नपाक्दै भाँचिए मकै

किसान भन्छन्, ‘बिहानदेखि साँझसम्म बारीमै चौकीदारी गर्दा छोराछोरीको हेरचाह कसले गरिदिने ? बाँदरलाई खुवाएर बारी रित्याउनुभन्दा कलिलै घोगा भित्र्याए जितिन्छ भनेर भाँच्न थाल्यौं ।’
वीरेन्द्र केसी

अर्घाखाँची — यहाँका छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका एवं सन्धिखर्क नगरपालिकाका गाउँलेले मकैका हरिया घोघा नै भाँच्न थालेका छन् । छिप्पिदासम्म बारीमा राख्दा बाँदरले खाइदिने डरले नपाक्दै भाँच्नु परेको छत्रदेव गाउँपालिका ६, ठूलापोखराका कृषक कृष्णप्रसाद पाण्डेले बताए ।

‘भाँच्न लागेका मकैका बोट हरियै छन् । घोगाको पोस्कर आधा मात्रै पाकेको छ,’ उनले भने, ‘भित्र मकैका दाना पुरै छिप्पिसकेका छैनन् । नङगाड्दा दूध आउँछ । बाँदरलाई खुवाउनुभन्दा बरू काँचै भाँच्न ठीक लागेर हरियै भाँच्न लागेका हौं ।’

सन्धिखर्क नगरपालिका ४, वाङलाकी मुना अधिकारीको बारीमा वर्षमा ८ मुरी मकै फल्थ्यो । पोस्करसितै सोलीमा राखेर हिउँदमा बल्ल मकै छोडाउँथिन् । फुर्सदका बेला मकैका दाना छुट्याएर सुकाउने र मिलमा लगेर पिसेर आफूहरूले आटो खाने र भैंसीलाई कुँडो खुवाउने गर्थिन् । ‘२ वर्षअघिसम्म असार/साउनसम्म पुराना मकैको आटो खाइन्थ्यो । अहिले त पुस/माघमै सकिन्छ,’ उनले भनिन्, ‘घोगा राम्ररी नपाक्दै भित्र्याएपछि दाना चाउरी पर्छन्, किरा लागेर आधा खाइदिन्छ र आटो, पिठो पनि खाँदा स्वादिलो हुँदैन ।’

घोगा छिप्पिंदासम्म त बारीमा मकै नै रहँदैन । ‘घरमा छोराछोरी र ममात्रै छु, श्रीमान् विदेश हुनुहुन्छ, बिहानभर खाना पकाएर नानीबाबुलाई स्कुल पठाउनै ठिक्क हुन्छ,’ उनले भनिन्, ‘बिहानदेखि साँझसम्म बारीमै चौकीदारी गर्दा छोराछोरीको हेरचाह कसले गरिदिने ? बाँदरलाई खुवाएर बारी रित्याउनुभन्दा काँचै घोगा भित्र्याए जितिन्छ भनेर भाँच्न थालेकी हुँ ।’

एउटा/दुईवटा मात्रै बाँदर छैनन् । ठूलै बगाल छ । कति बेला कताबाट पसेर मकै खाइदिन्छ भन्ने चिन्ता छ । बाँदर रुखमा बस्छ । जंगलमा लुकेर बसेको बाँदरलाई लेखेटन सम्भव छैन । ‘बाँदरको बिगबिगीले हैरानै पारेको छ,’ छत्रदेव मढेलचौरका कृष्ण पाण्डेले भने, ‘बारीको छेउमा कपडाको नक्कली मान्छे बनाएर राखेका छौं । झ्याप्पै बारीमा बाँदर पस्न नसकोस् भनेर । बारीमा मान्छे नदेखे पसेर छिनभरमै नोक्सान गरिहाल्छ ।’

यो दुःखबाट आजित भएरै बारीबाट काँचै मकै भाँच्न सुरु गरिएको उनले बताए । असोजतिर भाँच्ने समय हो । त्यतिबेला मकैको बोट पूरै सुकेको हुन्छ । घोघाको दाना छिप्पेको हुन्छ । तर, बाँदरले खाइदिने डरले अहिले नै भाँच्न सुरु गरेको उनको भनाइ छ । घरदेखि टाढा जंगल र खर्‍यानको नजिकका बारीका मकै अहिले नभाँच्ने हो भने असोजसम्म एउटा घोगा पनि देख्न नपाइने उनले सुनाए ।

छिप्पिसकेका दाना घाममा सुकाएपछि किरा लाग्दैन । आधा काँचो मकैमा चिलेसा, ढुसी लाग्ने गर्छ । मकै मात्रै नभएर बारीका फर्सी, सिमी, बोडी, घिरौलालगायत तरकारी पनि बाँदरले नोक्सान गरिदिने वाङलाका भुवन श्रेष्ठले बताए । हिउँदे बाली पनि खाइदिन्छ । वर्षदिन दुःख गरी ६ महिनालाई खान पुग्ने अन्नबाली नै बाँदरको आहारा भएपछि गाउँमा बस्न गाह्रो भएको उनले सुनाए ।

प्रकाशित : भाद्र १३, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश स्वास्थ्य नीति : महिला स्वास्थ्यलाई प्राथमिकता दिन सुझाव

