मेयरको ठेक्कामा ढिलासुस्ती- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरको ठेक्कामा ढिलासुस्ती

कमल पन्थी

बर्दिया — हुलाकी मार्गअन्तर्गत भुरीगाउँ–बेलवा खण्डको निर्माणको ठेक्का डडेलधुरास्थित परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदको कम्पनीले लिएको खुलेको छ । उक्त खण्डमा ढिलासुस्तीले काम छिटो हुन सकेको छैन ।

उक्त खण्डको १७ किलोमिटर निर्माणका लागि साउदको राजेन्द्र जेभी निर्माण कम्पनीले २८ करोड ३१ लाख १५ हजार रुपैयाँमा ठेक्का लिएको हो । कम्पनीका धनी परशुराम नगरपालिकाका मेयर भएको हुलाकी सडक आयोजना नेपालगन्जका प्रमुख युवराज पोखरेलले बताए ।


सम्झौताअनुसार यस खण्डको निर्माण असार मसान्तभित्र पूरा गरिसक्नु पर्छ । अहिले कामले गति लिन नसकेको आयोजना प्रमुख पोखरेलले बताए । सडकको ०७३ साल माघ ८ गते तात्कालीन यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेका थिए ।


जिल्लाभित्र रहेको हुलाकी सडकलाइ तीन खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । जसअन्तर्गत मधुवन–गुलरिया १८ किमि खण्ड निर्माण भइरहेको छ । अर्को बेलवा–राजापुर खण्डको २२ किमि सडक आशिष जेभीले निर्माण गरिरहेको छ ।


मेयर साउदले कामको जिम्मा प्रकाश विश्वकर्मालाई दिएका छन् । साउदको बबई सिँचाइ आयोजना र हुलाकी सडक गरेर झन्डै १ अर्ब रुपैयाँको ठेक्का सञ्चालनमा छ । साउदले आगामी फागुन १ गतेबाट सडक कालोपत्रेको काम सुरु हुने बताए ।


‘छिट्टै कालोपत्रेको कामका लागि बेस निर्माणको काम सुरु गरिएको छ,’ उनले भने, ‘सम्झौता अवधिमा काम सम्पन्न गरेर हस्तान्तरण पनि गर्नेछौं ।’ मधुवन–गुलरिया खण्डमा कालोपत्रेको काम भइरहेको छ । खैरापुरदेखि गुलरियासम्मको १० किमि खण्डमा कामले गति लिएको छैन । गुलरिया बजारभित्रका संरचना हटाउने काम भएको छैन । विद्युत्, टेलिफोन, खानेपानीका पाइप स्थानान्तरण गरिएका छैनन् ।


त्यसले कामले गति नलिएको गणपति निर्माण सेवाका सञ्चालक तुलसी भण्डारीले बताए । हुलाकी आयोजनाले विद्युत्, टेलिफोन र खानेपानीका पाइप अन्यत्र स्थान्तरण गर्नुपर्ने रकम उपलब्ध नगराउँदा ढिलासुस्ती भएको उनले बताए । ग्रामीण क्षेत्रमा ७ किमि चौडा कालोपत्रे निर्माण हुनेछ । सहरी क्षेत्रमा ११ मिटर चौडा कालोपत्रे निर्माण हुनेछ ।


अहिलेसम्म ८० प्रतिशत निर्माण पूरा भएको हुलाकी सडक आयोजनाले जनाएको छ । ०७३ साल असारबाट सुरु भएको उक्त सडक निर्माण ०७६ साल असार २२ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । राजापुर र भुरीगाउ‘ सडक खण्डमा कालोपत्रेको काममा ढिलासुस्ती भएको छ ।

प्रकाशित : माघ १७, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्

चुरौटे पेसा संकटमा

वीरेन्द्र केसी

अर्घाखाँची — ‘गाउँमा चुरा व्यापारी खोज्ने हो भने धेरैले मलाई चिन्छन्,’ पाणिनि गाउँपालिका–८ मा भेटिएका ६४ वर्षीय वसिर मियाँले भने, ‘भारतको वनारस पुगेर नेपाल–भारत सीमा नाका सुनौलीसम्म गाडीमै ल्याइन्थ्यो । त्यहाँबाट डोकोमा बोकेर गाउँसम्म ल्याई पुर्‍याउन तीन दिन लाग्थ्यो ।’

अर्घाखाँची पाणिनि गाउँपालिका–८ पालिकाका जेष्ठ मुस्लिम अगुवा । तस्बिर : वीरेन्द/कान्तिपुर

पैदल हिँडदै, बेच्दै । रूपन्देहीको सालझन्डीबाट छिरेर जंगल छिचोल्दा कसौडी, ग्यालेनमा पानी, नुनतेल र चामल बोक्थे, बाटोमा पकाएर खाने र बास बस्ने ।

