कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्ली–बुटवल बसमार्फत तस्करी

कान्तिपुर संवाददाता

भैरहवा — दिल्ली–बुटवल चल्ने यात्रुवाहक बसबाट तस्करी गरी नेपाल भित्र्याइएको ठूलो परिमाणको कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल ३८ नम्बर गुल्म राजस्व भन्सार सुरक्षा भैरहवाले शुक्रबार बरामद गरेको कपडाको मूल्य साढे ६ लाख रुपैयाँभन्दा धेरै रहेको अनुमान छ । 

दिल्लीबाट बुटवल आउँदै गरेको लु१ख ६६४९ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्दा बसको सिटमुनि फल्स बटममा लुकाएर ल्याइएको कपडा बरामद भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर खातीले बताए । कपडासँगै बस चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगाका ३६ वर्षीय राजु सुनार र सोही ठाउँकै सहचालक २५ वर्षीय यमबहादुर सुनारलाई पक्राउ गरिएको छ ।


‘बस चालकको सिटनजिकै नटबोल्टको प्रयोग गरी सामान लुकाउनका लागि फल्सबटम बनाएर कपडा लुकाउने गरिएको पाइयो,’ उनले भने, ‘यसअघि पनि धेरैपटक दिल्लीदेखि नेपालमा चल्ने गरेका यात्रुवाहक बसबाट तस्करी गर्ने गरेको पाइएको थियो ।’ यस रुटमा चल्ने गरेका बसबाट जतिपटक सामान बरामद गरे पनि तस्करी नरोकिएको उनले बताए ।


बसबाट टप्स ४ सय ९२, लेडिज सुट ३ सय ४३, ट्राउजर ७०, चुन्नी ५८, लेहंगा ३७, साडी ३६, ब्रा २४, पार्टी ब्लाउज २० र ब्रा–पेन्टी सेट ९ पिस पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुल्मले तस्करीमा प्रयोग गरिएको भन्दै २५ लाख रुपैयाँ मूल्य कायम गरी बससमेत बरामद कपडासँगै भैरहवा भन्सार चलान गरेको छ ।


गत पुस महिनामा पनि भन्सार क्षेत्रबाट सशस्त्र र भन्सार कर्मचारीले चेकजाँच गर्ने क्रममा ना६ ख४०३३ नम्बरको काठमाडौं–दिल्ली चल्ने र लु१ख ८५५६ नम्बरको बुटवल–दिल्ली चल्ने बसबाट कपडा, मोटर पार्टसलगायत गरी १५ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको थियो ।


प्रकाशित : श्रावण १९, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?