कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाकी सडकको काम रोकियो

बर्दिया — सदरमुकाम गुलरियामा हुलाकी सडक काम पाँच महिनादेखि रोकिएको छ । मापदण्डविपरीत निर्माण गरिएका संरचना नभत्काइएकाले निर्माण रोकिएको आयोजनाले जनाएको छ ।

वन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्मका ९० प्रतिशत बढी घरटहरा भत्काइएको छ । पुरानो बजार भन्सार रोडका धेरैजसो संरचना भत्काउन बाँकी छन् । ठेकेदारले गत साउनभित्र सडक निर्माण पूरा गर्ने सम्झौता थियो ।


गुलरिया नगरपालिकाले १२/१२ मिटर सडक मापदण्ड तोकेकाले भन्सार रोडका व्यवसायी र घरधनीले मुआब्जा माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । सडक मापदण्डअनुसार संरचना नबनेका कारण विद्युत्, टेलिफोनका पोल, खानेपानी र नाली बन्न सकेका छैनन् ।


नगरपालिकाले मापदण्डविपरीत बनाइएका संरचना भत्काउन तीनपटक सूचना सार्वजनिक गरेको थियो । सूचना जारी गरे पनि भन्सार रोडका बासिन्दाले अटेर गरेका छन् । स्थानीय समिम राइनले घर–टहरा भत्काउनुपूर्व नगरपालिकाले सर्वपक्षीय बैठकसमेत आयोजना नगरी जबर्जस्ती गरेकाले अटेर गरेको बताए । ‘हामी विकासविरोधी होइनौं,’ उनले भने, ‘छलफल गर्ने वातावरण पनि बनाइएन ।’ गुलरिया नगरपालिकाको गृहकार्यको अभावले बजार क्षेत्रको सडक नबन्दा अस्तव्यस्त भएको स्थानीयले गुनासो पोखेका छन् ।


बजार क्षेत्रमा जताततै खाडल बन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको उनले बताए । हुलाकी आयोजना प्रमुख युवराज पोखरेलले गुलरिया नगर क्षेत्रमा मापदण्डविपरीतका संरचना नभत्किँदासम्म काम अघि नबढ्ने बताए ।


ठेकेदार कम्पनी गणपति निर्माण सेवाले वेलवा चोकदेखि मूर्तिहा सीमासम्म करिब १८ किमि सडक निर्माण गरी कालोपत्रे गर्ने सम्झौता गरेको हो । ग्रामीण क्षेत्रमा सात किमि र सहरी क्षेत्रमा १३ मिटर चौडा कालोपत्रे निर्माण हुने सम्झौतामा उल्लेख छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?