स्थानीय रोजगारीविहीन

नेपालगन्ज — बाँकेमा ठूला उद्योग सञ्चालन हुने क्रम बढे पनि स्थानीयले रोजगारी पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागका अनुसार ०४६ सालयता जिल्लामा ८८ वटा उद्योग दर्ता भए ।

मुलुकमा १० वर्षसम्म सञ्चालन भएको सशस्त द्वन्द्वले ती उद्योग धराशायी बन्न पुगे । ०६२/६३ सालपछिको राजनीतिक परिवर्तनसँगै जिल्लामा पुन एकपछि अर्का ठूला उद्योग सञ्चालन हुने क्रम बढेको छ ।
जिल्लामा यसरी उद्योग सञ्चालन हुँदा स्थानीय हर्षित हुनुपर्ने हो । ‘आँगनमा खुलेका उद्योगमा रोजगारी नपाएपछि कसरी हर्षित हुनु,’ जानकी गाउँपालिका–५ का वडाअध्यक्ष सुरेश यादवले भने, ‘हाम्रो वडामा दर्जनौं उद्योग छन् तर स्थानीयले रोजगारी पाएका छैनन् । धूलो, धूवाँ र प्रदूषण मात्र पाएका छौं ।’
उक्त वडाका बासिन्दाको जस्तो पीडा जिल्लाभर छ । जिल्लामा सिमेन्ट उद्योग, छड, प्लास्टिक, फलाम उद्योग सञ्चालनमा छन् । अधिकांशमा भारतीय कामदार छन् । भारतीय कामदार कति छन्, तथ्यांक छैन । श्रम स्वीकृति लिन नपर्ने भएकाले तथ्यांक यकिन हुँदैन । सीमावर्ती भारतीय गाउँका मजदुर बिहान आएर साँझ घर फर्किन्छन् ।


पूरा पढ्नुहोस्
स्वदेशमा रोजगारी नपाएको भन्दै लाखौं नेपाली विदेश गइरहेका बेला यहाँ भारतीय कामदार भरिभराउ भएका छन् । उद्योग सञ्चालक बाध्यताका कारण स्थानीयलाई रोजगारी दिन नसकेको बताउँछन् ।
‘सकभर आफनै दाजुभाइलाई काममा लगाउन पाए हुन्थ्यो भन्ने हुन्छ,’ लुम्बिनी गार्मेन्ट उद्योगकी सञ्चालक कस्मिरा खातुनले भनिन्, ‘तर प्राविधिक सीपयुक्त जनशक्ति नभएकाले बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ ।’ सिमेन्ट, छडजस्ता उत्पादनमूलक उद्योग नेपालीका लागि नयाँ भएको र त्यसमा काम गर्न अभ्यास नभएकाले सुरु सुरुमा भारतीय कामदार राख्नुपर्ने बाध्यता रहेको उद्योगीको भनाइ छ । प्रकाशित : श्रावण ७, २०७६ ०९:५५
प्रतिक्रिया

पाल्पा — यहाँको रम्भा गाउँपालिका–५, ताँहुस्थित जनता प्राविमा दैनिक खाजा तयार हुन्छ । विद्यालयका ४५ विद्यार्थीलाई दिनहुँ खाजा पकाएरै खुवाउने गरेका हुन् । उनीहरूले हरेक दिन फरकफरक खाजा खुवाउने नियम बनेको छ ।

