कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेलले बगायो कर्णाली तटबन्ध

बर्दिया — यहाँको राजापुरस्थित कर्णाली नदी छेक्न निर्माण गरिएको तटबन्ध भेलले बगाएको छ । मुर्गहवामा निर्माण भएको तटबन्ध बगाएको हो । तटबन्धका लागि निर्माण गरिएका लन्चिङ, स्पट, स्पर र ड्याम एक वर्ष नबित्दै भासिएपछि एक दर्जनभन्दा बढी गाउँ जोखिममा परेका छन् । 

तटबन्ध भासिन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको राजापुर नगरपालिकाका प्रमुख शिव चौधरीले बताए । कमसल र गुणस्तरहीन काम भएकाले तटबन्ध भासिएको उनको दाबी छ । आयोजनाले आर्थिक वर्ष ०७१/७२ बाट काम सुरु गरेको थियो । अहिलेसम्म १ अर्ब ९० करोड रुपैयाँ लगानी भइसकेको छ । लन्चिङमा बालुवा थुप्रिएपछि नदीको बहाव अन्यत्र मोड्न तटबन्ध निर्माण गरिएको प्राविधिकले बताए ।


अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले गुणस्तरीय काम नभएकाले भेलले तटबन्ध बगाउन थालेको बताए । अहिले कटान रोक्न आयोजनाले उपभोक्तामार्फत बोरामा बालुवा भरेर जोगाउने प्रयास गरिरहेको छ । आयोजनाका निमित्त प्रमुख लेखा अधिकृत खिम केसीले प्राविधिक नभएका कारण जेनतेन आयोजनाको काम थेगिरहेको बताए ।


‘कर्णालीको पश्चिम क्षेत्रमा कटान भइरहेको छ,’ उनले भने, ‘आयोजना प्रमुखलगायत कुनै पनि प्राविधिक नहुँदा काम गर्न गाह्रो छ ।’ वर्षात भइरहेकाले बाढी आउने खतरा छ । आगामी १० वर्षभित्र ४३ किमि लामो तटबन्ध निर्माण गर्ने लक्ष्यसाथ आयोजनाले काम सुरु गरेको छ ।


उपभोक्ता समिति र ठेक्का प्रणालीबाट निर्माणको काम भइरहेको छ । अहिलेसम्म १२ किमि तटबन्ध निर्माण भइसकेको छ । ६ फिट अग्लो स्पट, १५ मिटर लन्चिङ र १४ मिटर चौडाइ भएको तटबन्ध निर्माण जारी छ । कर्णाली नदी आयोजनाको गुरुयोजनाअनुसार यसमा कुल ११ अर्ब रुपैयाँ लगानी रहेको छ ।


यो कर्णाली र यसको भंगालो गेरुवा नदी नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको हो । करिब २ लाख जनसंख्या भएको राजापुर क्षेत्रलाई घेरेको कर्णालीमा ८० र गेरुवा नदीमा २० प्रतिशत पानी बग्ने गर्छ । कर्णाली नदी व्यवस्थापन आयोजना प्रमुख रमेशबन्धु अर्याल काठमाडौं र डीई सुरेन्द्र पौडेलको यसै महिना पोखरा सरुवा भएको छ ।


आयोजनामा कार्यरत चार जना सबइन्जिनियर, एक इन्जिनियरसहित आठ जना कर्मचारीको पनि सरुवा भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले तीन इन्जिनियर र एक चालकलाई १५ लाख रुपैयाँ घूस लिंदै गरेको आरोपमा पक्राउ गरेको करिब तीन साता बित्यो ।


इन्जिनियर विश्वेश्वरप्रसाद साह, कमलप्रसाद सिटौला र हरिप्रसाद चौधरी निलम्बित भएको आयोजनाले जनाएको छ । घूस प्रकरणमा आयोजनाका चालक टंकप्रसाद ओझा पनि पक्राउ परेका थिए ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?