प्लास्टिक होइन, दुना–टपरी- प्रदेश ५ - कान्तिपुर समाचार

प्लास्टिक होइन, दुना–टपरी

वीरेन्द्र केसी

अर्घाखाँची — वरिपरी तारबार गरिएको डमरु दह । एका छेउमा बगैंचा, अर्काेतिर सन्धिखर्क–गोरुसिंगे सहायक मार्ग । दक्षिणी क्षेत्रको केन्द्र शीतगंगा नगरपालिका–३ मा रहेको यो दह अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्छ ।

अर्घाखाँचीको ठाडामा दुना–टपरी बुन्दै महिला ।  तस्बिर : वीरेन्द/कान्तिपुर

घर होस् वा होटल । दैनिक उत्र्सजन हुने सडेगलेका वस्तु र प्लास्टिक स्थानीय दहमा फ्याँक्छन् । सडक छेउको नाली र दह नजिक बजारमा यत्रतत्र प्लास्टिक भेटिन्छन् ।


दह फोहोर बनेपछि सफा र सुन्दर बनाउन शीतगंगा नगरपालिकाले बजार र स्थानीय बासिन्दालाई अब प्लास्टिक प्रयोग गर्न नदिने भएको छ । सामान ल्याउँदा र बेच्दा प्लास्टिकका थैली प्रयोग गरिन्छ । प्लास्टिकमुक्त बनाएर डमरु दहलाई सफा र सुन्दर पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले यस क्षेत्रका महिलालाई दुना– टपरी खुट्न सिकाएको छ ।


यस क्षेत्रको करिब ४ सय मिटरको दूरीमा अब प्लास्टिक देख्न पाइने छैन । त्यसका लागि दुना–टपरीको सुरुवात गरिएको हो । यस क्षेत्रका १७ जना महिलालाई तालिम दिएर दुना–टपरी बनाउन लगाइएको छ । दह वरिपरिका बजार र घरमा प्लास्टिकका साटो दुना–टपरी प्रयोगसँगै स्वरोजगर बनाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।


‘सुपादेउरालीदेखि चक्लासम्म प्लास्टिक मुक्त क्षेत्र बनाउने लक्ष्य छ,’ नगर प्रमुख सूर्यप्रसाद अधिकारीले भने, ‘सुन्दर र सफा पार्ने हो । १२ दिन तालिम दिएका महिलाले दुना– टपरी उत्पादन गर्नेछन् । ती प्रयोग गराइन्छ । बाहिर बिक्री भएमा आम्दानी हुन्छ ।’


नगर क्षेत्रमा चिउरी र सालका प्रशस्त रूख छन् । सन्धिखर्क नगरपालिकासित समन्वय गरेर धार्मिक पर्यटकीयस्थल सुपादेउराली मन्दिरलाइ पनि प्लास्टिकमुक्त बनाएर टपरी प्रयोग गर्न पहल गर्ने उनले बताए । देउरालीमा दर्शन र घुम्ने आन्तरिक पर्यटकले डमरु दह अवलोकन गर्छन् ।


प्राकृतिक सुन्दरताले भरिपूर्ण डमरु दहलाई व्यवस्थित गरेर धेरै पर्यटकलाई अवलोकन गराउने लक्ष्य नगरको छ । डुंगा चलाउन नगरबाट ५ लाख रुपैयाँ विनियोजन गरिएको छ, हिउँद/वर्षा पानीको सतह घटी–बढी हुने भएकाले हिउँदमा पानी ल्याएर दहमा राख्ने विषयमा छलफल अगाडि बढेको छ, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले भने ।


यस वर्ष टुना–टपरी बनाउन थालिएको छ । आउँदो वर्ष प्लास्टिक मुक्त क्षेत्र बनाइने उनले बताए । दह संरक्षणका लागि चुरे संरक्षणबाट १४ लाख रुपैयाँ बजेट माग गरिएको भण्डारीले बताए । नगरले स्थानीय सगरमाथा महिला सहकारी संस्थाका महिलालाई तालिम दिएको छ ।


