कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषध सेवनले पछुतो

सन्जु पौडेल

काठमाडौँ — जे नगर भन्यो, त्यसैमा ध्यान जान्थ्यो । बुबा जागिरे भएकाले घुलमिल हुने अवसर कमै पाउँथे । सहयोगीको रेखदेखमा हुर्किएका रूपन्देहीका विवेक शर्मा (वास्तविक नाम परिवर्तन) साथीहरूसित रमाउन थाले । कक्षा ६ अध्ययन गर्ने बेलामै धुम्रपान सुरु गरे ।

९ कक्षाबाट लागूपदार्थ सेवनको लतमा परे । ‘सुरुमा सिनियर दाइहरूले चखाए,’ उनले भने, ‘बानी परेपछि नभई नहुने हुन थाल्यो ।’

साथीभाइको उक्साहट र वाहवाहीले लागूपदार्थमा ध्यान केन्द्रित गरेको उनले बताए । दिनहुँ पैसा चाहिने, नपाए चोरी गर्न थाले ।


पैसाका लागि धेरै जना नजिकिन थाले । लागूपदार्थ सेवन गलत भएको महसुस गरेर उनीहरूबाट टाढिन खोजे । ‘सुरु गरिसकेपछि समूहबाट अलग्गिन गाह्रो रहेछ,’ उनले भने, ‘चाहेर पनि उम्किन नसक्ने भएँ ।’ यस्तो लतले घरपरिवार, समाज र साथीभाइबाट टाढिंदै गए । आफ्नै दुनियाँमा रमाउने, दिनैपिच्छे लागूऔषध सेवनमा बिताउन थाले ।


टेबलटेनिस राम्रो खेल्थे । त्यो पनि छाडेको उनले बताए । विद्यालयबाट निष्कासन भोग्नुपर्‍यो । बल्लतल्ल १२ कक्षासम्म उत्तीर्ण गरेको उनले बताए । त्यसपछि स्नातक पढ्न काठमाडौं गए । कुलतबाट टाढिन सकेनन् । परिवारबाट दूरी बढ्न थाल्यो । समाजले पनि राम्रो व्यवहार गरेन । आफू एक्लिएको महसुस गरे पनि उनी लागूपदार्थ छोडन भने सक्दैनथे । हातमा टयाटु खोपेका विवेकले प्रेमिका पनि भेटे । अति माया गर्ने । ‘सम्बन्ध राम्रै थियो,’ उनले भने, ‘मेरो नशा सेवन गर्ने बानी छुटाउन कोसिस गर्दागर्दै नसकेपछि माया नै मारिन् ।’


उमेर बढ्दै गयो । बुबाआमालाई पीडा हुन थाल्यो । यसबाट मुक्त गर्न सकिन्छ कि भनेर अभिभावकले काठमाडौंबाट विवेकलाई बोलाएर सुधार केन्द्रमा राखे । सुधार केन्द्रमा भर्ना भएपछि जीवनले नयाँ मोड लिइरहेको छ । उनी त्यहाँ बस्न थालेको एक वर्ष भयो । लागूपदार्थ सेवन अहिले चटक्कै छाडे । सुधारका विभिन्न चरण पार गरेको उनी बताउँछन् । ‘यहाँबाट बाहिर बसे फेरि पुरानै लतमा परिन्छ कि भन्ने डर लाग्छ,’ उनले भने, ‘परिवार र समाजसित ममा आएको परिवर्तन देखाउन डर लाग्छ ।’


अहिले सुधार गृहमा आउने नयाँ सदस्यलाई विवेक अनुभव सुनाउँदै सकारात्मक बाटोमा अग्रसर गराइरहेका छन् । घर आउने/जाने, त्यहीँ बस्ने काममा सघाउँदै आएका छन् । परिवारका अगाडि बसेर गफ गर्ने आत्मविश्वास अझै पलाइनसकेको उनले बताए । हाँसेर बोल्छन् । सही बाटोमा अडिग रहन र समाजमा पुनःस्थापित हुन केही समय लाग्ने उनले बताए । त्यसका लागि प्रयास गरिरहने उनले सुनाए । १० वर्ष वैदेशिक रोजगारीमा बिताएका कमल राना (नाम परिवर्तन) अहिले ठेक्कापट्टाको काम गर्छन् ।


उनी पनि पूर्वदुर्व्यसनी हुन् । विद्यालय उमेरमै लुकेर धूमपान र सुर्तीजन्य पदार्थ सेवन गर्न थाले । त्यसपछि लागू औषधको लत बस्यो । आधा जीवन नशामा रुमल्लिएर बिताए । ‘परिवार, साथीभाइ र नातागोता सबैको मायाबाट वञ्चित गरायो,’ ३७ वर्षीयले उनले भने, ‘तिरस्कृत भएपछि अझ बढी सेवन गर्न थालेँ ।’ मलेसियामा रहँदा उनले बढी सेवन गरेको बताए । सजिलै उपलब्ध हुने भएकाले बिदाको दिन बिहानदेखि साँझसम्म नशामा रहने गरेको उनले सुनाए ।


राना पाँच वर्ष मलेसिया बसे । त्यसपछि कुवेत र दुबई गए । त्यहाँ पनि नशाले छाडेन । विदेशबाट फर्केपछि गाउँका साथीभाइले सम्झाएर सुधारगृह पठाए । चारैतिरबाट लज्जित महसुस गर्दै सुधार गृह प्रवेश गरे । अहिले सुधार आएको छ । ‘अहिले परिवारले दिएको माया, साथीभाइले गर्ने व्यवहारले प्रेरणा मिलेको छ,’ उनले भने, ‘सही बाटोमा हिंड्ने र केही राम्रो काम गर्ने सोच आएको छ ।’ त्यसका लागि बाहिर जाँदा फेरि नशामा फस्ने डरले सुधारगृहमै बसिरहेको उनले बताए ।


उनले सुधार गृहले आफूलाई धेरै राम्रो गरेको र लागूपदार्थ सेवन गर्ने भाइबहिनीलाई गलत बाटो हो भनेर सल्लाह दिने गरेको उनले बताए । काममा व्यस्त हुन थालेपछि त्यसको ध्यान उनको मस्तिष्कमा आउन छोडेको उनले सुनाए । पछिल्लो समय साथीको संगत र देखावटीका लागि लागूपदार्थ सेवनकर्ता बढिरहेका छन् । युवामाझ फेसनसरह छ ।


विभिन्न समस्यामा परेर तनावबाट छुटकारा पाउन धेरैले लागूऔषध सेवन गरिरहेको कृपा समूहका कार्यक्रम संयोजक अमृत गुरुङले बताए । ‘कोही बढी सेवनले मानसिक तनावमा पर्छन्,’ उनले भने, ‘बानी परेका व्यक्तिले खान नपाएमा तनाव लिन्छ र आत्तिन्छ ।’ उनले व्यवहारमा अलि जिद्दी स्वभावका व्यक्ति यो बाटोमा आउने सम्भावना बढी हुने बताए । अभिभावकले समय नदिनु, छोराछोरीका बारे बुझ्न, जानकारी लिन, उनीहरूका कुरा सुन्न त्यति चासो नदिँदा पनि यस्तो समस्या आउन सक्ने बताए ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?