च्याउ खाएर बिरामी परेका थप एकको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–३, झिरुवास सार्कीडाँडामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये थप एकको मृत्यु भएको छ । 

झिरुवास, सार्कीडाँडाकी १४ वर्षीया निरुतासिंह ठकुरीको उपचारको क्रममा बुधबार राति काठमाडौंमा मृत्यु भएको हो। च्याउ खाएर बिरामी परेकी उनलाई मध्यविन्दु अस्पताल नवपुर, चितवन हुँदै उपचारका लागि काठमाडौं लगिएको थियो।

च्याउ खाएर बिरामी परेका निरुता लगायत नौ जनालाई नै काठमाडौं लगिएको थियो। यसअघि उपचारकै क्रममा नौ वर्षीय निर्मला सिंह ठकुरी र चार वर्षीय विष्णु सिंह ठकुरीको चितवनमा मृत्यु भएको थियो।

बिरामीका आफन्त उर्मिला सारुका अनुसार धेरैको अवस्था अझै सुधार हुन सकेको छैन। ३० वर्षीय धनकुमारी सिंह ठकुरी, आठ वर्षीय सुमन सिंह ठकुरी, १२ वर्षीया निशा सिंह ठकुरीको अवस्था पनि गम्भीर छ।

३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० वर्षका प्रेमसिं ठकुरी, ३० वर्षका दानमाया सिहं ठकुरी, ४५ वर्षीय पुर्णबहादुर खाम्चाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पाँच जनाको काठमाडौस्थित शिक्षण अस्पताल र तीनजनाको अन्य अस्पतालमा उपचार भइरहेको बिरामीका आफन्तले जनाएका छन्।

पढ्नुहाेस् .......
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु

रासस

सर्लाही — सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।


हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवै मोटरसाइकल चालक हुन्।

दुवै मोटरसाइकलमा चालकसहित तीन/तीन जना बसेका थिए। मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए। ना२५प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन्।

दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन भने ज२प ७८८६ नंको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ।

पोखरीमा युवकको शव फेला
सर्लाही सदरमुकाम मलङ्गवाको बजार क्षेत्रमा रहेको जनसागर पोखरीमा एक युवाको शव फेला परेको छ। फेला परेको शव मलङ्गवा नगरपालिका–४ बस्ने ३० वर्षीय रवि मेस्तर रहेको छ। ना२ह १२२३ नंको टेम्पोसहित उनको शव पोखरीमा फेला परेको हो।
मृतकको शरीरभरि गहिरो घाउ देखिएकाले उनलाई कसैले हत्या गरेर पोखरीमा फालेको हुनसक्ने स्थानीयवासीको अनुमान छ। शव परीक्षणपछि मात्र घटनाबारेमा केही भन्न सकिने सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब राठोरले बताए। मृतक मेस्तरलाई अन्य ठाउँमा हत्या गरेर टेम्पोमा राखेर पोखरीमा टेम्पोसहित फालेको हुनसक्ने स्थानीयवासीको भनाइ छ।
मृतक मेस्तर मलङ्गवा नगरपालिकामा सरसफाइ गर्ने कर्मचारीको रुपमा काम गर्दै आएका थिए। शवसँगै पानीमा फेला परेको टेम्पो मृतकका आफ्नै काका मिश्रीलाल मेस्तरको रहेको र उनी अहिले सम्पर्कविहीन रहेको प्रहरी नायब उपरीक्षक राठोरले जानकारी दिए। पोखरीमा टेम्पो खसेको अवाज सुनेर राति करीब ११ः३० बजे नै मृतकको शव स्थानीयवासीले निकालेका थिए भने टेम्पो आज बिहान प्रहरीले डोजरको सहयोगले निकालको छ। शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ।

प्रकाशित : जेष्ठ ३०, २०७६ १०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT