कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षले पिट्ने धम्की दिएको सदस्यको गुनासो

मधु शाही

बाँके — नेपालगन्ज उपमहानगर–८ की दलित महिला सदस्य निर्मला धोबीले वडाध्यक्ष सुरेन्द्र गुप्ताले आफूलाई कुटपिट गर्न खोजेको आरोप लगाएकी छन् । दुवैबीच लामो समयदेखि विवाद छ । 

चैत १४ गते वडा कार्यालयमा बजेट आवश्यकता अनुसार खर्च गर्न सुझाव दिँदा गुप्ता रिसाएका हुन् । त्यसपछि उनले अश्लील शब्द प्रयोग गर्दै ‘तँलाई वडा कार्यालयभित्रै पिट्छु र हातखुट्टा भाँचिदिन्छु’ भनी हातपात गर्न खोजेको उनले बताइन् । धोबीले आफूलाई सुरक्षा र गुप्तालाई कारबाही माग्दै जिल्ला प्रशासनमा उजुरी गरेकी छन् ।


नगरप्रमुख धवलशमशेर राणासँग पनि गुनासो गरेकी थिइन् । तर, राणाले समेत ‘मिलेर काम गर्नुस्, मुद्दा मामिलामा जानुभयो भने अर्को पटक पार्टीबाट टिकट पाउनुहुन्न’ भन्दै हतास पारेको उनको गुनासो छ । ‘लडाइँ, झगडा नगर्नुस् बहिनी, मिलेर काम गर्नुहोस् भनेर सम्झाए,’ उनले भनिन्, ‘ममाथि हात उठाएको विषय सामान्य बनाए ।’


कार्यालयमा भएको अनियमिततामाथि प्रश्न उठाउँदा अध्यक्षबाटै असुरक्षित हुनुपरेको निर्मलाको गुनासो छ । उनका अनुसार भ्रमणका लागि छुट्याइएको एक लाख रुपैयाँमा त्रिभुवन चोकमा पानीको फ्रिज राख्ने सहमति भयो । माइन्युटमा हस्ताक्षरसमेत भयो । तर दुई वर्ष बित्दा पनि समिति गठन गरिएको छैन । धेरैपटक योजना र कार्यक्रममा सहभागी नै नगराई धम्कीपूर्वक हस्ताक्षर गराउने गरेको उनले बताइन् ।


वडाध्यक्ष गुप्ताले सामान्य भनाभन भएको भन्दै कुटपिट गर्न खोजेको आरोप झूटो रहेको दाबी गरे । ‘मैले कुट्न खोजें भन्ने तपार्इंसँग के प्रमाण छ ?’ उनले भने, ‘सत्य कुरा बुझेर लेख्नुस् । उसले काम नै केही गर्दैन ।’


उपमहानगर प्रमुख राणाले यस विषयमा खासै प्रतिक्रिया दिन चाहेनन् । दुवै जना राप्रपाका भएकाले ‘घरको झगडा घरमै मिलाउँ’ भन्दै सुझाव दिएको बताए । उपमेयर एवं न्यायिक समिति संयोजक उमा थापाले निर्मलाले मौखिक रूपमा गुनासो राखेको बताइन् ।

सुशासन समितिमा निवेदन दिन आग्रह गर्दा प्रमुख राणाले राजनीतिक झगडा भएकाले मैले नै सुल्झाउँछु भनेको उनले जनाइन् । ‘लिखित निवेदन नआउँदासम्म प्रक्रिया अगाडि बढाउन सकिँदैन,’ उनले भनिन्, ‘मेयरले मैले नै सुल्झाउँछु भनेपछि मैले हस्तक्षेप गरिनँ ।’ उनका अनुसार वडामा महिला सदस्यमाथि हुने अपमानका थुप्रै मौखिक गुनासा छन् । लिखित निवेदन दिने आँट नगर्दा समस्या विधिवत रूपमा सुल्झाउन जटिल हुने उनले सुनाइन् । ‘गुनासा आउँछन् । लिखित निवेदन दिन मान्दैनन्,’ उनले भनिन्, ‘यहाँ महिला जनप्रतिनिधि नै अपमान सहेर बस्न बाध्य छन् ।’

प्रकाशित : असार ३, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?