कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्पी बनाउन अटेर गर्नेको सुविधामा रोक

माधव अर्याल

पाल्पा — रम्भा गाउँपालिका–४, हुमीन लोहोरेङका जितबहादुर सारुले भूकम्पले भत्काएको चर्पी अहिलेसम्म बनाएका छैनन् । उनको घर–आँगन फोहोर छ । लिपपोत गरिएको छैन । घरमा पढेलेखेकी बुहारी बस्छिन् । छोरा विदेश छन् । चर्पी बनाउनेबारे चिन्ता गरेका छैनन् । 

अहिलेसम्म शौचालय नबनाएपछि गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी उनको घरमा पुगे । उनलाई सम्झाउन महिला स्वास्थ्य स्वयंसेविका धेरैपटक धाइन् । ‘अटेर गरेपछि प्रहरीसमेतको टोलीले घरमा गएर सम्झाइबुझाइ गर्‍यो,’ वडाध्यक्ष भोजबहादुर विकले भने, ‘अटेर गर्नेको अब सेवासुविधा रोकिनेछ ।’ गाउँपालिका पूर्ण सरसफाइ उन्मुख छ । ५ नम्बर वडा पूर्णसरसफाइ घोषणा भइसक्यो ।


४ नम्बर वडा तयारीमा छ । अहिलेसम्म २० प्रतिशत परिवारले पूर्ण सरसफाइमा साथ दिएका छैनन् । त्यसैले अनुगमन गरिएको छ । लोहोरेङ गाउँमा जितबहादुरजस्तै १०/१२ घरले अटेर गरेका हुन् । उनीहरूलाई धेरैपटक सम्झाइबुझाइ गरिसकिएको छ । गाउँपालिका अध्यक्ष भण्डारी, प्रहरी सहायक निरीक्षक राजु थारु, वडाध्यक्ष विकलगायतको टोली सम्झाउन पुग्यो । प्रहरीको त्रास देखाइयो । ‘अब पाँच दिनभित्र सबै काम सक्छौं भनेका छन्,’ वडाध्यक्ष विकले भने, ‘यदि मानेनन् भने उनीहरूलाई सबै सेवासुविधा रोक्ने गरी निर्णय गर्नेछौं ।’


हुमीन बजार नजिकका ६ घरमा शौचालय छैनन् । माथिल्लो टोलमा पनि अवस्था उस्तै छ । मार्सिडाँडाका केही घरपरिवारले अटेर गरेका छन् । उनीहरूलाई पनि अनुगमन टोलीले सम्झाएको छ । ‘रम्भा गाउँपालिकाको आफ्नै शान, पूर्ण सरसफाइ उन्मुख गाउँपालिका हाम्रो अभियान’ लाई सफल पार्न पूर्ण सरसफाइ वडा घोषणा गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए ।


‘हात धुने, सरसफाइ गर्ने भन्ने सिकाउन पनि गार्‍हो काम हो,’ उनले भने, ‘अभियानलाई साथ दिनुस् भन्दै घरघरमा डुल्दा पनि समस्या देखियो ।’ घर–घरमा विभिन्न सूचकसहितको फ्ल्याक्स सूचना टाँसिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सुआहारा कार्यक्रमका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकालगायतका सरोकारवाला अभियानमा छन् ।

‘गाउँपालिकाको टिम अभियानमा होमिएको छ,’ स्वास्थ्य शाखा प्रमुख महेश आचार्यले भने, ‘तर पनि अटेर गर्नेहरू रहेका छन् ।’ उनले गाउँपालिका र वडाले अब अटेरी गर्नेलाई सिफारिसलगायत सेवासुविधा रोक्ने चेतावनी दिएको बताए । अनुगमनमा खटिएका वडा ३ का सदस्य हेमप्रसाद अर्यालले भने, ‘सरसफाइलाई पूर्ण रूपमा संचालन गर्नका लागि पानी आवश्यक देखियो ।’


गाउँपालिकाले हुमीनमा विभिन्न टोली बनाएर अनुगमन गर्दै आएको छ । पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्न गैरसरकारी संस्था सुआहारा र पछौटेपन उन्मूलन समाज (बेस) ले प्राविधिक सहयोग गरेका छन् ।

प्रकाशित : चैत्र २४, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?