ताल सुकाएर नहर मर्मत

मनोज पौडेल

कपिलवस्तु — मूल नहर मर्मत गर्न जगदीशपुर तालको पानी सुकाएपछि यहाँका सरीसृप, स्तनधारी, माछालगायत जीव मर्न थालेका छन् । वाणगंगा सिँचाइ डिभिजन कार्यालयले एक महिनाअघि पानी सुकाएपछि तालमा मनपरी बढेको छ । १ सय ५७ हेक्टरमा फैलिएको तालको पश्चिमपट्टि १० प्रतिशत भागमा मात्र पानी छ । 



ताल सुकेपछि जथाभाबी रैथाने माछा मार्ने क्रम तीव्र छ । कतिपय माछा भने अक्सिजन नपुगेर मरिरहेका छन् । ४३ प्रजातिका रैथाने माछा पाइने तालबाट किलोका किलो माछा मारेर लैजानेहरू बढेको स्थानीयले बताए ।


तालका माछा लगेर कतिपयले व्यापारसमेत सुरु गरेको उनीहरूको भनाइ छ । तालको संरक्षण एवं रेखदेख गर्ने वाणगंगा सिँचाइ विकास डिभिजन कार्यालय र वाणगंगा जल उपभोक्ता सिँचाइ प्रणालीले यसमा चासो नदिएको स्थानीय बताउँछन् । स्थानीयस्तरमा गठित जगदीशपुर ताल व्यवस्थापन बहुसरोकार मञ्च पनि मूकदर्शक बनेको छ ।


यसअघि मञ्च र जल उपभोक्ता सिँचाइ प्रणालीले माछा ठेक्कामा लगाएर बेच्ने पहल गरेका थिए । तर सर्वसाधारणबाट त्यसको विरोध भएपछि रोकियो । ‘ठेक्का लगाउनु रामसार क्षेत्रको मर्मविपरीत हुन्छ,’ स्थानीय अब्दुल रसिद खाँले भने, ‘हामीले विरोध गरेपछि ठेक्का लाग्न सकेन ।’ तर पछिल्लो समय ताल जोगाउनेभन्दा नष्ट गर्नेतिर सबै लागेको उनको आरोप छ ।


सिँचाइ प्रयोजनका लागि ताल निर्माण भएकाले त्यसलाई प्राथमिकता दिएर नहर मर्मतका लागि पानी बन्द गरिएको वाणगंगा सिँचाइ डिभिजन कार्यालय प्रमुख रामकृष्ण घोरासैनीले बताए । ‘हामीलाई चरा, कछुवासँग सरोकार छैन,’ उनले भने, ‘कृषकलाई पानी दिनु हाम्रो काम हो ।’ वर्षौंदेखि सफाइ नगर्दा तालमा फोहोर, बालुवा, माटो भरिएपछि सफा गर्नुपरेको उनको भनाइ छ ।


पानी सुकेपछि दुर्लभ पानी बिराला र ओत संकटमा परेका छन् । यिनको प्रमुख आहार माछा हो । माछा मरेपछि आहारा अभाव भएको छ । ओत पानीबिना बाँच्न सक्दैन । ‘मुलुकमा थोरै संख्यामा यी जीव छन्,’ चराविद् डा. हेमसागर बरालले भने, ‘प्रजननका बेला उनीहरूलाई समस्यामा पार्नु राम्रो होइन ।’ यसले संख्या अझ घटाउने उनले बताए । तालमा मान्छेको चलखेलले झाडी र बुट्यानमा बस्ने रैथाने चरालाई पनि अप्ठ्यारो भएको छ ।


संघीय सरकारले घोषणा गरेको उत्कृष्ट पर्यटकीय स्थलमध्ये यो ताल पनि एक हो । अहिले ताल बन्जर र उराठलाग्दो देखिन्छ । यसको प्राकृतिक स्वरूप पनि देखिँदैन । चरा हेर्न आउनेहरू गुनासो गर्दै फर्किन्छन् । ‘माल पाएर चाल नपाए जस्तो भयो,’ चराविद् दिनेश गिरीले भने, ‘यसले जगदीशपुरको अस्तित्व संकटमा पर्‍यो ।’ कृत्रिम रूपमा बनाइएको मुलुककै सबैभन्दा ठूलो तालको बिजोग देख्दा विरक्त लाग्ने उनले बताए ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

