कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२१३ वर्षदेखि निरन्तर रथयात्रा

पाल्पा — तानसेनस्थित अमरनारायण मन्दिरको रथयात्रा निकालिएको छ । भीमसेन थापाका बाबु अमरसिंह थापाले १८६३ मा अमरनारायण मन्दिर निर्माण गरेका हुन् । २ सय १३ वर्षदेखि रथयात्रा निकालिंदै आएको छ ।

काठमाडौंको जात्राबाट प्रभावित भएका थापाले नारायणको रथयात्रा सुरु गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कोइरालाले आइतबार पौने ११ बजेको साइतमा रथयात्रा निकालिएको बताए ।


भजनकीर्तन, नेपाली सेनाको ब्यान्ड बाजा, सलामीसहित, टोलविकास संस्था, विद्यालयका विद्यार्थीसमेतको सहभागितामा रथयात्रा गरिएको छ । तानसेनको नारायणस्थान, मखनटोल, पाल्पा दरबार संग्रहालय, शीतलपाटी हुँदै भगवती मन्दिर, वसन्तपुर हुँदै पुनः शीतलपाटीको बाटो भएर टक्सार, लहरेपीपल, ब्यारेक हुँदै नगरपालिका क्षेत्रबाट पुनः अमरनारायण मन्दिरमा रथ लगेर विर्सजन गरिएको छ । रथ यात्रा परम्परागत शैलीमै निकालिएको अध्यक्ष कोइरालाले बताए ।


रथयात्रामा पुजेरीबाट मन्दिरमा रहेको भगवान् गोपालको मूर्ति ल्याएर खटमा राखी विशेष पूजा गरियो । रथ उचाल्दा नेपाली सेनाद्वारा बढाइँ दिने चलन छ । रथ उचालेपछि रथलाई बोकेर तीन पटक मन्दिरको परिक्रमा गराइयो । रथयात्रासँग डमरु बजाउने, चमर पंखा हम्काउने तथा बाजागाजा, भजनमण्डलीसहितको टोलीले बजार परिक्रमा गरे ।


नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए । उनैले अमरनारायण मन्दिर निर्माण गरेका हुन् । विसं १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरेका हुन् ।


इतिहासविज्ञ निर्मल श्रेष्ठले अमरनारायण मन्दिरमा रहेको ताम्रपत्रको अन्तिम हरफमा अमर नारायणको मन्दिर बनाई सिध्याएको उल्लेख भएको बताए । अमरनारायण्को मन्दिर तीन तलाको छ । मन्दिरको तल्लो दुई तला झिंगटीले छाएको छ भने मन्दिरको सबैभन्दा माथिल्लो पित्तल धातुले छाएको छ । सुनको मोलम्बो चढाइएको सुन्दर गजूर छ । स्वप्निल रचनाले सिंगारिएको मन्दिर वास्तुकलाको मनोरम मिलन विन्दु बनेको उनले बताए । मन्दिर तेलिया इट, बज्र र काष्ठले बनेको छ ।


मन्दिरको गर्भगृहमा धातुको लक्ष्मीनारायण मूर्ति छ । गणेश, सिंगमर्मरको हनुमान र गरुडको मूर्ति रहेको छ । कलात्मक झ्यालढोकामा पशुपन्छीका सुन्दर आकृति कुँदिएको छ । बेलबुट्टालगायत ड्रायगनका आकृतिले मन्दिरलाई थप आकर्षक तुल्याएको संस्कृतिका जानकार राजेन्द्रगोपाल सिंहले बताए । दलान भएको भजन गर्ने पौवा र बगलमा पुजारी बस्ने घर छ । यहाँ काष्ठकलाको बेजोड नमुना देख्न पाइन्छ । काष्ठकलाको स्वप्निल रचनामा रति संयोगका दृश्य पनि प्रशस्त छन् । कलात्मक हस्तकलाले सुसज्जित मन्दिरको काठका टुँडालमा विभिन्न देवीदेवता र जनावरका यौनिक चित्र छन् ।


मन्दिर परिसर २५ रोपनी १० आना १ दाम क्षेत्रफलमा समेटिएको छ । मन्दिर परिसरमा ठूलठूला दुईवटा पानी पोखरी, अमरेश्वर महादेव मन्दिर, पोखरीको डिलमा विष्णु पादुका मन्दिर रहेका छन् । काठमाडौं उपत्यकाबाहिर निर्माण गरिएको प्यागोडा (तले शैलीको) अमरनारायण मन्दिर नै हो ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?