कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादास्पद भवनको शिलान्यास

परासी — भवन निर्माणको विवाद अदालतमै विचाराधीन रहेको अवस्थामा मन्त्रीले शिलान्यास गरेका छन् । संघीय सरकारको सहयोगमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका ८ मा १५ शय्याको अस्पताल भवन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले बुधबार शिलान्यास गरेका हुन् ।

अस्पताल निर्माणस्थलको विवादले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा परेको मुद्दा विचाराधीन छ । मुद्दा विचाराधीन रहेको जानकारी भए पनि राज्यमन्त्री यादवले शिलान्यास गरेपछि विवाद थप चर्किएको हो ।

शिलान्यास गर्दै उनले मन्त्रालयबाट सुरुवाती चरणमा वडा ८ मा नै निर्माण गर्ने सहमति भएको भन्दै स्थानीय तहको निर्णयले मात्र अस्पतालको निर्माण स्थल नसर्ने बताए । नगरसभाका दुईतिहाइ सदस्यले वडा ५ मा अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए ।

निर्णयविरुद्ध वडा ८ का तुलाराम पोखरेल र दिलबहादुर खत्रीले अन्तरिम आदेशसमेतको माग राखी उच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतले उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको छ । मुद्दा पेसीमा चढाइएको नगरपालिकाले जनाएको छ । मुद्दा विचाराधीन रहेको र नगरसभाको निर्णयविपरीत काम गर्न लागेको भन्दै सुनवल नगरपालिकाका प्रमुख र उपप्रमुख सहभागी भएनन् ।

प्रकाशित : भाद्र १३, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?