खाजाले विद्यार्थी नियमित

कान्तिपुर संवाददाता

पाल्पा — आइतबार जाउलो, सोमबार खीर/अन्डा, भुजा, मंगलबार हलुवा, बुधबार अन्डा, चना, बिहीबार भुजा–दालमोट साथै फलफूल । यो हो, रम्भा मावि ताहुँका कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीको खाजा तालिका ।

शुक्रबारबाहेक सातामा पाँच दिन विद्यालयमै खाजा बनाएर खुवाउने गर्छन् । सहायक प्रधानाध्यापक कमल बस्यालका अनुसार दैनिक फरक–फरक शिक्षकलाई खाजा व्यवस्थापनका लागि संयोजक तोकिएको छ । खाजाका लागि शिक्षक र कर्मचारीले सहयोग गर्छन् । ‘खाजा तयारी गर्न खासै समस्या छैन,’ शिक्षक शारदा श्रेष्ठले भनिन्, ‘कहिलेकाहीं खीर खुवाउन दूधको अभाव हुन्छ ।’

रम्भा गाउँपालिका–५, ताहुँस्थित रम्भा माध्यमिक विद्यालयमा गत वैशाखबाट सुरु दिवा खाजा कार्यक्रम यतिबेला प्रभावकारी बनेको छ । परीक्षणका रूपमा तीन महिनाका लागि सुरु गरेको दिवा खाजाले राम्रो प्रभाव देखिएको शिक्षक रजिता थापाले बताइन् । यसका लागि गाउँपालिकाले बजेट व्यवस्थापनमा सहयोग गरेको छ ।

रम्भा गाउँपालिकाको सहयोगमा विद्यार्थी खाजा कार्यक्रम सुरु गरेको विद्यालयले जनाएको छ । ‘हरेक बार फरक खाजा खुवाउँदा विद्यार्थीमा दिउँसो खाजा खाने समयमा घर जाने बानी हटेको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।’

बाल कक्षादेखि कक्षा ५ सम्म २९ बालबालिकाले दैनिक खाजा खान्छन् । सामुदायिक विद्यालयमा विद्यार्थी ल्याउन मुस्किल छ । ल्याए टिकाउन मुस्किल हुने शिक्षक बताउँछन् । बालबालिकाले पनि विद्यालयमा खाजा खान पाएपछि नियमित भएको बताए । अभिभावकले पनि छोराछोरीलाई ढुक्कसँग विद्यालय पठाउन थालेका छन् । दिउँसोको समयमा खाजा खाने व्यवस्था भएपछि बालबालिकालाई विद्यालय पठाउन कुनै समस्या नभएको अभिभावकको प्रतिक्रिया छ ।

आगामी वर्षमा पनि पोषणयुक्त खाजाको व्यवस्था मिलाउने गरी गाउँ कार्यपालिकामा छलफल चलिरहेको गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । उनका अनुसार ताँहुको रम्भा मावि र जनता प्राविमा यसरी खाजा खुवाउने गरिएको छ । अन्य विद्यालयमा पनि यसरी विद्यालयमै खाजा खुवाउन निर्देशन दिएको उनले बताइन् ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार रम्भाका रम्भा माविबाहेक पनि ३५ विद्यालयमा यो कार्यक्रम लागू भएको छ । यसबाट १ हजार ८ सय ४४ विद्यार्थी लाभान्वित भएका छन् । दैनिक प्रतिविद्यार्थी १५ रुपैयाँ खाजा खर्चका लागि छुट्याइएको छ । ‘आवश्यक परेमा रकम थप गर्न पनि तयार छौं,’ उनले भने, ‘तर, खाजाको रकम सदुपयोग हुनुपर्छ । विद्यार्थीले नै खाजा खान पाउनुपर्छ ।’

प्रकाशित : भाद्र २, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

युवा केन्द्रित कार्यक्रम असफल

काशीराम डाँगी

रोल्पा — युवालाई गाउँमै रोक्न उत्तरी रोल्पास्थित परिवर्तन गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । युवा लक्षित कार्यक्रम भए पनि लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । युवा पलायन रोक्न थप कार्यक्रमको खाँचो भएको जनप्रतिनिधिले बताए । 

उक्त गाउँपालिकाका युवालाई गाउँमै रोजगार उपलब्ध गराएर विकास निर्माणका काममा सहभागी गराउने कार्यक्रम बनाइएको छ । कार्यपालिका सदस्यसमेत रहेका परिवर्तन गाउँपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बुढामगरले युवा पलायन रोक्न अघि सारिएको योजनाबाट सन्तुष्ट हुने अवस्था नभएको बताए ।

‘गाउँमा युवा छैनन् । उनीहरू कि विदेश गएका छन् कि सहर छिरेका छन्,’ उनले भने । गाउँपालिकाले ४० लाख बजेट विनियोजन गरेर २० युवालाई स्वरोजगार बनाउन लगानी गरेको थियो । तर, अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको उनले बताए ।

गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले कृषि, जडीबुटी र पर्यटन क्षेत्रको विकास गरेर युवालाई रोजगारयुक्त बनाउने योजना अघि सारिएको बताए । ‘हामीले पन्चवर्षीय योजना बनाएका छौं,’ उनले भने, ‘युवा पलायन रोक्न सके विकास गर्न सजिलो छ ।’ गाउँपालिकास्थित राङकोटमा कृषि तथा वन विज्ञान विषयमा कक्षा ११ र १२ मा पढाइ हुँदै आएको छ ।

युवाले हरेक राजनीतिक गतिविधिमा प्रत्यक्ष सहभागिता देखाएकाले विकास निर्माण र आर्थिक परिवर्तनको क्षेत्रमा पनि युवालाई सहभागी बनाउने गाउँपालिकाको योजना छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकास गरेर युवालाई गाउँमै बस्ने वातावरण सिर्जना गर्नुपर्नेयोजनाको खाँचो देखिएको जनप्रतिनिधिले बताए ।

जनप्रतिनिधिले युवालाई काममा लगाउन मुस्किल देखिएको अनुभव सुनाउँदै आएका छन् । त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले गाउँमा हुने विकास योजनामा युवालाई रोजगारीसँग जोडन समस्या देखिएको बताए । ‘युवाले काम गर्न लाज मानेको देखिन्छ । जुनसुकै काम गर्न युवालाई सहभागी बनाउने हाम्रो योजना छ,’ उनले भने । गाउँपालिकाले युवा लक्षित योजना र सीप वृद्धि कार्यक्रम चलाइरहेको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले युवालाई सिर्जनात्मक कार्यमा लगाउन विभिन्न सीप सिकाउने अभियान थालिएको बताए । ‘युवालाई गाउँमा रोक्न र रोजगारी दिन सकिने योजना बनाउनुपर्ने खाँचो छ । त्यसबारे केही योजना पनि बनाएका छौं,’ उनले भने, ‘कृषि, पशुपालन, शिक्षा, पर्यटन र व्यावसायिक तरकारी खेतीमा लगानी गरेर युवालाई पलायन हुनबाट रोक्ने प्रयास गर्दै आएका छौं ।’

त्रिवेणी गाउँपालिकाले पूर्वाधार योजनामा डोजरको प्रयोगभन्दा युवा परिचालन गर्न सकिने योजना अघि सारेको छ । गाउँपालिकाले पाँच सय युवालाई व्यावसायिक काममा लगाएको छ । अघिल्लो आर्थिक वर्षमा सम्पन्न प्रधानमन्त्री युवा रोजगार कार्यक्रमको सिकाइ स्वरूप त्रिवेणीमा थप युवालाई काम दिलाउन कार्यपालिकाले निर्णय गरेको उपाध्यक्ष सावित्रा बुढामगरले बताइन् । ‘विदेश होइन, युवा गाउँमा बसौं, यतै मिहिनेत गरौं’ भन्ने नारासहित गाउँ केन्द्रित कार्यक्रम अघि सारिएको उनले बताइन् ।

चालू आर्थिक वर्षमा त्रिवेणी गाउँपालिकाले युवा लक्षित कार्यक्रमका लागि करिब एक करोड बजेट खर्च गर्ने योजना अघि सारेको छ । पशुपालन, कृषि र अन्य रोजगारयुक्त कार्यक्रममा आर्थिक सहायता दिन उक्त रकम खर्च गर्ने योजना रहेको वडाध्यक्ष घर्तीमगरले बताए ।

रोल्पा नगरपालिकाले केही वर्षयता युवा लक्षित कार्यक्रम संचालन गर्दै आएको छ । नगर प्रमुख पूर्ण केसीले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै युवालाई तालिमयुक्त बनाउँदै आएको बताए । तर, नगरभित्रका सहर र ग्रामीण भेगमा भिन्नाभिन्नै योजना अघि सार्न माग हुने गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले युवालाई गाउँमै रोजगार दिलाउन र उत्पादनमूलक गतिविधिमा लगाउन स्थानीय तहहरूले साथ दिनुपर्ने बताए ।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले युवा लक्षित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न उनले माग गरे । युवा पलायन रोक्न सरकार असफल भएको धारणा राख्दै जिल्ला युवा सञ्जालका कार्यवाहक अध्यक्ष भरत नेपालीले स्थानीय तहले युवाबारे नीति बनाउँदा समन्वय गर्नु राम्रो हुने बताए ।

एक तथ्यांकअनुसार रोजगार खोज्न विदेश पुगेका युवाको संख्या करिब ८० लाख छ । रोल्पाका करिब २५ हजार युवा वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । निकै वर्षदेखि युवाहरू काम खोज्न विदेश पलायन भइरहेकाले सरकार त्यसबारे गम्भीर हुन आवश्यक भएको जिल्ला समन्वय समिति प्रमुख बुढामगरले बताए ।

श्रम मन्त्रालयको तथ्यांकअनुसार करिब १ हजार ७ सय युवा दैनिक पलायन हुने गरेका छन् । विदेशमा सुरक्षित काम नपाउँदा थुप्रै युवाले जोखिम मोलेर काम गर्ने गरेका छन् । दैनिक पाँच जना युवाले विदेशमा मृत्युवरण गर्छन् र उनीहरूको शव नेपाल ल्याइने गरेको छ ।

प्रकाशित : भाद्र २, २०७६ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्