बँदेलले गाउँलेको उठिबास

वीरेन्द्र केसी

अर्घाखाँची — शीतगंगा नगरपालिका–९, लौरीकी अञ्जु पल्लीको बारीका आधाजसो मकै बँदेलले खाइदियो । बाँकी रहेका घोघा भाँचेर घरमा ल्याइन् । घरको दलानमा मकै राखेर छिमेकीकहाँ के गएकी थिइन्, सबै मकै बँदेल पसेर खाइदियो ।

‘यस्तो हालत भएपछि कसरी, के खाएर बाँच्ने ?,’ उनले भनिन्, ‘दुःखजति सबै जंगली जनावरलाई भयो ।’ पाँच वर्षअघिसम्म यस गाउँमा बँदेल देखा परेको थिएन । अहिले त ठूलो बगाल नै छ । मकै जोगाउनै सकिँदैन ।

पाकुरीका कमानसिंह सारुले १० रोपनी बारीमा मकै खेती गर्छन् । परिवारलाई वर्षदिन खान पुगेर दुई/चार मुरी बेच्थे । मकै बेचेको पैसाले नुनतेल र चामल किन्थे । अहिले ६ महिनालाई पनि खान पुग्दैन । हिउँदे मकै पनि रोप्छन् । तर, बँदेलले मकै बारी सबै सोत्र्यान पारिदिन्छ ।

बारीमा बिस्तरासहितको खाट राखेका छन् । त्यहीं बसेर हातमा लाठी लिई होहल्ला गर्छन् । बँदेलले मान्छेलाई एक्लै भेट्टाए उल्टै आक्रमण गरेर घाइते बनाइदिने उनले बताए । ‘बँदेलले एकैपटक दाँत गाडेर टोक्यो भने मान्छेलाई ठहरै पारिदिन्छ,’ उनले भने । बारीमा घरपरिवारबीच आलोपालो गरेर चौकीदारी बस्नुपर्छ । महिला रातीमा बस्न सक्दैनन् । ‘यसरी कति दिन गाउँमा टिक्ने खै ? अब त बसाइँ सर्नुपर्छ कि भन्ने सोचमाछु,’ उनले भने ।

पाकुरीकै हुटबहादुर पल्ली गत फागुनमा तराई बसाइँ सरे । गाउँमा खेती गरेर ६ महिनालाई पुग्थ्यो । बाँकी खर्च सिकर्मी गरेर कमाउँथे । ‘दिनभरि सिकर्मी काम गर्दा थकित भइएको हुन्छ, त्यसमाथि रातभरि बारीमा चौकीदारी गरेर मकै, गहुँबाली जोगाउन सकिएन,’ उनले भने, ‘त्यसैले गाउँछाडन बाध्य भएँ ।’

साबिकको सिद्धारा गाविस अहिले शीतगंगा नगरपालिकाको ९, १० र ११ वडा भएका छन् । तीनवटै वडामा बस्तीनजिक घनघोर झाडी जंगल छ । दिनभर जंगलमा लुक्ने र रातभर बारीमा अन्नबाली खान बँदेललाई सहज भएको छ । जंगलबाट बँदेल लखेट्न सम्भव छैन ।

‘अब बारीमा मकै छर्नु बेकार छ,’ सिद्धारा, हर्रेका अगुवा किसान माधव पौडेलले भने, ‘दिउँसो बाँदर, चराचुरुंगी र रातिमा बँदेलबाट जोगाउन २४ सै घण्टा चौकीदारी बस्नुपर्छ । कृषि गरी खान वन्यवन्तुबाट सम्भव छैन ।’ उनी पनि तराई बसाइँ सरे । हर्रेको खेतीयोग्य जमिन र घर यत्तिकै छाडेर गाउँ छाडे । सिद्धारावासीको मुख्य पेसा कृषि र आम्दानीको स्रोत वैदेशिक रोजगारी हो । जंगल भएकाले बर्सेनि भालुको आक्रमणबाट स्थानीय घाइते हुन्छन् । चितुवाको पनि यस्तै डर छ ।