‘तन्नेरी उमेरमा डोकोमा चुरा बोकेर गाउँ डुलाएँ, घर–घरमै पसेर महिलाको हातमा चुरा लगाइदिएँ, कोही चुरेटा आउलान् र चुरा लगाउँला भनेर पर्खी बसेका हुन्थे,’ उनले भने, ‘मजस्ता चुरेटाका सन्तानले अहिले यो पेसा गर्दैनन् ।’ युवा उमेरमा चुरा बेच्दै हिँडेको स्मृति वृद्ध उमेरमा सम्झना मात्रै बने ।

गाउँमा मुस्किलले मात्रै चुरा बेच्न हिँड्थे । अरू जातिले बेच्दैनथे । अहिले त्यस्तो छैन । ‘सबै जातिले पाइलैपिच्छे चुरा पसल राखेर बेच्न थालेपछि हाम्रो पेसा खोसियो,’ उनले भने । घरैपिच्छेका सबै पुरुष चुरा बेचेरै परिवार धानेका थिए । जिल्ला सडक सञ्जालले जोडिएपछि सबैले चुरा बेच्न थाले ।

त्यसैले मुस्लिमका अहिलेका युवा पुस्ताले विकल्पको बाटो रोज्नु परेको उनले बताए । १५ वर्षको उमेरबाट चुरा व्यापार सुरु गरेका उनले ३० वर्षसम्म डोकोमा चुरा डुलाएर बेचे । त्यसबेला ३० रुपैयाँको माल बेच्दा एक सय रुपैयाँ पथ्र्याे । त्यसपछि २४ वर्षसम्म गुल्मीको वामिटक्सारमा चुराको पसलै थापे । बिरामी परे । पसल छाडे । अहिले घरमै बसेर दिन बिताएका छन् । केही मुस्लिम तन्नेरीले नगन्य रूपमा शृंगारका पसल चलाएका छन् ।

पहाड फोर्दै सडक बनेपछि गाउँसम्म सवारी साधन आए । भारत र तेस्रो मुलुकमा वैदेशिक रोजगारीमा जाने र स्थानीय स्तरमा विभिन्न पेसा गर्नेको लहर चलेपछि मुस्लिम युवा पुस्ता पनि त्यतातिर आकर्षित भयो ।

‘हाम्रो पालामा भारी बोकेर हिँड्न कम्ती दु:ख थिएन,’ ६८ वर्षीय क्यामदिन मियाँले भने, ‘उकाली ओराली हिँड्दा, खुट्टा फुट्थे । घरमा पुगेर चुरा लगाइदिएपछि सबै खुसी हुन्थे । वर्षको एकपटक पुग्थ्यौं । मीठो खान दिन्थे, अब ती कुरा कथाजस्तै भए ।’ उनका बाबुबाजेले गाउँमै चुराको भट्टी खोलेका थिए । भारतबाट काँच र रंग ल्याएर भट्टीमा गलाउने, साँचोमा राखेर चुरा बनाइन्थ्यो । आफ्ना दौतरी साथीभाइलाई चुरा पुर्‍याउनै सकिँदैनथ्यो । माग धेरै थियो । १६ वर्ष चुराको काम गरेको अनुभव उनीसँग छ ।

‘उतिबेला हामीलाई चुरेटा भन्थे, अहिले मुस्लिम पुख्र्यौली पेसा हाम्रै पालामा विस्थापित भयो,’ उनले भने, ‘जवानी उमेरसम्म त्यही गरियो, अब बुढेसकाल लागेपछि घरमै बसेको छु ।’ दुई छोरा कमाउन बाहिर गएका छन् । घरमा हामी बूढाबूढी मात्रै छौं । ७९ वर्षीय खुसदिन मियाँले पेसा विस्थापित भएको बताए । वैकल्पिक पेसा रोज्नेमा मुस्लिमका नयाँ पुस्ता सक्रिय रहेको उनले बताए ।

मदरसाका शिक्षक नजिर मियाँले समयक्रम अनुसार पेसा बदलिएको र चुरा शृंगारका सामान बेच्ने व्यापारी गैरमुस्लिम धेरै भएको बताए । शृंगारका सामान बेच्ने मुस्लिम अझै रहेको उनले बताए । पसल राखेर व्यापार गर्दा चुरौटेको पेसा हराएजस्तो देखिएको हो । मुस्लिमका हक अधिकार र आरक्षणका कुरा संविधानमा लेखिए ।

‘अब हामी चुरा बेच्ने चुरौटे रहेनौं, नीति निर्माण तहसम्म पुगेर समाज बदल्ने र अन्य पेसा, रोजगारी गर्नमा समयक्रम अनुसार अगाडि बढेका छौं,’ मुस्लिम संघका जिल्ला सचिव एवं शिक्षक खबर महमद अन्सारीले भने । ०६४ को जनगणना अनुसार अर्घाखाँचीमा मुस्लिम जनसंख्या ८ हजार ३ सय छ भने १ हजार ७ सय ६४ मतदाता छन् ।

प्रकाशित : माघ १७, २०७५ ११:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×