साइकलमा सरर स्कुल

कान्तिपुर संवाददाता

दाङ — थारू समुदायका छोरी/चेली शिक्षाबाट वञ्चित भएपछि उनीहरूलाई विद्यालय पठाउने अनेक उपाय गरिएको छ । त्यसमध्ये विद्यालय जाने बालिकालाई साइकल अभियान प्रभावकारी बनेको छ ।

कतिलाई घरका काम भ्याएर मात्र विद्यालय जानुपर्ने बाध्यता छ भने कतिलाई घरका काममा सघाउँदैमा नियमित विद्यालय जान समस्या छ । अनेक कारणले शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका छोरी/चेलीलाई विद्यालय जान प्रेरित गर्दै देउखुरीमा साइकल उपहार दिने अभियान चलाइएको हो ।


गरिब, विपन्न र कमैया कमलरी समुदायका बालिकालाई लक्षित गरी गत पुस अन्तिम साता ७० जनालाई साइकल वितरण गरिएको थियो । ०६८ सालदेखि थालिएको यो अभियानका क्रममा हालसम्म ४ सय ७८ साइकल उपहार दिइसकेको साइकल वितरणको संयोजन गरिरहेकी क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेश सापकोटाले बताए । ‘मुक्त कमरीलाई फेरि कमलरी बस्नु नपरोस् भनेर साइकल वितरण थालिएको हो । यसले छोरीलाई विद्यालय पठाउन सहयोग गर्‍यो,’ उनले भने, ‘अहिले कमैया–कमलरी जाने जोखिममा रहेका अन्य बालिकालाई पनि वितरण गरिएको छ ।’


साइकल उपहार पाएपछि पढाइमा सहयोग मिलिरहेको गढवाकी ७ कक्षामा अध्ययनरत अनिता कुमालले बताइन् । ‘साइकल पाएपछि आमाबुबा पनि खुसी हुनुहुन्छ । हामीलाई पनि विद्यालय जान सजिलो हुन्छ,’ उनले भनिन्, ‘साइकल पाएपछि विद्यालय जान घण्टौं हिँड्नुपर्ने र समय अभावका कारण विद्यालय जान नपाउने समस्या हट्छ ।’


साँझ–बिहान घरको काम सकेर विद्यालय नियमित जान सजिलो भएको बालिकाहरूले बताए । साइकल उपहार अभियानले विद्यालयमा छोरी/चेलीको संख्या बढाउन महत्त्वपूर्ण भूमिका खेलेको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए ।

प्रकाशित : माघ ७, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

खेत मासेर प्लटिङ

बर्दघाटदेखि सुनवलसम्म राजमार्ग आसपासमा रहेका खेतका कुला अहिले मासिँदै गएका छन् । ठूला कुलेसा पनि साँघुरिँदै पुरिने अवस्थामा पुगेका छन्
नवीन पौडेल

परासी — कुलो र खेत मासेर जमिन प्लटिङ गर्ने क्रम यहाँ बढ्दो छ । पश्चिम नवलपरासीको बर्दघाट, सुनवल, परासी क्षेत्रमा धमाधम खेतीयोग्य जग्गा मासेर बाटो बनाउने र घडेरीका रूपमा बिक्री गर्न थालिएको छ ।

साना कुला तथा नहर पुरेर घडेरी बनाउँदा पानीको निकास रोकिएको छ । त्यसले वर्षायाममा डुबानको खतरा बढाएको छ ।

खेती नहुने भएपछि कुलो किन आवश्यक पर्‍यो भन्दै धमाधम कुलेसाहरू पुर्न थालिएको सरावल–२ का रामजी कुँवरले बताए । ‘राजमार्ग नजिक रहेका खेतीयोग्य जग्गा धमाधम घडेरी भइरहेका छन्,’ उनले भने, ‘कुला
पुरेर प्लटिङ हुँदा पनि कसैले वास्ता गरेका छैनन् ।’

बर्दघाटदेखि सुनवलसम्म राजमार्ग आसपासमा रहेका खेतका कुला अहिले मासिँदै गएका छन् । ठूला कुलेसा पनि साँघुरिँदै पुरिने अवस्थामा पुगेका छन् । स्थानीय तहले बढ्दो प्लटिङलाई रोक्न भूमि नीति ल्याउने र कडाइ गर्ने भनेर नगर तथा गाउँ परिषद्मा भाषण गर्छन् ।

जमिन बाँझो छोड्नेलाई जरिवाना नै लगाउने भने पनि जिल्लामा खेतीयोग्य जमिन प्लटिङ हुन भने छाडेको छैन । धमाधम बाटो खोल्ने र प्लटिङ गर्ने क्रम बढेपछि उर्वर भूमि प्रयोगविहीन बनेर बाँझिदै गएको छ । बजारमा बस्तीका लागि घडेरी सकिएको भन्दै घरजग्गा कारोबारीले अहिले गाउँ–गाउँमा गएर बिजुलीका पोल गाड्दै बाटो खन्ने काम गरिरहेका छन् ।

रामग्राम नगरपालिका बढ्दो प्लटिङ तथा अव्यविस्थत बसोबास रोक्न नगरभित्र विभिन्न खेतीका ब्लक छुटयाउने र बसोबासका लागि दीर्घकालीन योजना बनाउने काममा लागिपरेको छ । नगरपालिका प्रमुख नरेन्द्र गुप्ताले कृषिमा आलु, मकै, धान, माछापालन, बदाम खेतीलाई प्रोत्साहन गरेर किसानले कृषिबाटै आम्दानी गर्न सकिने कुरा जानकारी गराएपछि मात्र जमिन बाँझो राख्ने क्रम घट्ने बताए ।

‘हामीले भूउपयोग नीतिका बारेमा औद्योगिक क्षेत्र, कृषि क्षेत्र, बसोबास र व्यावसायिक क्षेत्र गरेर दीर्घकालीन योजना बनाउँदै छौं,’ उनले भने, ‘कृषिको बजार सुनिश्चितता र अनुदान वृद्धि गरेर जमिन बाँझो राख्नेलाई खबरदारी गर्न सकियो भने प्लटिङ रोक्न र कुलानाला संरक्षणमा ध्यान पुग्नेछ ।’

प्रकाशित : माघ ७, २०७५ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×