कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्ध गुफा घुम्ने बढे

प्यूठान — पर्यटकीय स्थल बनाउने उद्देश्यले प्यूठान नगरपालिका–५ ले संरक्षण थालेको सिद्ध गुफा घुम्न जाने पर्यटक बढेका छन् । ७० मिटर लम्बाइको गुफामा पूर्वाधार विकास गरेपछि घुम्न जाने बढेका हुन् । वडा कार्यालयले गुफाभित्र प्रवेश गर्न सजिलोका लागि सोलार बत्ती जडान गरिदिएको छ । 

सिद्ध गुफा घुम्ने बढे

आरुडाँडादेखि गुफासम्म ५ लाख रुपैयाँ खर्च गरेर अहिले पदमार्ग निर्माणको काम भइरहेको वडाध्यक्ष लछुमन भण्डारीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २८ जना मजदुरले गुफा पुग्ने सडक निर्माण गरिरहेका छन् । गुफाभित्र पस्न सजिलोका लागि सिँढी, सोलार बत्ती निर्माणलगायत काम गत वर्षको बजेटले सम्पन्न भइरहेको भण्डारीले बताए ।


नमुना बस्ती जुम्रिकाँढाको ठूलोगाउँ र नगरकै अग्लो स्थानमा रहेको लिस्ने लेक घुम्न आउनेका लागि सिद्ध गुफा पनि एउटा आकर्षक गन्तव्य रहेकाले आन्तरिक पर्यटकको भीड लाग्न थालेको सिद्ध गुफा संरक्षण समितिका अध्यक्ष मानसिंह पुनले बताए । ‘संरक्षण नहुँदासम्म गुफा ओझेलमा परेको थियो,’ उनले भने, ‘अहिले दिनहुँ ३०/४० जना पर्यटक गुफा अवलोकन गर्न आएका छन् ।’

गुफा प्रवेश गर्ने साँघुरो ठाउँ पार गरेर भित्र पुग्दा फराकिलो भाग हुँदै गएको छ । भित्र धेरै मिटरसम्म गुफा फैलिए पनि अक्सिजनको कमीका कारण अहिले ७० मिटरभित्र मात्र प्रवेश गर्न पर्यटकलाई अनुमति दिइएको पुनले बताए ।


तीन वर्षदेखि गुफाको अवस्थाबारे चासो राख्दै आएका स्थानीयले सिद्ध गुफा संरक्षण समिति गठन गरेर अनुसन्धान र पूर्वाधारको काम अगाडि बढाएका छन् । अक्सिजन लगेर जान सके गुफा धेरै परसम्म फैलिएको हुन सक्ने पुनले बताए । यस वर्ष सोलार बत्तीको व्यवस्था, गुफा प्रवेश गर्न अप्ठ्यारो हुने ढुंगा फुटाएर सिँढी निर्माण गरिएको छ । अहिले गुफा अवलोकन गर्न सबैलाई सहज भएको स्थानीय यमलाल पार्धेले बताए । उत्तरतर्फ रहेको प्रवेशद्वारबाट करिब १५ मिनेटमा गुफा अवलोकन गरी बाहिरिन सकिने उनले सुनाए ।


गुफाभित्रका ढुंगामा विभिन्न आकृतिका दृश्य नियाल्न सकिन्छ । गुफाभित्र माटोका घैंटा, कलश फेला परेको वडाध्यक्ष लछुमन भण्डारीले बताए । ‘गुफा सफा गर्दा फेला परेका सबै वस्तु संरक्षण गरेर गुफाभित्रै राखेका छौं,’ उनले भने, ‘यी वस्तु कति पुराना हुन् भन्ने अध्ययन गर्ने योजना छ ।’ भित्री भागका भित्तामा विभिन्न आकृतिका आकर्षक मूर्तिसमेत रहेकाले पर्यटकीय दृष्टिले सिद्ध गुफा महत्त्वपूर्ण रहेको भण्डारीले बताए । ‘यति धेरै लम्बाइ भएको गुफा जिल्लाभित्र अन्यत्र छैन,’ उनले भने, ‘त्यसैले यसको संरक्षण र प्रचारमा लागेका छौं ।’


सिद्ध गुफा धेरै आकर्षक रहेको होटल व्यवसायी नवीन जीसीले बताए । जिल्लामा धेरै पर्यटकीय गन्तव्य रहेर पनि संरक्षण र प्रचारको कमीले ओझेलमा परेको उनले बताए । ‘सिद्ध गुफाबारे सुनेको मात्र थिएँ,’ उनले भने, ‘अवलोकन गर्न पुग्दा धेरै राम्रो लाग्यो ।’

प्रकाशित : असार १०, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?