कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-अंग्रज युद्धको सम्झनामा विजयोत्सव

माधव अर्याल

पाल्पा — भगवतीको विजयोत्सव रथयात्रा पाल्पामा शुक्रबार मनाइएको छ । यो रथयात्रा पाल्पाली र इस्ट इन्डियाको फौजबीच लडाइँ भएको नुवाकोट–बुटवल क्षेत्रको युद्धमा अंग्रेज फौज पराजित भएको खुसीयालीमा मनाइन्छ ।

नेपाल-अंग्रज युद्धको सम्झनामा विजयोत्सव

पाल्पाली फौजको नेतृत्व कर्णेल उजीरसिंह थापाले गरेका थिए । उनै थापाले युद्धमा जानुअघि तानसेनमा रहेको भगवती देवीको मन्दिर अगाडि अंग्रेज सेनालाई हराउने शक्ति देउ, फर्केर आएपछि तिम्रो सिन्दुर जात्रा गर्दै महिमा फैलाउने छु भनी भाकल गरेको इतिहास जानकार निर्मल श्रेष्ठले बताए । उनको भाकल अनुसार नै नेपाली फौजले अंग्रेजलाई पराजित गरेको थियो । थापाले युद्ध जितेर फर्केपछि तीन तले प्यागोडा शैलीको मन्दिर बनाएर १८७६ देखि सिन्दुर जात्रा चलाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताए ।


इतिहासकार श्रेष्ठका अनुसार कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाइँ भएको थियो । इस्ट इण्डिया कम्पनीको अंग्रेज फौजले आधुनिक हातहतियारसहित नेपालका ५ स्थानबाट आक्रमण गर्‍यो । विक्रम सम्वत् १८७१/७२ को नेपाल–अंग्रेज युद्धमा ४ स्थानमा पराजित भयो । तर, पाल्पाली र इस्ट इण्डियाको फौजबीच लडाइँ भएको नुवाकोट–बुटवल क्षेत्रको युद्धमा भने अंग्रेज फौज पराजित भयो । २ वर्षसम्म चलेको यो युद्धमा नुवाकोटबाट बुटवलतर्फ झरेको पाल्पाली फौजलाई परास्त गर्न चाहन्थ्यो ।


तानसेनस्थित श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा २ सय वर्षदेखि निरन्तर छ । यसवर्ष नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत उपस्थितिले थप गौरव बडाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हरेक भाद्र कृष्णनवमीका दिन तानसेनमा भगवतीको भव्य र हर्षोल्लासका साथ रथयात्रा निकालिँदै आएको छ । भाद्र कृष्ण अष्टमीको सांझ जाग्राम बसेर भजनकीर्तन गर्ने र मध्यरातमा भगवतीको पूजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित ३ पटक मन्दिर घुमाइन्छ ।


रथलाई ३ पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगरपरिक्रमा गराइन्छ । रथलाई मन्दिर परिक्रमा गराई कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन अझै छ । राष्ट्रियताको भाव त्यसबेला दिएकाले अहिले झनै सम्झनायोग्य छ । रथयात्रासँगै र्‍याली तथा झाँकीमा निजामती कर्मचारी, सैनिक, प्रहरी, विद्यालय, स्थानीय टोल विकास संस्था, संघसंस्थाको सहभागिता थियो । मूर्तिलाई रथमा राखेर नगरपरिक्रमा गराउॅदा बजारका बासिन्दाले समेत बली र पूजा दिएका थिए ।

प्रकाशित : भाद्र ७, २०७६ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?