शीतगंगा नगरपालिका–१० का ३ सय घरधुरीले बारीमा मकै खेती गरेका छन् । यहाँको सयौं रोपनी बारीको मकै खेती बँदेलले सखाप पारिदिएको वडाध्यक्ष हिम्मत पोखरेलले बताए । ‘बारीमा पसेर एउटा मकैको बोट तीन/चार ठाउँबाट भाँचेर टुक्राटुक्रा पारिदिन्छ,’ उनले भने, ‘कृषिमन्त्रीको जमिन बाँझो नराख्ने उद्घोषलाई सार्थक बनाउन मकैको बीउ बाँडेर कृषकलाई खेती गर्न प्रेरित गरें, अहिले किसानले उल्टै क्षतिपूर्ति भराइदे भनेर गुनासो गर्न आएका छन् ।’

समस्याको उपाय नखोज्ने हो भने बसाइँसराइले सिंगो बस्ती रित्तिने खतरा बढेको उनले बताए । अन्नखेती हुने खेतबारीमा वैकल्पिक उपाय खोज्न अध्ययन गरिरहेको वडाध्यक्ष पोखरेलले सुनाए । तीनवटै वडाको तथ्यांकअनुसार वर्षमा १० देखि २० घरपरिवारले बस्ती छाडेका छन् ।

पहिले अन्न उब्जनी राम्रो हुने र पशुपालनका लागि प्रशस्त घाँस भएकाले अन्य गाउँबाट बसाइँ सरेर सिद्धारा आउँथे । ‘अन्य गाउँबाट अन्न किन्न यहाँ आउनेको भीड नै लाग्थ्यो,’ स्थानीय ८० वर्षीय ऐनबहादुर आलेले भने, ‘अहिले सिद्धारावासीलाई खान नपुगेर बस्ती नै छाडनुपर्ने स्थिति आइलाग्यो ।’

अहिले मकै, कोदो, फापर, गहुँ, जौ, तोरी, आलु, पिडालु बँदेलबाट जोगाएर घर भित्र्याउन मुस्किल परेको उनले सुनाए । बँदेललाई मार्न पाइँदैन । शीतगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारीले वन्यजन्तुले उठिबास नै लगाउन थालेपछि वैकल्पिक खेती गर्ने उपायतिर लागिएको बताए ।

वडा ११ का केही कृषकले बँदेल छेक्न बारीमा तारजाली लगाएका छन् ।उफ्रेर छिर्न सक्दैन ।बारीको बीचमा जंगल र छरिएर रहेको बारीमा एकैपटक सबैतिर तारजाली लगाउन सम्भव छैन । खर्च धेरै हुन्छ । ‘बँदेलले साह्रै पीडित बनायो,’ दुम्सी आधारभूत विद्यालयका शिक्षक रुमबहादुर पल्लीले भने, ‘गाउँ छाडेर यत्तिकै कहाँ जानू ? बारीलाई छेकबार गर्न बार लगाएपछि केही अन्नपात जोगिएको छ ।’

प्रकाशित : श्रावण २७, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

निरन्तरको मिहिनेतले अब्बल

गिरुप्रसाद भण्डारी

प्यूठान — शिक्षक, विद्यार्थी, अभिभावकको निरन्तरको मिहिनेतले नौबहिनी गाउँपालिका–८, फोप्लीको लुप्लुङ माध्यमिक विद्यालय जिल्लामै अब्बल बन्दै गएको छ । ०६५ सालमा मावि स्थापना भएयता निरन्तर अब्बल बन्दै आएको हो ।

शिक्षक, व्यवस्थापन समिति, अभिभावकको निरन्तर मिहिनेतले गर्दा विद्यालय अब्बल बन्दै गएको प्रधानाध्यापक वसन्त भण्डारीले बताए । ‘गाउँपालिकाले विद्यालयलाई नमुना विद्यालय छनोट गरेको छ,’ उनले भने, ‘यसले विद्यालय परिवारलाई थप हौसला मिलेको छ ।’