‘दुना–टपरी बनाएर बजारमा बिक्री गर्ने र स्वरोजगार उन्मुख हुने खालले हामी अगाडि बढेका छौं,’ समूहकी अध्यक्ष लक्ष्मी बेल्बासेले भनिन् ।’ विवाह, पूजापाठलगायतका कार्यमा बजारका प्लास्टिकका थाल, गिलास, कचौराले नयाँ पुस्ताका युवतीले दुना टपरी खुट्न बिर्सेका छन् ।

प्रकाशित : माघ १७, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्

सहिद र नेताको नामका पार्क अलपत्र

पार्कको उचित व्यवस्थापन नहुँदा सुधार भएन
प्रकाश बराल

बागलुङ — नेता र सहिदका नाउँमा घोषणा गरिएका पार्क जीर्ण र अलपत्र छन् । व्यवस्थापन अभावका कारण सुधार हुन नसकेका हुन् । कतिपय काममा लागि भने रकम अभाव भएको गुनासो छ । बागलुङ नगरपालिका–१ मा सहिद स्मृति पार्क छ ।

बागलुङ सदरमुकाममा रहेको सहिद स्मृति पार्क तथा वीरेन्द्र–ऐश्वर्य पार्कमा अव्यवस्थित रूपमा फालिएका फोहोर र जीर्ण संरचना ।तस्बिर : प्रकाश/कान्तिपुर

करोडौं खर्चिएर तीन वर्ष लगाएर २०५७ मा बनेको भनिएको उक्त पार्क अझै जीर्ण छ । केही वर्षअघि विश्व बैंकको ऋणमा सञ्चालित व्यवस्थापनको कामसमेत टालटुले भएपछि टीकाटिप्पणी सुरु भएको हो ।

५ वर्षअघि झन्डै डेढ करोड रुपैयाँ लगानी गरिए पनि पार्कलाई व्यवस्थित बनाउन नसक्दा पर्यटक भित्र्याउने योजना पनि अलपत्र छ । ‘पार्कमा सहरी शासकीय क्षमता सुधार कार्यक्रमको ९० लाख रुपैयाँ खर्च भएको हो,’ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘सोचेजस्तै पर्यटक लोभ्याउने बनाउन अब प्रयास थालिनेछ ।’

नगरपालिकाले गत वर्ष प्रभु बैंकसँगको सहकार्यमा उक्त पार्क व्यवस्थापनको काम पुन: थालेको जनाएको थियो । उक्त काममा नगरपालिकाले नै नसघाएको आरोप निर्माण समिति सदस्यको छ ।
तोकिएका सर्त नगरपालिकाले पूरा नगर्दा बैंकले ५० लाख रुपैयाँ खर्चेर गर्ने भनेको व्यवस्थापनको काम अघि बढेन । ‘नगरपालिकासँगका सर्त पूरा नभएकाले व्यवस्थापनका लागि सोचेजस्तो काम गर्न पाइएन,’ प्रभु बैंकको शाखा म्यानेजर अमरज्योति गिरीले भने, ‘सामान्य सुधारको काम गरेर छाडिएको छ ।’

रामरेखा सामुदायिक वनले २०५४ सालमा २९ रोपनी जग्गा पार्क बनाउन दिएको थियो । निर्माणका लागि घेराबार लगाएयता अरू काम भएन । संरक्षण अभावमा फोहोर र जीर्ण भएको छ । सहिदका सालिक, भ्युप्वाइन्ट, फन पार्क, वनभोजस्थल, खानेपानी र सार्वजनिक शौचालयसमेत निर्माण गर्ने भनिए पनि अहिलेसम्म त्यस्ता काम भएका छैनन् । पार्कभित्र तत्कालीन समयमा धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथ चन्द तथा बागलुङका सहिद थिरबम मल्लका सालिक राखिएका छन् ।

