कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य बिमा प्रभावकारी भएन

कपिलवस्तु — जिल्लामा ६ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएका छन् । सरकारल सर्वसुलभ रूपमा न्यून लागतमा सेवा पुर्‍याउन बिमा कार्यक्रम ल्याएको थियो ।

स्वास्थ्य कार्यालयस्थित बिमा एकाइका अनुसार कार्यक्रम लागू भएको १७ महिना अवधीमा यहाँका ३ हजार ४ सय ९६ परिवारले मात्र बिमा गराएका छन् । ती परिवारका ३६ हजार ५ सय १३ जनाको बिमा गरिएको स्वास्थ्य बिमा बोर्डकी दर्ता अधिकारी सुजता महर्जनले बताइन् ।


बिमाबाट २ करोड ५ लाख २६ हजार संकलन भएको छ । ‘सहज र प्रभावकारी उपचार पाइएला भनेर स्वास्थ्य बिमा गराएँ,’ कपिलवस्तु–३ की उपमा पराजुलीले भनिन्, ‘अस्पतालमा पालो पाउनै कठिन छ ।’ पैसा तिरेर उपचार गर्नेको पालो सकिएपछि मात्र बिमा गर्नेको आउँछ ।


रोगले च्यापेर पुग्नेको विजोग देखेपछि आफुलाई चित्त नबुझेको उनले बताइन् । ‘यो प्रभावकारी छैन्’ वाणगंगाका मोहन बेल्बासेले भने, ‘बिमा कार्यक्रम संचालिन अस्पतालमा बोल्नेको कुरा सुनिन्छ, नबोल्नेको केही हुदैन् ।’ बिमा गरेकाहरूको पालै नपाए फर्किको पनि देखेको छु उनले भने । कार्यक्रमलाई पुनरावलोकन गरेर अघि बढाउनु पर्छ ।


‘कार्यक्रम सुरु भएको २ वर्ष नपुग्दै ६ प्रतिशत जनसंख्याले बिमा गराउनु राम्र्रो मान्नु पर्छ’ दर्ता अधिकारी महर्जनले भनिन्, ‘घरघर पुगेर गएर बिमा गराइदैछ ।’ विस्तारै बुझदै थपिने उनले बताईन् । यहाँ सबैभन्दा बढी वाणगंगा नगरपालिकामा ९ हजार १८३ ले बिमा गराएका छन् ।


बुद्धभूमि नगरपालिकामा ५ हजार ८ सय ९४, महाराजगन्ज नगरपालिकामा ४ हजार ४ सय ६६ र कृष्णनगर नगरपालिकामा ४ हजार ४ सय ५४ जनाले स्वास्थ्य बिमा गराएका छन् । यस्तै कपिलवस्तु नगरपालिकामा ३ हजार ९ सय १६, विजयनगर गाँउपालिकामा २ हजार ७ सय १६ र शिवराज नगरपालिकामा २ हजार ८ सय ४६ ले बिमा गराएका छन् ।


शुद्धोदन गाँउपालिकामा १ हजार ५ सय ९६, मायादेबी गाँउपालिकामा ७ सय २४ र यशोधरा गाँउपालिकामा ७ सय १८ जना बिमा गराएका छन् । यहा सेवा लिनकालागि जिल्ला अस्पताल तौलिहवा, पिपरा प्राथमिक स्वास्थ्य चौकी, शिवराज अस्पताल बहादुरगंज, महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्र र मायादेवी स्वास्थ्य चौकीलाई तोकिएको छ । जिल्लामा ९६ बिमा दर्ता सहयोगी परिचालित छन् । वडास्तरमा खटिएका दर्ता सहयोगी मार्फत् स्वास्थ्य बिमा गराउन सकिन्छ ।


सेवा पाउन गाह्रो भए पनि बिमा नविकरण गराउनेको संख्या समेत घटेको छ । बिमाकालागि बार्षिक रुपमा नविकरण गर्नुर् पर्छ । ५ जनाको सगोल परिवारमा बिमा गराउँदा २ हजार ५ सय दर्ता शुल्क तिर्नु पर्छ । नविकरण गर्दा पनि त्यत्तिकै रकम तिर्नु पर्छ । कपिलवस्तु नगरपालिका–६ कि दर्ता सहयोगी संगिता भुसालले आफुले बिमा गराएका ३ सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएको बताइन् ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?