बाढी पूर्वसूचना अलपत्र

कान्तिपुर संवाददाता

म्याग्दी — बेनी बजारसँगै कालीगण्डकी र म्याग्दी नदी तटका बस्तीलाई बाढीबाट जोगाउन जडित पूर्वसूचना प्रणाली अलपत्र छ । अन्नपूर्ण गाउँपालिका–३ तातोपानी छेउ कालीगण्डकी नदीमा राखिएको उपकरणलाई बेनी–जोमसोम सडक आयोजनाले सडक विस्तार गर्ने क्रममा डोजर लगाएर नष्ट गरिदिएको छ ।

मंगला गाउँपालिका केन्द्र बाबियाचौरनजिक म्याग्दी नदीमा राखिएको पूर्वसूचना प्रणाली पनि अलपत्र छ । बाढीपहिरोको सम्भावित अवस्थामा उक्त प्रणालीले साइरन बजाउँथ्यो, जसलाई सुन्नेहरू जीउधनको सुरक्षामा लागिपर्न समय पाउँथे ।

‘बेनी–जोमसोम–कोरला सडक विस्तारले गर्दा बाढीको पूर्वसूचना प्रणाली लथालिंग भएको छ,’ पूर्वसूचना सम्पर्क व्यक्ति श्याम रानाले भने, ‘सरोकारवालाको बेवास्ताले सोलार प्यानलसहित केही उपकरण चोरी पनि भएका छन् ।’

नियमित रेखदेख, मर्मतसम्भार र नियमन नहुँदा समस्या परेको हो । स्थानीय सरकार र जिल्लाका सरोकारवाला निकाय यसबारे अनभिज्ञ छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डीओसी), जिल्ला दैवीप्रकोप उद्धार समिति, प्रमुख जिल्ला अधिकारी र विपद्मा खटिने सुरक्षा निकाय पनि प्रणाली बिग्रिएका विषयमा थाहै नपाए जसरी मौन छन् ।

‘बाढीको पूर्वसूचना कसरी लिने, दिने भन्ने प्रणालीको जानकारी छ । म्याग्दी र कालीगण्डकीमा अर्ली वार्निङ साइरन जोडिएकोबारे मलाई थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘सिस्टमलाई थप व्यवस्थित गर्न स्थानीय सरकारसँग सहकार्य गरेर एक्टिभ गराउनु आवश्यक छ ।’

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को उपकरण सहयोगमा ली–वर्ड, बहुसरोकारवाला वन कार्यक्रम विशेष पहल परियोजना, वातावरण संरक्षण शिविर (एक्का) र दिगो इको इन्जिनियरिङले म्याग्दी खोलाको बाबियाचौर, कालीगण्डकी नदी र तातोपानीमा यो प्रविधि जडान गरिएको थियो ।

नदी किनारमा जडित ट्रान्समिसन युनिट र नजिकको प्रहरी चौकीमा राखिएको रिसिभर ट्रान्समिसन युनिटले बाढीको अवस्थालाई सँगै जोडिएको डाटा डिकोडर र ट्रान्समिटरमा पठाई पहिलो साइरन १ मिनेटसम्म र खतराको साइरन लगातार बज्ने व्यवस्था मिलाएको छ । बाढीको संकेत गर्ने पहिलो साइरन बजेपछि बाढी थप ५० सेन्टिमिटर बढ्यो भने पूर्ण खतराको साइरन बज्छ ।

‘धौलागिरी र मालिका गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने फेदीस्थित म्याग्दी खोलामा राखिएको सेन्सर तथा उपकरण यथावत् छ । तर चल्ने/नचल्ने यकिन छैन । हामीले पनि टेस्ट गरेका छैनौं,’ सम्पर्क व्यक्ति मोतीराज उपाध्यायले भने, ‘बर्खा लाग्नुअघि नै सिस्टमले काम गरे/नगरेको यकिन गर्न जरुरी छ । जिल्ला दैवीप्रकोप समितिले पनि चासो राख्नु आवश्यक छ ।’

प्रकाशित : जेष्ठ १९, २०७६ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×