उक्त स्थानमा चिडियाखानासमेत बनाउने योजना भए पनि निर्माण नगरी वर्षको एक दिन मात्र खुल्दा जीर्ण बन्दै गएको थियो । सहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत व्यवस्थित बनाउने नगरपालिकाका उपप्रमुख सुरेन्द्र खडकाले बताए । ‘नगरको पर्यटन प्रवद्र्धनका लागि पार्क निर्माण गरिएको हो’ खडकाले भने ‘सरसफाइ र आन्तरिक स्रोत वृद्धिमा परियोजनाले सहयोग पुग्छ ।’

प्रसिद्ध बागलुङ कालिका मन्दिर नजिकै भएकाले उक्त पार्कलाइ व्यावसायिक र पर्यटकीय बनाउन सकिने नगरपालिकाले लक्ष बनाएको छ । सदरमुकामकै वीरेन्द्र ऐश्वर्य पार्क अस्तव्यस्त जस्तै छ । उक्त पार्कमा अवैध रूपमा प्रयोग भएका लागूऔषध र महिला तथा पुरुषले प्रयोग गर्ने यौन सामग्रीसमेत छरिएको अवस्थामा भेटिन्छ ।

कांग्रेस संस्थापक वीपी कोइरालाको स्मृतिमा हरेक वर्ष वृक्षरोपण गरिरहने पार्कमा अहिलेसम्म एउटा पनि बिरुवा हुर्केका छैनन् । बागलुङ नगरपालिक–१ कै रामरेखामा वीपी बाटिका बनाउने भनेर राखिएको स्थान पनि फोहोर फाल्ने ठाउँ बनेको छ ।

‘बिरुवा रोप्ने र गोडमेल गर्ने योजना हो तर रोपेका बिरुवा पटक–पटक नष्ट भए,’ कांग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले भने, ‘अलपत्र पर्न नदिन पहल भएको छ ।’ त्यस्तै मदन भण्डारी र जीवराज आश्रितकै स्मृतिमा घेराबार लगाएर छाडिएको मदनआश्रित पार्क पनि अलपत्रै छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनाललाई लगाएर यो पार्क शिलान्यास गराइएको थियो । त्यसपछि पार्क व्यवस्थापनका लागि लगानी भएको छैन ।

‘जुन उद्देश्य राखिएको थियो, प्रतिबद्धता पूरा गर्न सकिएन,’ नेकपाका नेता कृष्ण पाठकले भने, ‘नेताका नाम भए पनि राष्ट्रिय विभूति हुन् भनेर स्थानीय तहले लगानी नगरे संरक्षण हुँदैन ।’ सदरमुकाम प्रवेशका लागि तत्कालीन माओवादीले स्वागत गेटका लागि बनाएको डीपीसी र रडले दुर्घटनाको खतरा बढाएको छ । काम अलपत्र छाडेपछि ढलेका रडले सवारीसाधन र पैदलयात्रीलाई दुर्घटनामा पार्न सक्ने खतरा बढाएको हो ।

मध्यपहाडी लोकमार्गको विस्तार गर्दा उक्त संरचना भत्कने गरी बनाइएको छ । काम पूरा नभएकाले त्यो संरचना भत्काएर सडक विस्तार गर्नैपर्ने अवस्थामा पुगेको प्राविधिकले बताए । दिवसको अवसर पारेर भाषण गरे पनि नेताहरूले सहिदको अपमान गरेको स्थानीयले आरोप लगाए ।

‘सहिदको नाम लिने मात्र हो, पार्कहरू व्यवस्थित बनाउने काममा कसैले वास्ता गर्दैनन्’ सामाजिक अगुवा दुर्गाबहादुर आचार्यले भने, ‘बजेट आयो भने स्वार्थका योजनामा खर्च हुन्छ, पर्यटक भित्राउने र सहिदको सम्मानमा लगाएको भेटिएन ।’ व्यवस्थापन अभावमा त्यस्ता पार्कहरूमा फोहोरको डंगुर थुप्रेको उनले टिप्पणी गरे ।

प्रकाशित : माघ १७, २०७५ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×