कान्तिपुर संवाददाता

बुटवल — प्रदेश सरकारले आधारभूत स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश स्वास्थ्य नीति, २०७६ को मस्यौदा तयार गरेको छ । विद्यमान स्वास्थ्य सेवालाई सुदृढ गरी सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन नीति बनाउन थालेको हो ।

स्वास्थ्यका अधिकांश राष्ट्रिय सूचकमा प्रदेश पछाडि छ । प्रदेशको तथ्यांकअनुसार अझै पनि प्रदेशका ३ सय २२ वडामा कुनै स्वास्थ्य संस्था छैनन् । ३ सय ७१ वडामा स्वास्थ्य चौकी छैनन् ।

नजिकमा स्वास्थ्य संस्था नहुँदा आधारभूत स्वास्थ्य सेवा नपाउने र दीर्घकालीन प्रजनन स्वास्थ्य समस्या भोग्ने धेरै छन् । त्यसलाई सुधार गरी प्रदेशका सबै तहका स्वास्थ्य संस्थाबाट निःशुल्क आधारभूत र आकस्मिक सेवा प्रदान गर्ने, विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार गर्ने, स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार, औषधि र औषधिजन्य सेवा पुर्‍याउनेलगायत २४ रणनीति तयार गरिएको छ । तिनै नीति तथा रणनीतिको पूर्णताका लागि अहिले विभिन्न क्षेत्रमा सरोकारवालाबीचछलफल चलाएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

बुटवलमा बिहीबार आयोजित छलफलमा सहभागीले महिला र प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राख्न सुझाव दिए । प्रदेश सभा सदस्य रमा अर्यालले सानैमा बिहे हुने र उमेर पुग्दा रोगी बन्ने समस्या धेरै महिलामा भएकाले यसलाई प्रदेश नीतिमा समेटन आग्रह गरिन् । ‘प्रदेशका धेरै महिला असुरक्षित तरिकाले सुत्केरी हुन्छन् । गर्भवती र सुत्केरी अवस्थामा पोषण पाउँदैनन्,’ उनले भनिन्, ‘यसले रुग्णता, रक्त अल्पता र कुपोषणको समस्या बढेको छ । यसलाई हटाउने विधि पनि स्वास्थ्यनीतिमा उल्लेख होस् ।’

पोषण सुरक्षा अभावले कुपोषण, बाँझोपन र बालमृत्यु बढाएको भन्दै सरोकारवालाले स्वास्थ्य नीतिमा खाद्य सुरक्षा र पोषणलाई जोड दिन आग्रह गरे । प्रदेश सांसद रीना नेपाल विश्वकर्माले महिला, बालबालिका तथा किशोरकिशोरीको कुपोषण सुधारको दीर्घकालीन सोच नीतिमा उल्लेख गर्न आग्रह गरिन् ।

‘स्वास्थ्यसर्वेहरूले धेरै बिरामी हुने संख्या महिलाको देखाएको छ । महिलामा कुपोषण रोक्नु भनेको बालमृत्यु रोक्नु पनि हो,’ उनले भनिन्, ‘यसलाई नीतिमा समावेश गर्नुपर्छ ।’ प्रदेशको वस्तुस्थिति विवरणअनुसार यहाँका प्रजनन उमेरका ४४ प्रतिशत महिलामा रक्तअल्पता छ । यहाँ करिब २५ प्रतिशत गर्भवतीले घरमै बच्चा जन्माउँछन् । नवजात शिशु मृत्युदर प्रतिहजारमा ३०, शिशु मृत्युदर ४२ र बालमृत्युदर ४५ छ ।

प्रदेशमा कुपोषण भएको जनसंख्या ३७.६ र ५ वर्षमुनिका बालबालिकाको कुपोषण दर ४१.१ प्रतिशत छ । सांसद दीपा विश्वकर्माले स्वास्थ्य नीतिमा खोपको सुरक्षा, बालस्वास्थ्य र पाठेघर खसेकाको निःशुल्क उपचारलाई सर्वसुलभ बनाउने कुरा समेटन आग्रह गरिन् । हाल प्रदेशका १८ स्वास्थ्य संस्थामा मात्रै किशोर/किशोरीमैत्री उपचार सेवा छ । ‘बढै गएको यौन तथा प्रजनन समस्या रोक्न पनि सबै स्वास्थ्य संस्थामा प्रजनन शिक्षा, उपचार र किशोरकिशोरीमैत्री सेवा पुर्‍याउनुपर्छ,’ उनले भनिन् ।

अस्पतालमा हुने फोहोर, उपचारमालापरबाही र फितलो व्यवस्थापन रोक्ने नीति बनाउन बुटवल उपमहानगर उपप्रमुख गुमादेवी आचार्यले आग्रह गरिन् । ‘स्वास्थ्य संस्थाको फोहोर प्रशोधन ठूलो समस्या भएको छ । यसले प्रदूषण मात्रै होइन, घातक रोग निम्त्याएको छ,’ उनले भनिन्, ‘त्यसको दीर्घकालीन समाधानबारे नीतिमैस्पष्ट गरियोस् ।’

प्रकाशित : भाद्र १३, २०७६ १०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्