कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गन्धर्वलाई  संग्रहालय

बाँके — वर्षौंदेखि झुप्रोमा गुजारा गर्दै आएका गन्धर्व समुदायले अब पक्की घर पाउने भएका छन् । दुई कोठा, भान्सा र शौचालयसमेत भएको एकतले घर उनीहरूका लागि बन्दै छन् ।

संघीय सरकारले एकीकृत बस्ती योजना अन्तर्गत दिएको बजेटबाट कोहलपुर नगरपालिका ११, लोकनगरमा गन्धर्व समुदायका लागि बस्ती निर्माण हुन थालेको हो । निर्माण भइरहेका १० घर अन्तिम चरणमा छन् । झ्याल–ढोका राखेपछि हस्तान्तरण गरिनेछ ।


१ करोड ७ लाख रुपैयाँमा बन्ने बस्तीमा अहिले १० घर मात्रै निर्माण भइरहेका हुन् । सुरुमा २५ परिवारलाई दिने भनिए पनि बजेट अभावले १० घर निर्माण गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए ।


‘गुणस्तरीय र टिकाउ घर बनाउन २५ वटालाई बजेट पुगेन,’ उनले भने, ‘त्यसैले संख्या घटाइयो ।’ कोहलपुरमा सयभन्दा बढी गन्धर्व समुदायको बसोबास छ । पुर्ख्यौली पेसा सारंगी बजाउने र गीत गाएर उनीहरूले जीविकोपार्जन गर्दै आएका छन् । तर, पछिल्लो समय यो पेसा ओझेलमा पर्न थालेपछि उनीहरूको दैनिकीमा समस्या आएको हो । पुस्तौंदेखि पुर्जावाल जग्गा नभएका गन्धर्व समुदायलाई जग्गा खोजेर घर हस्तान्तरण गर्ने योजना बनाएको नगर प्रमुख रावतले बताए ।


गन्धर्व समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष संरक्षण गर्न दलित संग्रहालय बनाउन लागेको पनि नगर प्रमुखले सुनाए । वास्तविक सुकुम्बासी, गरिब र विपन्न परिवार छनोट गरी नगरको बोर्ड मिटिङले नाम पास गरेपछि मात्रै घर वितरण गर्ने उपप्रमुख सन्जु चौधरीले बताइन् । संग्रहालय कोहलपुर २ मा बन्दै छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?