कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोब्बरभन्दा बढी राजस्व संकलन

रुकुम पूर्व — गत आर्थिक वर्ष ०७५/७६ मा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । तीन स्थानीय तह रहेको जिल्लाका भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले लक्ष्य नै भेट्टाउन सकेनन् । ३६ लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको सिस्नेले ७५ लाख ६ हजार ६ सय ७४ रुपैयाँ राजस्व संकलन गरेको हो । 

गाउँपालिका कार्यालय, वडा कार्यालय, मालपोत, अन्य सेवा तथा सिफारिस दस्तुरबापत राजस्व संकलन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबैभन्दा बढी गाउँपालिका कार्यालयबाटै ३७ लाख ५ हजार ८० रुपैयाँ राजस्व संकलन गरेको छ ।


४५ लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भूमेले ४३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पुथाउत्तरगंगाले गत आर्थिक वर्षमा १ करोड ८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । उसले ४५ लाख रुपैयाँमात्रै राजस्व संकलन गर्न सफल भएको छ ।


राजस्वको उपयुक्त स्रोत नहुँदा लक्ष्यसम्म पुग्न नसकेको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिं श्रेष्ठले बताए । सेवा शुल्क, मालपोत कर, सिफारिस दस्तुर र अन्य प्रशासनिक सेवा शुल्क यहाँको राजस्वको मूल स्रोत भएको श्रेष्ठले बताए । ‘विगतको तुलनामा यो उल्लेख्य भए पनि पर्याप्त भने होइन,’ उनले भने, ‘संस्थागत क्षमता विकास, कर प्रणालीमा सुधार, अनुगमन तथा नियमनका क्षेत्रमा सुधार र करका क्षेत्र पहिचान गर्न सके यसमा सुधार आउन सक्छ ।’ जडीबुटी, ढुंगा, गिट्टी र बालुवाको स्रोत न्यून रहेको, व्यापार व्यवसाय कम भएकाले पनि भनेजति राजस्व संकलन हुन नसकेको उनले बताए ।


पुथाउत्तरगंगा गाउँपालिकाले भने एउटै कारणले लक्ष्यअनुसारको राजस्व संकलन नभएको जनाएको छ । गाउँपालिका केही ठाउँमा पाइने बहुमूल्य जडीबुटी यार्चाको राजस्व नउठदा लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढा क्षत्रीले बताए । सम्बन्धित क्षेत्रका स्थानीयका कारण यार्चाको राजस्व गाउँपालिकामा नआएको उनको भनाइ छ ।


चालु आर्थिक वर्षमा सिस्नेले राजस्वको लक्ष्य बढाएको छ । सिस्ने गाउँपालिकाले चालु आर्थिक वर्षमा ७८ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।


सिस्ने गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले राजस्व संकलनको दायरा र स्रोत बढदै गएकाले चालु आर्थिक वर्षमा राजस्व बढी संकलन हुने विश्वाससहित लक्ष्य बढाइएको बताइन् । काम गर्दै गर्दा काम र काम गर्ने प्रणालीमा सुधार आएकाले राजस्व बढ्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?