‘सर्प दिवस’ मनाउन माग

कान्तिपुर संवाददाता

पाल्पा — प्रदेश ५ र गण्डकी प्रदेश छुटयाउने कालीगण्डकी तीरमा ‘सर्पको धार्मिक एवं वैज्ञानिक महत्त्व’ विषयक तीनदिने राष्ट्रिय कार्यशाला सोमबार सम्पन्न भएको छ । कार्यशालाले नाग पन्चमीलाई ‘सर्प दिवस’का रूपमा मनाउन सरकारसँग माग गरेको छ ।

‘सर्प बचाऊँ र सर्पबाट बचौं’ अभियान सञ्चालन गर्दै आएका धार्मिक गुरु चैतन्य कृष्णले नागपञ्चमीलाई अन्तर्राष्ट्रिय सर्प दिवसका रूपमा मनाउनुपर्ने बताए ।

‘अब जुलाई २६ लाई होइन, साउन शुक्लपञ्चमीलाई सर्प दिवसका रूपमा मान्यता दिनुपर्छ,’ उनले भने, ‘यसका लागि सरकारसँग यो कार्यशालाले जोडदार माग गरेको छ ।’ नेपालमा ८२ प्रजातिका सर्प फेला परेको उनले बताए । त्यसमध्ये २२ प्रजातिका सर्प विषालु छन् । करेत, कोब्रा, भाइपर प्रजातिका सर्प बढी विषालु हुने सर्पविज्ञहरूले जनाए । विश्वमा भने तीन हजारभन्दा बढी प्रजातिका सर्प रहेका छन् ।

कार्यशालामा मुलुकभरका ५० भन्दा बढी सर्प अभियानकर्मीको सहभागिता थियो । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, उत्तरवाहिनी क्षेत्रले आयोजना गरेको कार्यशालालाई स्याङजाको गल्याङ नगरपालिका, पाल्पाको रम्भा गाउँपालिका, चितवनको कृषि तथा वन विश्वविद्यालयका साथै देवघाट क्षेत्र विकास समितिले सघाएका थिए ।

सर्पले वातावरण सन्तुलन कायम राख्छ । सर्प पछिल्लो समय लोप हुँदै गएको छ । अभियानकर्मीका अनुसार सर्पको धार्मिक एवं वैज्ञानिक महत्त्व रहेको बताए । गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले बढो सहरीकरण र मानिसको नकारात्मक सोचका कारण सर्प लोप भएको बताए ।

‘सर्पलाई बचाउने र त्यसबाट बच्न पनि पर्छ,’ उनले भने, ‘यसलाई मार्न पर्छ भन्ने मानसिकताका कारण धेरै सर्प लोप हुँदै गएका छन् ।’ मन्त्री लम्सालले ऋषिमुनिहरूले सर्प संरक्षण गर्न नागपञ्चमी पर्व मनाउन थालेकाले अहिले पनि त्यही प्रक्रिया चलेको बताए । सर्पलाई समस्याका रूपमा लिनुभन्दा पनि प्रकृतिको संरक्षक हो भन्ने बुझ्न उनले आग्रह गरे ।

अभियानकर्मीका अनुसार सर्प आफैंले कहिल्यै डस्दैन । गोष्ठीमा सर्प विशेषज्ञ डा. देवप्रकाश पाण्डेले अधिकांश सर्प विषालु नहुने बताए । ‘विषालु सर्पले टोक्दा पनि अचानक मृत्यु हुँदैन,’ उनले भने, ‘यसलाई असावधानी अपनाए मात्र मृत्यु हुने हो ।’ उनले प्रकृति र यहाँका जीवजन्तुलाई पनि उत्तिकै माया गर्नुपर्नेमा जोड दिए ।

सर्पको पूजा गर्नु वैज्ञानिक महत्त्व रहेको उनले बताए । सर्प बचाऊ अभियानका अभियन्ता डा. प्रमोद ढकालले सर्पले इकोलोजिकल सिस्टममा सहयोग पुर्‍याउने बताए ।

सर्प देख्नेबित्तिकै नआत्तिन उनले आग्रह गरे । ‘भाग्ने, मार्ने होइन,’ उनले भने, ‘सर्प आफ्नै जीवनयापनका लागि हिंडडुल गरेको हुन्छ र यसले केही गर्दैन ।’ भेरी अस्पताल नेपालगन्जका डा. कृष्णप्रसाद आचार्यले सर्पको खानेकुरा र वासस्थानसँग मानिस जुध्न लाग्दा ठोक्किन आइपुगेको बताए । आफ्नै तालमा हिंडेको सर्पलाई केही नगर्ने हो भने आफ्नो बाटो लाग्ने उनले सुनाए ।

