विषादी मापन प्रयोगशाला सुरु

अमृता अनमोल

बुटवल — कर्मचारी अभावले बन्द यहाँस्थित विषादी मापन प्रयोगशाला मंगलबारदेखि सञ्चालनमा आएको छ । प्रदेश सरकारले समायोजन भएका प्राविधिक अधिकृतलाई प्रयोगशालामा पठाएपछि कृषिउपज थोक बजार केन्द्रमा विषादी मापन सुरु भएको हो । कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशबाट तलबभत्ता खाने गरी कर्मचारी पठाएर प्रयोगशाला सञ्चालनमा आएको बताइन् ।

बुटवलको कृषिउपज थोक बजार केन्द्रमा विषादी मापन गर्दै प्राविधिक ।  तस्बिर ः अमृता/कान्तिपुर 

‘कर्मचारी प्रदेशमा आउँदा प्रयोगशाला बन्द थियो । विषादी मापन नहुँदा जनस्वास्थ्यमा असर पर्ने देखियो,’ उनले भनिन्, ‘कृषि निर्देशनालयमा समायोजन भएका कर्मचारी पठाएर काम सुरु गरेका छौं ।’ विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा २ प्रकारका विषादीको परीक्षण हुन्छ । प्रयोगशालाको स्तरोन्नति गरी सञ्चालन गर्न र प्रदेश मातहत ल्याउन मन्त्रालयले कसरत थालेको छ । त्यसका लागि संघमा मौखिक र लिखित प्रस्ताव गरेको छ ।

गत असार १० मा प्रयोगशाला प्रदेशमातहत ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई लिखित प्रस्ताव पठाएको थियो । जवाफमा हाललाई साविक अवस्थामा तलब–भत्ता प्रदेशबाट खाने गरी कर्मचारी पठाएर सहयोग गर्न आग्रह गरेको छ । मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले प्रयोगशाला चलाएर तत्कालका लागि संघीय सरकारलाई सहयोग गरेको बताए । यसको निरन्तरताका लागि प्रयोगशाला हस्तान्तरण गर्न उपयुक्त हुने उनले बताए ।

कृषिउपज थोक बजार केन्द्रमा आउने फलफूल तथा तरकारी मापनका लागि ३ वर्षअघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको थियो । यहाँ २ जना प्राविधिकले दैनिक १० देखि १२ वटा तरकारी तथा फलफूलका नमुना परीक्षण गर्ने गरेका थिए । अहिले प्राविधिक रामबहादुर खत्री प्रयोगशालामा फर्केका छन् ।

‘एक्लैले काम गर्दा दिनको ५ देखि ७ नमुना परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘तर, परीक्षण हुन्छ भनेपछि आलो विषादीका फलफूल ल्याउन किसान र व्यापारी डराउँछन् ।’ यसअघि भएका परीक्षणमा बेमौसमी तरकारी, फलफूल र क्याप्सिकम (भेडेखुर्सानी) मा धेरै विषादी भेटिएको थियो ।

प्रकाशित : असार २५, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

भ्रष्टाचार नियन्त्रणमा खबरदारी आवश्यक

कान्तिपुर संवाददाता

पर्वत — नागरिकस्तरबाट खबरदारी नगरे भ्रष्टाचार नियन्त्रण हुन नसक्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । नेपालको सन्दर्भमा सुशासनको अवस्था नाजुक रहेको अवस्थामा भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाजको महत्त्वपूर्ण भूमिका हुने धारणा उनीहरूको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहयोगमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले सोमबार कुश्मामा आयोजना गरेको अन्तरक्रियाका वक्ताले नागरिक समाजले खबरदारी गर्न सके मात्रै भ्रष्टाचार नियन्त्रणका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताएका हुन् ।

समाजमा सुशासनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासँगै नागरिक समाजले पनि उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा वक्ताको थियो । ‘समाजमा भ्रष्टाचार कम गर्न नागरिक समाजसमेतको खबरदारी उत्तिकै महत्त्वपूर्ण हुन्छ,’ सहभागी नागरिक अगुवा मानकुमारी गिरीले भनिन् ‘भ्रष्टलाई बहिष्कार गर्दै सदाचार बढाउन नागरिक समाजको पनि महत्त्वपूर्ण भूमिका हुन्छ, ।’ नागरिकले नागरिकको जिम्मेवारी पूरा नगर्दा पनि भ्रष्टाचारीहरूले शिर उठाएर हिँड्न सकेको उनीहरूको धारणा थियो । नागरिकले भ्रष्टाचारविरुद्ध नागरिकको आवाज कमजोर हुँदा भ्रष्टाचारीहरूका लागि अवसर बनिरहेको अरू सहभागिले धारणा राखे ।

कार्यपत्र प्रस्तुत गर्दै अख्तियार पोखरा कार्यालयका उपसचिव मेघराज रिजालले नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घूसलगायतका विषय भ्रष्टाचारमा परेको बताए । त्यसबाहेक सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार समस्याका रूपमा विद्यमान रहेको बताए । उनले नागरिक सहभागिता बढाएर यसलाई नियन्त्रणको प्रयास भैरहेको जानकारी दिए ।

स्थानीय तह, सामुदायिक विद्यालय, सरकारी कार्यालयहरूसम्बन्धी धेरै उजुरीहरू आउने गरेको अख्तियार कार्यालयले जनायो । नागरिक समाजले यस्ता कुरामा अनुगमन र खबरदारी गर्न आवश्यक रहेको जानकारी गराइयो ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सुशासन प्रवर्द्धन गर्नु र जनमुखी सेवाप्रवाह गर्नु हरेक कर्मचारी र संघसंस्थाको दायित्व भएको भन्दै भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आएरै छाड्ने बताइन् ।

प्रकाशित : असार २५, २०७६ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्