कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउखोला–त्रिवेणी सडक अलपत्र

(रुकुम पूर्व) — सम्झौताअनुसार ठेकेदार कम्पनीले काम गरेको भए बालुवा–नायगाड–जामाबगर–त्रिवेणी सडकको साढे ११ किलोमिटर खण्ड खुलिसक्थ्यो । हिउँदमा गाडी सञ्चालन हुन्थे । अहिले उक्त खण्ड अलपत्र छ । काम सुरु गरेको केही समयमै ठेकेदार कम्पनीले काम छाडेपछि निर्माण अलपत्र बनेको हो । 

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) ले पीएच/शंकरमाली निर्माण सेवा कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो वर्षमा ट्रयाक खोलेर ग्राभेल गर्ने भनिएको थियो । दोस्रो वर्ष कालोपत्रेको काम गर्ने उल्लेख छ । आस्फाल्ट कंक्रिट अर्थात् ३० एमएम बाक्लो पिच गर्ने गरी सम्झौता भएको छ । ०७५ साल असोजदेखि काम थालिएको थियो । ठेकेदार कम्पनीले केही समय मात्र काम गर्‍यो ।


बालुवा साइडको देउखोलाबाट काम थालेको कम्पनीले कडा चट्टान भेटिएको भन्दै रोकेर त्रिवेणि साइडबाट सडक निर्माण सुरु गरेको थियो । योजनाको १५ प्रतिशत पनि काम हुन सकेको छैन । एसियाली बिकास वैंक (एडीबी) र सरकारको लगानीमा उक्त सडक निर्माण गर्न लागिएको हो । ‘राम्रो र पक्कि सडक बन्ने भयो भनेर हामी उत्साहित थियौं,’ सिस्ने गाउँपालिका प्वाङका खडबहादुर केसीले भने, ‘तर एक वर्ष वित्दा पनि सडक निर्माणको केही काम भएको छैन ।’ कामको जिम्मा लिएकाले नगर्दा पनि सम्बन्धित पक्षले चासो नदेखाएको उनले बताए । केही दिन देउखोला साइड र केही दिन त्रिवेणि साइडमा ठेकेदारका मान्छे देखिएपनि खास देखिने गरी काम नभएको केसीले बताए ।


रुकुम पश्चिमस्थित आयोजनाको कार्यालयले पनि काम हुन नसकेको जनायो । आयोजनाका व्यवस्थापक गौरीकुमार श्रेष्ठले निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरेको बताए । ‘काम भइरहेको छैन, हामीले ताकेता गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘उसलाई मौखिक भन्दा पनि प्रक्रियाबाट कागजी रुपमै काम गर्न भनिरहेका छौं ।’ काम संचालनबारे निर्माण कम्पनी तथा अन्य सरोकारवालासँग पटक पटक छलफल गरेको पनि बताए ।


उक्त सडक २८ करोड ६९ लाख २८ हजार रुपैयाँमा बन्ने गरी ठेक्का सम्झौता भएको बताए । आयोजना ५ वर्षको भएपनि सडक निर्माणको काम भने २ वर्षमै सक्ने गरी सम्झौता भएको छ । सडक निर्माणको अनुगमन, नियमन, मूल्याङ्कन, क्वालीटी कन्ट्रोल सबै रुकुम पश्चिम स्थित आयोजना कार्यालयबाटै हुने भएपनि आयोजनाबाट पनि समय समयमा अनुगमन नभएको गुनासो आइरहेको छ ।

प्रकाशित : भाद्र १४, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?