सर्पबाट जोगिन झुल लगाएर सुत्ने, अँध्यारामा लाइट बालेर हिंड्ने, प्वालमा हात नहाल्न उनको सुझाव छ । उनले सर्पले टोके पनि नआत्तिन आग्रह गरे । उनले ८० प्रतिशत सर्प विषालु नहुने भएकाले सर्पले टोक्नेबित्तिकै आत्तिनु जरुरी नहुने बताए । ‘उपचार सम्भव छ भन्ने बुझाउन पनि नसकिएको अवस्था हो,’ उनले भने, ‘सर्पले टोक्नेबित्तिकै मानिस मर्छ भन्ने गलत धारणा रहेकाले पनि समस्या देखिएको छ ।’

प्रकाशित : श्रावण २१, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले गाडी सञ्चालनमा बाधा

कान्तिपुर संवाददाता

रुकुम पूर्व — सिस्ने गाउँपालिकाको रुकुमकोटसम्म दाङको घोराही र तुलसीपुरबाट साना गाडी चल्छन् । मध्यपहाडी लोकमार्गको स्तरोन्नतिको काम भइरहेकाले गाडी रुकुमकोट पुग्न थालेका हुन् ।

पछिल्लो समय दैनिक रूपमा घोराही तथा तुलसीपुरबाट छुटेका गाडी गन्तव्यमा पुग्न सकेका छैनन् । पहिरोका कारण गन्तव्य अनिश्चित बनेको छ ।

सडकको अवस्था राम्रो भए पनि पहिरोले अवरोध पुग्ने गरेको स्थानीयले बताए । ‘वर्षामा पनि सडक ठिकै छ,’ गाडी चालक रमेश क्षत्रीले भने, ‘बीचबीचमा झर्ने पहिरोले भने गन्तव्यमा पुग्न सकिँदैन ।’ यसअघि हिउँदमा समेत दाङ–रुकुमकोट गाडी सञ्चालन भएका थिएनन् । मध्यपहाडी मार्ग स्तरोन्नतिको काम भइरहेकाले सडक सजिलो बनेपछि गाडी चलाउन थालेको चालक क्षत्रीले बताए । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको रिनदहसम्म सडक कालोपत्रे भइसकेको छ । त्यसभन्दा यताको स्तरोन्नतिको काम चलिरहेको छ । यसबीचमा पर्ने दुईवटा खोलामा पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् ।

‘सडक स्तरोन्नतिको काम चलिरहेको छ,’ यात्रु लालबहादुर बीसीले भने, ‘पहिरोले गन्तव्य अनिश्चित बनेको छ ।’ रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा पर्ने घोरखानी खोलामा पुल र रुकुम पूर्व सिस्ने गाउँपालिकाको सांग्रेखोलामा पुल बनेपछि गाडी सुचारु भएका थिए । रुकुम पूर्व प्रवेश गरेपछि बढी समस्या बेहोर्नुपरेको यात्रु बीसीले बताए ।

‘पानी नपरोस् भनेर कामना गर्दै यात्रा गर्नुपर्छ,’ स्थानीय सुशीला पुन मगरले भनिन्, ‘वर्षा न हो, हाम्रो कामनाले मात्रै के काम गर्छ र !’ अघिल्लो वर्षको जति समस्या नपरे पनि समस्या हुन नछाडेको उनले बताइन् । पहिरो झरेकै ठाउँमा डोजर/स्काभेटर राखेर चलाउँदा कम समस्या बेहोर्नुपर्ने उनको भनाइ छ ।

पानी पर्ने अवस्था देखिए रुकुमकोट पुगेका गाडी पनि फर्काएर किटेनी ल्याउनुपर्ने बाध्यता छ । कालिका प्यासाफिक जेभीले सडक स्तरोन्नतिको काम गरिरहेको छ । पहिरोकै कारण रुकुमकोटदेखि भूमे तथा पुथाउत्तरगंगा जान पनि समस्या छ । सिस्ने र भूमे गाउँपालिकाको सीमामा रहेको रुकुमगाड खोलामा पुल निर्माण नभएपछि सवारी साधन वारिका वारि र पारिका पारि नै रहेका छन् । यात्रु भने खोला तरेर अर्को गाडी फेर्नुपर्ने बाध्यतामा छन् ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्