नमुना विद्यालय छनोट गरेपछि गाउँपालिकाले शैक्षिक सुधारका लागि वार्षिक एक लाख रुपैयाँ प्रदान गर्दै आएको छ । कक्षा ८ देखि बिहान–बेलुका अतिरिक्त कक्षा संचालन हुँदै आएको छ । ‘सबै विद्यार्थी घरपायकका छन्,’ प्रधानाध्यापक भण्डारीले भने, ‘यसले गर्दा अतिरिक्त कक्षा र परीक्षा चलाउन पनि सहज भएको छ ।’ हरेक तीन महिनामा संचालन हुने अतिरिक्त परीक्षा र अन्तिम परीक्षाको रिजल्टका आधारमा विद्यार्थीको पोजिसन मापन गरिन्छ । यसले गर्दा विद्यार्थीमा प्रतिस्पर्धा बढेको छ ।

विभिन्न क्षेत्रबाट स्रोत जुटाएर विद्यालयलाई प्रविधियुक्त बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीले बताए । विद्यालयमा सीसी क्यामरा, इन्टरनेट, कम्प्युटरको व्यवस्था गरिएको छ । सिसी क्यामरा जडानपछि कक्षा कोठामा शिक्षक पुगे/पुगेनन् भनेर निगरानी गर्न सहज भएको छ । परेका बेला मल्टिमिडियाबाट पनि पढाइ गरिन्छ । गाउँको माझमा विद्यालय, धेरै शिक्षक स्थानीय र विद्यालय राम्रो बनाउने कुरामा गाउँले सबैको एकमत रहेकाले विद्यालय अब्बल बन्दै गएको प्रधानाध्यापक भण्डारीले बताए ।

सामुदायिक वनको आम्दानी र अन्य स्रोतबाट हुने आम्दानी विद्यालय सुधारमै खर्च गरिएको छ । गाउँले सबैको आग्रहमा स्थानीय सामुदायिक वनबाट चुनढुंगा उत्खनन गर्ने शुभश्री अग्नि सिमेन्टले विद्यालय सुधार गर्न पटक–पटक गरी १२ लाख रुपैयाँ सहयोग गरेको छ । विद्यालयमा कक्षा १ देखि १० सम्म ४ सय ४५ विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

१६ जना शिक्षकमध्ये ७ जना स्थानीय शिक्षक रहेका छन् । यस विद्यालयबाट नेपाल सरकारको छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुल काठमाडौंमा एक जना र र बूढानीलकण्ठको साझेदारीमा जनता नमुना मावि पाल्पामा पाँच जना विद्यार्थी प्रतिस्पर्धामा छनोट भएर अध्ययन गर्न गएको विद्यालयले जनाएको छ ।

लुप्लुङ माविलाई पालिकाले एक नम्बरको विद्यालय बनाउन सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शिव रिजालले बताए । कक्षा ५, ८ र एसईईमा विद्यालय पहिलो भएकाले विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिलाई हालै सम्पन्न पाँचौं गाउँसभामा सम्मान गरेको रिजालले बताए । लुप्लुङ मावि नौबहिनीको नमुना विद्यालय बनेकाले पालिका स्तरका अन्य विद्यालयलाई लुप्लुङ माविको सिको गर्न लगाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए ।

लुप्लुङ मावि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गत वर्ष जिल्लाको सामुदायिक विद्यालयमा दोस्रो भयो । यस वर्ष पहिलो भएको छ । सामुदायिक तर्फ जिल्लामै उत्कृष्ट ठहरिएको छ । यस वर्ष २१ जना विद्यार्थी एसईईमा सहभागी भएकामा एक जनाले ए प्लस, सात जनाले बी प्लस, दस जनाले बी र तीन जनाले सी प्लस ल्याए ।

कक्षा ५ र ८ को परीक्षामा पनि विद्यालय पालिकास्तरमा तीन वर्षदेखि निरन्तर पहिलो हुँदै आएको छ । जिल्लामा यस वर्ष ६४ सामुदायिक मावि एसईईमा सहभागी भएका थिए । त्यसमध्ये लुप्लुङ मावि २ दशमलव ७५ जीपीए ल्याएर सर्वोत्कृष्ट भएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शिव पण्डितले बताए । ‘गत वर्ष दोस्रो भएको विद्यालय यस वर्ष सामुदायिक तर्फ पहिलो बनेको छ,’ उनले भने, ‘विद्यालयले प्रगति गर्दैछ ।’

प्रकाशित : श्रावण २७, २०७६ ०९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्