कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेवाग्राहीका गुनासै गुनासा

प्यूठान — प्यूठान नगरपालिकामा सेवाग्राहीको काम समयमै नभएको गुनासो आएको छ  । आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत विकास योजनाको काम लिएर कार्यालयमा आउँदा कामको भुक्तानी नपाएको सेवाग्राहीले गुनासो गरेका छन्  ।

योजना छनोट हचुवाका भरमा गर्ने र समयमा प्राविधिक रेखदेख नगर्ने, भुक्तानी लिन आउँदा समयमै भुक्तानी नपाउनेलगायत समस्याले गर्दा आफूहरू मर्कामा परेको सेवाग्राहीको गुनासो छ ।


‘स्थानीय तह कार्यान्वयन भएर पनि हामी जनताले पुरानै दुःख भोग्नुपरेको छ,’ प्यूठान नगरपालिका–५, जुम्रिकाँडाका स्थानीय लीला खत्रीले भने, ‘सिंचाइ कुलोको काम सक्काएर भुक्तानीका लागि आएको ३ दिन भयो, अझै भुक्तानी पाइएको छैन ।’ स्थानीय गौरा सिंचाइ कुलो ५ लाख ६० हजार रुपैयाँमा निर्माण सम्पन्न गरे पनि विभिन्न बहानामा भुक्तानी नपाएको उनले गुनासो गरे ।

‘बिहीबार लेखामा काम भएन,’ उनले भने, ‘शुक्रबार कार्यालय प्रमुख नै आएनन् ।’ प्यूठान नगरपालिका–६, माझकोटका ईश्वरबहादुर केसीले पनि २ दिनसम्म भुक्तानी नपाएको गुनासो गरे । ‘नगरपालिकाबाट टोली अनुगमन गएर भुक्तानीका लागि बोलाएको थियो,’ उनले भने, ‘यहाँ आउँदा काम भएको छैन ।’

उनले मौरीपालन समूहले लाखौं रुपैयाँको मौरी घार खरिद गरेको भुक्तानी पाउन बाँकी रहेको बताए । केसी र खत्री मात्र नभएर शुक्रबार प्यूठान नगरपालिकामा पुग्दा दर्जनौं योजनाको भुक्तानीका लागि आएका उपभोक्ताले नगरपालिकाबाट समयमै भुक्तानी नपाएको गुनासो गरिरहेका थिए ।

जिल्लाकै नमुना विद्यालय धर्मावती मावि बाग्दुलाको पनि फ्रिज जाने करोडौंको योजना कार्यालय प्रमुख नभएकाले तोक लगाउन नै रोकिएको शिक्षक माधव पोख्रेलले बताए । नगरपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ गरेको रुपैयाँ भुक्तानी लिन पुगेका नेपाल पत्रकार महासंघ प्यूठान शाखाका उपाध्यक्ष लालबहादुर थापाले नगरपालिकामा सेवाग्राहीले धेरै दुःख भोगेको सुनााए । ‘बिहान १० बजे नगरपालिका आएको हुँ,’ थापाले भने, ‘कार्यालय प्रमुख नै कार्यालयमा छैनन् ।’

नगरपालिका स्रोतका अनुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे र नगर प्रमुख अर्जुनकुमार कक्षपतिबीच बाख्रापालन योजनाको भुक्तानीको विषयमा ठाकठुक हुँदा बिहीबार ४ बजे नै प्रमुख कार्यालय छोडेर हिंडेका हुन् ।

प्यूठान–४ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लक्ष्मीप्रकाश राजभण्डारी र वडा ९ का वडाध्यक्ष लिलापसिंह केसी कार्यालय प्रमुखको निवास जुम्रीसम्म पुगेका थिए । ‘जनताको गुनासो आएपछि खोज्न गएका थियौं,’ राजभण्डारीले भने, ‘उहाँको कोठामा ताल्चा लागेको छ ।’

प्रकाशित : असार २९, २०७६ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?