२ करोड बढी बजेट फ्रिज

मनोज पौडेल

कपिलवस्तु — कृषिमन्त्री चक्रपाणि खनालले गृहजिल्ला आउँदा सरकारले कृषि क्षेत्रमा ल्याएको नीति कार्यक्रमले व्यावसायिक फडको मार्ने भन्दै पटक–पटक भाषण गरे । सम्मान थापे ।


तर, उनकै जिल्लामा कृषि क्षेत्रको विकासका लागि आएको २ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । यसले यहाँका कृषक निराश छन् । गत आवमा विनियोजित बजेटमध्ये कामै गर्न नसकी २ करोड १० लाख ५७ हजार रुपैयाँ फ्रिज भएको हो ।

कृषि ज्ञान केन्द्रमा गत आवमा विभिन्न सात कार्यक्रमका लागि ९ करोड ७५ लाख ४६ हजार रुपैयाँ विनियोजन भई आएको थियो । त्यसमध्ये ७ करोड ६४ लाख ८९ हजार रुपैयाँ मात्र खर्च भएको ज्ञान केन्द्रको लेखा शाखाले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको ८६ लाख ३४ हजार रुपैयाँ फ्रिज भएको छ । उक्त कार्यक्रमको ४ करोड २० लाख बजेट थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ५० पकेट र नौ ब्लक रहेको ज्ञान केन्द्रका कृषि अर्थविद् महेन्द्र ओझाले बताए । जसमध्ये चारवटा पकेट र पाँचवटा ब्लक कार्यक्रम लिएकाहरू सम्पर्कमै आएनन् । उसले गर्दा प्रधानमन्त्री कार्यक्रमको बढी रकम फ्रिज भएको उनले बताए । ‘उनीहरूलाई सम्पर्कमा ल्याउनुपर्थ्यो,’ उनले भने, ‘किन आएनन्, त्यसबारे बुझेर थप योजना बनाउनुपर्छ ।’

कृषि विकास कार्यक्रमको ६० लाख, सहकारी स्किम र सहकारी सिँचाइ कार्यक्रमको २७ लाख २५ हजार रुपैयाँ पनि फिर्ता भएको छ । ‘समूह बनाएर एउटा पम्पसेटका लागि धाउँदाधाउँदा थाकें,’ कपिलवस्तु नगरपालिका, सिकटवाका बिल्लु यादवले भने, ‘तर, पाइनँ । कतिलाई अनुनयविनय गरें तर सुनुवाइ गरिएन । अहिले बजेट फिर्ता गएको सुन्दा आश्चर्यमा परेको छु ।’

टाठाबाटा र बिचौलियाको पहुँचले समस्या निम्त्याएको बुद्धभूमि नगरपालिका–१०, देवपुराका अगुवा बह्ररैची केवटले बताए । ‘हामीले सिँचाइका लागि अनेक ठाउँमा योजना पेस गर्दा गर्दै थाक्यौं,’ उनले भने, ‘यहाँ सिँचाइका लागि आएको बजेट फ्रिज भयो ।’ यसले आफूहरूलाई दुःखी बनाएको उनले सुनाए ।

‘कृषि अनुदान पाएका अधिकांश गैरकृषक छन्,’ यशोधरा गाउँपालिका, भडेहरका कृषक हरिराम पाण्डेले भने, ‘अब उनीहरूले लगेको रकम कसरी सदुपयोग हुन्छ ?’ त्यसै गरी, पहुँच र प्रभावमा परेर दिइएको अनुदान धेरै मात्रामा दुरुपयोग भएको
उनले बताए ।

कृषिमन्त्रीको जिल्लामै २ करोड बढी रकम फिर्ता जानु दुःखद भएको नेपाल किसान संघ केन्द्रीय सदस्य चतुर्भुजमणि त्रिपाठीले बताए । ‘७० प्रतिशत बढी जनताको मुख्य पेसा कृषि भएको जिल्लामा कृषिमा आएको रकम खर्च हुन नसक्नु विडम्बना हो,’ उनले भने, ‘वास्तविक किसानले अनुदान पाएका छैनन् । यसभन्दा बढी दुर्भाग्य के हुन सक्छ ?’उनले प्रश्न गरे ।

कृषि कार्यक्रम र अनुदानसमेत पारदर्शी रूपमा वितरण नगरिएको उनले बताए । ‘रकम फ्रिज हुनुमा कार्यालयको कमजोरी छैन,’ कृषि ज्ञान केन्द्र प्रमुख रामचन्द्र अर्यालले भने, ‘आवश्यक प्रक्रिया पूरा गरी बजेट खर्चिएको छ ।’

प्रकाशित : भाद्र ३, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

संग्रहालय नबन्दै आउन थाले पर्यटक

प्रकाश बराल

बागलुङ — शालिग्राम संग्रहालय धमाधम बन्दैछ । संग्रहालय पूरा निर्माण भइनसक्दै आन्तरिक पर्यटक भने बढिरहेका छन् । यसले स्थानीयवासी र निर्माण पक्षमा खुसी थपेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यहाँ निर्माणाधीन शालिग्राम संग्रहालयको भ्रमण गर्दै भने, ‘पर्यटक भित्र्याउने लक्ष्य र कालीगण्डकी सभ्यता देखाउने योजनाबाट प्रभावित भएँ ।’