विद्यालयकी प्रधानाध्यापक कमला श्रेष्ठका अनुसार विद्यालयमा खाजा खुवाउन थालेपछि विद्यार्थी नियमित भएका छन् । विद्यालय नआउने, खेल्न जाने, दिउँसो कक्षा छाडेर हिंड्नेहरू पनि अहिले सधैं विद्यालय आउन थालेका छन् । ‘जति प्रयास गर्दा पनि पहिला विद्यार्थी नियमित गराउन सहज थिएन,’ उनले भने, ‘अहिले खाजा सुरु गरेपछि आफैं नियमित भएका छन् ।’ जनजाति बस्ती रहेको यस विद्यालयमा पूरा विद्यार्थी कमै हुन्थे । दिउँसो खाजा छुट्टीमा भागेर हिंड्ने प्रचलन पनि थियो । अहिले खाजा कार्यक्रमले भने विद्यार्थीलाई विद्यालयमै बस्ने बनाएको उनले सुनाइन् ।
रम्भा गाउँपालिकाले सुरु गरेको अभियान जनता प्राविमा मात्रै होइन । उसले सबै सामुदायिक विद्यालयको बालकक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई खाजा कार्यक्रम सुरु गरेको हो । विद्यार्थीहरू खाजा खान नपाएर दिउँसोमा भाग्ने भन्ने गुनासाका आधारमा अघिल्लो वर्षदेखि नै यो कार्यक्रम सुरुवात भएको हो तर ढिला गरी गरेको निर्णयले गर्दा आर्थिक वर्षको अन्त्यतिर मात्र विद्यालयले पैसा पाए तर यसवर्ष भने समयमै निकासा दिने योजना बनेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । ‘अघिल्लो आर्थिक वर्षमा पछिल्लो समयमा आएर मात्र पैसा छुट्याइयो,’ उनले भने, ‘यस वर्ष भने समयमै निकासा हुनेछ ।’
अघिल्लो वर्षको बजेटबााट प्रतिविद्यार्थी वार्षिक ६ सय ६२ रुपैयाँ वितरण गरेका थिए । यस वर्ष त्योभन्दा केही बढी पुग्नेछ । गत वर्ष १२ लाख बजेट थियो भने यस वर्ष १५ लाख पुगेको छ । परीक्षणका लागि गरेको कार्यक्रम सफल हुने ठानेपछि निरन्तरता दिइएको अध्यक्ष भण्डारीले बताए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण र नियमितताका लागि यसले ठूलो भूमिका खेल्ने उनको दाबी छ । अघिल्लो वर्ष सुरुवात गरेपछि विद्यार्थीर् भर्नामा समेत बढेको छ । ६ जना बालकक्षामा भर्ना भएको विद्यालयमा १२ जनासम्म पुगेको उनले बताए ।
गाउँपालिकाले विद्यालयमा हरेकबार फरक खाजा खुवाउन निर्देशन दिएको छ । आइतबार हलुवा, सोमबार चना, मंगलबार भुजा तरकारी, बुधबार चिउरा तरकारी, बिहीबार खीर, शुक्रबार फलफूल खुवाउने नियम बनेको अनुगमन क्रममा पाएको गाउँपालिका उपाध्यक्ष राधादेवी श्रेष्ठले बताइन् ।
उनका अनुसार ताँहुको रम्भा मावि र जनता प्राविमा यसरी खुवाउने गरेका छन् । ‘विद्यालय आफैंले पकाएर खुवाएको पाइएको छ,’ उनले भनिन्, ‘दैनिक खाजा सबै विद्यालयले पकाएर खुवाउनुपर्छ भनेका पनि छौं ।’ यसरी खाजा खुवाउँदा विद्यार्थी भोक लागेर बाहिर हिंड्न नपर्ने उनले बताइन् । कक्षा ५ सम्म बढी संवेदनशील हुनुपर्ने बेला हो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालका अनुसार ३५ विद्यालयमा यो कार्यक्रम लागू भएको छ । यसबाट १ हजार ८ सय ४४ विद्यार्थी लाभान्वित छन् । दैनिक प्रतिविद्यार्थी १५ रुपैयाँ खाजा खर्चका लागि छुट्याएको छ । विपन्न र दलित परिवारका बालबालिका विद्यालय भर्ना भएर पनि आर्थिक अभाव र जनचेतनाको कमीले विद्यालय छाड्ने चलन अझै पनि छ ।
बालबालिकालाई शिक्षित बनाएर परिवार, समाज हुँदै सिंगो गाउँपालिकालाई शिक्षित बनाउने योजनाअनुसारै यस्तो सोच आएर कार्यक्रम ल्याएको प्रवक्ता कृष्णप्रसाद रेग्मीले बताए । ‘विद्यालयमै ताजा र पौष्टिकयुक्त खाजा बनाएर खुवाउने गरी योजना बनेको छ,’ उनले भने, ‘जसले गर्दा विद्यार्थीमा पढ्न सक्ने क्षमता पनि बढोस् भन्ने लाग्छ ।’
सकेसम्म स्थानीयस्तरमै उत्पादन हुने खाजा खुवाउन आग्रह गरेको उनले बताए । प्रत्येक विद्यालयलाई खाजाको हरेक बारको लिस्ट बनाएर टाँसेर सोहीअनुसारको खुवाउने योजना बनाउन लगाइएको प्रवक्ता रेग्मीले बताए । ‘विद्यार्थीले जंकफुड प्रयोग नगरुन् भन्नु पनि हो,’ उनले भने, ‘यसबाट स्वास्थ्यमा फाइदा पुगोस् भन्ने नै हो ।’
पाँच वडा रहेको रम्भा गाउँपालिकामा हुँगीमा विपन्न बोटे बस्ती रहेको छ । यस्तै, अन्य वडामा विपन्न, दलित र जनजाति बस्ती रहेको छ, जसमा विद्यालयमा नियमित नुहनेको संख्या अत्यधिक रहेपछि गाउँपालिकाले यस्तो अभियान चलाउनुपरेको प्रवक्ता रेग्मीले बताए । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाको जोगीथुमस्थित कुमाल गाउँमा गाउँपालिकाको सहयोगमा विद्यालय खाजा कार्यक्रम चलाएको छ । यो बाहेक अन्यत्र यस्तो कार्यक्रम लागू भएको छैन ।
विद्यार्थीको दुर्घटना बिमा
रम्भा गाउँपालिकाले सबै विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दुर्घटना बिमा गराएको छ । बालकक्षादेखिका विद्यार्थीर् खेल्दा चोटपटक लागेमा १० हजारसम्मको उपचार हुने व्यवस्था मिलाएको हो । उसले प्रतिविद्यार्थी १० रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ । यसबाट विद्यार्थीलाई धेरै फाइदा पुग्ने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित : श्रावण ७, २०७६ ०९:५४प्रतिक्रिया
थप केही प्रदेश ५बाट