गर्छ । सुरक्षा सतर्कता अपनाउँदै ठाउँ फेरेर बस्छन् ।


चनाखो भएर अण्डा स्याहार्छन् । अण्डा नजिक कुकुर, स्याल, गोही र मुसा गए जोडी सारस मिलेर लखेट्ने गर्छन् । ठूडले ठुंग्छन् । सारस साढे पाँच फिट अग्लो हुन्छ । करिब १० किलोसम्म तौल हुन्छ । दुवैतिरका पखेटा फिंजायो भने १० फिट लामो हुन्छ । सबैभन्दा बढी पखेटा फिजाउन सक्ने चरा सारस र हिमाली गिद्ध हो । ‘लुम्बिनी र कपिलवस्तु आसपास एकै ठाउँमा धेरै सारस ओथारो बस्नु धेरै राम्रो हो,’ चराविद् सोम जीसीले भने, ‘यसले त्यस जैविक विविधता संरक्षण रहेको मानिन्छ ।’


विषादी, सीमसार क्षेत्रको अतिक्रमण र विद्युत्को नांगो तारले समस्या पारेका छन् । त्यसलाई व्यवस्थित गरिएन भने गाह्रो हुन्छ । नेपालमै सारस हेर्न यो क्षेत्र नै महत्त्वपूर्ण मानिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षण गरेका नौ पंक्षी प्रजातिमध्ये सारस एक हो । ‘सारसले सर्प सजिलै मारेर खान्छ,’ वरिष्ठ चराविद् डा. बरालले भने, ‘त्यसकारण सारस बस्ने ठाउँ वरिपरि सर्पको डर हुँदैन । बालीलाई नोक्सान पुर्‍याउने शंखेलगायत कीराफट्यांग्रालाई पनि सारसले आहार बनाउँछ ।’

प्रकाशित : भाद्र १६, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?