रुपन्देहीका दुई कार्यालयमा मुख्यमन्त्रीको छड्के
रुपन्देही — प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेलले यातायात व्यवस्था कार्यालयका दुई इकाईमा मंगलबार छड्के गरेका छन् । छड्केमा २१ जना कर्मचारी अनुपस्थित भएका छन् ।
मुख्यमन्त्री पोखरेल सहितको टोलीले यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राम र लाइसेन्स शाखा बुटवलमा छड्के गरेको थियो । छड्केमा ३२ दरबन्दी रहेको यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्रामका कार्यालय प्रमुख सहित १० कर्मचारी अनुपस्थित भेटिए ।
त्यसै गरी लाइसेन्स शाखा बुटवलमा २९ कर्मचारीको दरबन्दी भएकोमा ११ कर्मचारी अनुपस्थित भएको पाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।
अनुगमनका लागि दुई कार्यालयमा मुख्यमन्त्री कार्यालयले दुई टोली खटाएको थियो । अनुपस्थित भएकाहरु कार्यालयमा उपस्थित हुनुपर्ने समयभन्दा ढिला उपस्थित भएको पाइएको, सबैलाई स्पष्टीकरण सोधिने र स्पष्टीकरण प्राप्त भएपछि अरू प्रक्रिया अघि बढ्ने प्रवक्ता अधिकारीले बताए ।
प्रकाशित : श्रावण ७, २०७६ १४:१९