मन्त्री पण्डितमात्र होइन, जिल्ला आउने विशिष्ट व्यक्तिदेखि आन्तरिक र बाह्य पर्यटकको समेत आकर्षक गन्तव्यका रूपमा यहाँ निर्माणाधीन संग्रहालय स्थापित बन्दै गएको छ । दामोदर कुण्डदेखि मुक्तिनाथ हुँदै त्रिवेणीसम्मका सबै धार्मिक र सांस्कृतिक धरोहरलाई एक सय मिटरमा देखाउने लक्ष्यसाथ संग्रहालय बनिरहेको छ ।

यहींभित्र एक लाख शालिग्राम संग्रह पनि हुनेछ । बागलुङ नगरपालिका–४ कुडुलेफेदीमा निर्माण सुरु भूमिगत शालिग्राम संग्रहालय नबन्दै धेरै पर्यटक आउन थालेका हुन् । यहाँ दैनिक १ सयदेखि २ सयसम्म आउन थालिसकेको विद्याश्रमकी प्रअ शान्ति ज्ञवालीले बताइन् ।

मुक्तिनाथ वेद विद्याश्रमसँगै बनेको रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर, भूमिगत संग्रहालय र कालीगण्डकी सभ्यताले पर्यटक तानेको हो । ‘भव्य मन्दिर बन्दैछ भन्ने सुनेर परिवारसहित घुम्न आयौं’ काठमाडौंका पुष्पमान शाक्यले भने, ‘अभियानलाई सहयोग पनि गर्नुपर्छ ।’ सुरुङमा नदी किनारका सबै दृश्य देख्न पाइनेछ । त्रिशूल आकारको सुरुङ मार्ग र भित्री डेकोरेसनका लागि झन्डै ३ करोड रुपैयाँ खर्च भइसकेको छ । यहाँ १ लाख शालिग्राम व्यवस्थित रूपमा रहनेछन् ।

कालीगण्डकी सभ्यताबारे सुरुङभित्रै बसेर वृत्तचित्र हेर्न पाउने व्यवस्था गरिएको छ । धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा चिनिएकाले यहाँ विद्यालयबाट भ्रमण ल्याउने, सहकारी तथा आमा समूहबाट आउने क्रम पनि बढिरहेको छ । विद्याश्रमका अध्यक्ष ऋषि प्रपन्नाचार्यको अगुवाइमा अन्य संरचना पनि बनेका हुन् । ‘हामीले दानमुठी उठाएर बनाउन लागेकाले ढिला भएको हो,’ उनले भने, ‘माघे संक्रान्तिसम्म सर्वसाधारणका लागि सबै संरचना खुला हुन्छ ।’

झन्डै ६ करोडको लागत अनुमान गरिएको संग्रहालयका लागि दाताको सहयोगमात्र स्रोत हो । योजना पूरा भएमा मासिक १ लाख पर्यटक भित्र्याउन सकिने अनुमान प्रपन्नाचार्यले गरे । ‘मुक्तिनाथ जाने भारतीय पर्यटक अधिकांश यहाँ आउने वातावरण बनाउँदै छौं,’ उनले भने, ‘त्यसबाट स्थानीयले फाइदा कमाउने हो ।’

होटल, रेस्टुरेन्ट र अन्य व्यवसायका लागि पनि बाटो फराकिलो भएको उनले बताए । सुरुङ पूरै बनिसकेको छ । भित्री सजावट र व्यवस्थापनको काममात्र बाँकी छ । यो पूर्वाधार बनिसक्दा भारतीय पर्यटकको बढी आकर्षणको गन्तव्य हुने वडाध्यक्ष ध्रुवबहादुर केसीले बताए । ‘कालीगण्डकी सभ्यताको सिंगो अध्ययन १ घण्टाको बसाइमा गर्न पाउनेछन्,’ उनले भने, ‘भारतीय पर्यटक बढदा देशकै अर्थतन्त्र बलियो बन्नेछ ।’

महत्त्वाकांक्षी र आकर्षक योजना भए पनि सरकारी तहको सहयोगमा चासो भने नपुगेको स्थानीयले बताए । बाहिरी खण्डमा गेट निर्माण भइरहेको छ । सुरुङभित्रै धार्मिक पुस्तकालय, दामोदर कुण्डको डिजाइन्, धौलागिरि र नीलगिरि हिमालसमेत बनाइएको छ । मल्लकालीन डिजाइन र कलात्मक मन्दिरको कारणले यहाँको महत्त्व बढाएको छ । मन्दिरको छाना तामाले छाइएको छ ।

भजनकीर्तनका लागि बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सहदेव राजभण्डारीले झन्डै एक करोड रुपैयाँ खर्चेर सभाहल तथा गरुड शिलासमेत बनाइदिएका छन् । संग्रहालय संसारकै पहिलो र नयाँ हुने दाबी गरिएको छ । यहाँदेखि पदमार्गमार्फत संसारकै अग्लो कलश निर्माण गरिने पञ्चकोट जाने व्यवस्थापनको काम पनि योजनामा समावेश छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्