कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिचानका लागि चिडिमारको संघर्ष

नेपालगन्ज — चरा मारेर जीविकोपार्जन गर्ने सीमान्तकृत समुदायमा सूचीकृत चिडिमारा अहिले पनि पहिचानकै लागि संघर्ष गर्दै छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ मा उनीहरूको बाक्लो बस्ती छ ।

सरकारले उनीहरूलाई लोपोन्मुख दलितको सूचीमा राखेको छ । तर, उनीहरूले आफूहरू दलित नभई जनजाति भएको बताए । दलितको सूचीबाट आफूहरूलाई हटाउन पनि उनीहरूले माग गर्दै आएका छन् ।


६० वर्षीय अगुवा हौंसीराज चिडिमारले एनजीओ, आईएनजीओ र भत्ताको आडमा आफूहरूलाई दलितको सूचीमा राखिएको बताए । ‘हामी दलित होइनौं, जनजाति हौं,’ उनले भने, ‘सरकारले नै दलित भन्दा हाम्रो पहिचान हरायो ।’ पहिचान ठूलो सम्मान भएको भन्दै चिडिमार समुदायका युवादेखि बूढापाकासम्म अहिले पहिचान जोगाउने अभियानमा लागेका छन् ।


बाँकेको नेपालगन्ज उप महानगरपालिका, जानकी गाउँपालिकाको करमोहना गाउँमा पनि केही घर चिडिमार छन् । जिल्लाभरि झन्डै १ हजार २ सयको संख्यामा चिडिमार छन् । तर, गएको निर्वाचनमा ३ सय ६६ जनाले मतदान गर्ने अधिकार पाएका थिए । चार दशकअघिसम्म पनि चरा मारेरै पूर्ण जीविकोपार्जन गर्दै आएको यो समुदायमा अहिले केही परिवर्तन आएको छ । तर, सोचेजस्तो परिवर्तन हुन नसकेको अगुवाकै गुनासो छ । सिंगो समुदायमा शिक्षाको अभाव छ । पछिल्ला केही वर्षदेखि बल्ल बालबालिकालाई विभिन्न प्रलोभन दिएर विद्यालय पठाउन थालिएको नेपालगन्ज १२ वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।


पछिल्लो समय चरा मार्न सरकारले नै प्रतिबन्ध लगाएपछि मजदुरीदेखि सानातिना व्यापारमा चिडिमार समुदाय परिवर्तन भएको छ । तर, जातीय पहिचान झन् गुम्दै गएको अगुवा रामु चिडिमारले बताए । ‘जातीय पहिचान गुमाइदिएको सरकारले चरा मार्ने परम्परागत पेसाबाट बन्चित गरायो,’ उनले भने, ‘पेसामा प्रतिबन्ध लगाएपछि अहिले मजदुरी, खेतीपातीमा लागेका छौं ।’ यसले झन् जाति र पहिचान दुवै गुमाउँदै लगेको उनले बताए ।


पञ्चायतकालीन समयमा राजा र राणा परिवारले चिडिमार समुदायका युवालाई जंगलमा चराको सिकार गर्न पठाउँथे । त्यसले गर्दा उनीहरूले अन्य खेतीकिसानी गर्न नपाउने अवस्था थियो । त्यसैले चिडिमारको पेसा चरा मार्ने रहेको अगुवा रामुले बताए । ‘हजुरबुबाहरूले भने अनुसार नेपालगन्जका राजा र राणा स्नेहा होटलमा बस्थे । जबरजस्ती चरा मार्न लगाउँथे । नगए बेस्सरी पिटथे रे,’ उनले भने, ‘तिनै शासकले नै हाम्रो जातमा चिडिमार लेखिदिए तर हामी दलित होइनौं ।’


राजा र राणासँग लडन नसक्ने अवस्था भएकाले उनीहरूले जे भने, त्यही सहनुपरेको उनले बताए । चिडिमार समुदायमा अहिले पनि थोरैले मात्र नागरिकता बनाएका छन् । त्यतिबेला राम नेपाल भन्ने संस्थाले कपडा दिने, पढाउने, उपचार खर्च दिन्थे । तर, अहिले दलितको नाम लेखाइदिएकामा चित्त दुखेको छ । ‘विकासका लागि होला भनेको स्वार्थका लागि गरेको सहयोग रहेछ,’ उनले भने, ‘हामी अशिक्षित छौं । जनचेतनाको कमी छ । यसको फाइदा अरुले उठाइरहेका छन् ।’ त्यसैले अब चिडिमारलाई शिक्षा र पहिचान आवश्यक रहेको उनले बताए ।


०६६ सालमा यो समुदायको विकासका लागि चिडिमार समाज गठन भयो । त्यसका अध्यक्ष विष्णु चिडिमार भए । त्यो समयमा तीन जनाको नागरिकतामा चिडिमार लेखेर चिडिमार जात लेख्न सुरु गरिएको हो । तर, त्यो समयमा दलित हो भनिएन । अहिले चिडिमार भनेर अपमान गर्ने गरेकामा दुःख लागेको उनले बताए ।


आफूहरू दलित नभएर राउटेजस्तै लोपोन्मुख भएकाले जनजाति पहिचान दिनुपर्ने एकादशी चिडिमारले बताइन् । उनी गृहिणी हुन् । पुर्ख्यौली काम चरा मार्न उनी जान्दिनन् । त्यसैले उनी अहिले अरुको खेती–किसानीको काम गर्छिन् । उनका पति चन्द्रराम मजदुरी गर्छन् ।


७१ वर्षीय मंगला चिडिमारले पनि समुदायलाई जानकारी नै नदिई दलितको सूचीमा राखेको भन्दै गुनासो पोखिन् । वडाध्यक्ष सुवेदीले चिडिमारले आफ्नो पहिचानसहित हस्ताक्षर संकलन गरी वडामा माग गरेमा जनजातिमा सूचीकृतका लागि पहल थाल्न सकिने बताए ।

प्रकाशित : भाद्र १३, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?