कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

ढोरपाटन सिकार आरक्षको राजश्व बढ्यो

प्रकाश बराल

बागलुङ — ढोरपाटन सिकार आरक्षले चालु आर्थिक वर्षको वैसाख मसान्तसम्म ४ करोड ४८ लाख १५ हजार राजश्व संकलन गरेको छ । गत वर्षभरि यहाँ ३ करोड ४८ लाख मात्रै राजश्व संकलन भएको थियो । तर यो वर्षको असारसम्ममा गतवर्षको दोब्बर राजश्व संकलन हुने अपेक्षा छ ।

ढोरपाटन सिकार आरक्षको राजश्व बढ्यो

कोरोना संक्रमण, स्थानीयको विवादलगायतका कारण सिकारी आउन नसक्दा राजश्व संकलन घट्दो थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढीबढाउमा सिकारी छानिने अवसरले राजश्व बढेको हो ।

चालु वर्षका दुई सिजनमा गरी ढोरपाटनमा ३० वन्यजन्तुको सिकार भएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कँडेलका अनुसार सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै ४ करोड २६ लाख राजश्व संकलन भएको हो । त्यसबाहेक पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार, काठ, नदीजन्य बस्तु र जरिवानाबाट ९ लाख ४ हजार र हेलिकोप्टर अवतरण गराएबापत ५७ हजार राजश्व संकलन भएको हो ।

गतवर्ष ७ हजार ६ सय ४५ पर्यटक मात्रै आएकोमा चालुवर्ष ९ हजार ४ सय ३६ पर्यटक आएको तथ्यांक छ । सिकार भने गतवर्ष पनि ३० वटै भएका थिए । सिकारका लागि आरक्षले तोकिएको कोटामा बढीबढाउ गरेर सिकारी छानिने प्रावधान छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज बिभागले कोटाको आधारमा सिकारीको टेन्डर खुलाउने गरेको छ ।

त्यसअघि आर्थिक वर्ष २०७८/०७९ मा भने ९ हजार ९ सय १९ पर्यटक आए पनि राजश्व भने १ करोड ७५ लाख ७७ हजार मात्रै संकलन भएको थियो । उनीहरुको प्रवेश शुल्क मात्र नभइ उनीहरु घुम्ने समय, जाने अन्य स्थान समेतबाट कर संकलन बढी भएको हो । कोरोना संक्रमणका कारण आर्थिक बर्ष २०७६/०७७ मा ३७ लाख र आर्थिक वर्ष २०७७/०७८ मा २० लाख मात्रै संकलन भएको थियो । कोरोनापछि राजश्व संकलन बढिरहेको हो ।

पछिल्लो समय पर्यटक बढ्न थालेपछि यहाँको चहलपहल पनि बढेको छ । स्थानीय होटल व्यवसायीले पनि व्यवसाय बढाउन सकेको बताए । आन्तरिक पर्यटकहरु बागलुङको बुर्तिवाङ हुँदै ढोरपाटन सिकार आरक्षमा मोटर चढेर पुग्ने गरेका छन् । उनीहरुले मुख्य आरक्ष कार्यालय रहेको उपत्यकाबाहेक जलजला, निसेलढोरलगायतका स्थान घुम्छन् । केही मात्रै बुकीसम्म जाने गरेका छन् । विदेशी पर्यटक भने सिकारका लागि आउने गर्छन् ।

उनीहरु दुईदेखि तीन सातासम्म फागुने, धुस्तुङ, दोगाडी, वार्से, सुर्तिवाङलगायतका ब्लकका पुगेर बस्ने गर्छन् । उनीहरु हेलिकोप्टरमा ती स्थानमा पुग्ने गरेको कँडेलले बताए । चालुवर्षको दुई सिजनमा गरी १९ वटा नाउर र ११ झारलको सिकार भएको छ ।

आरक्षको तथ्यांक अनुसार सेनाको देवीबक्स गुल्मको सहायतामा गत फागुन २५ गते २ थान अबैध हतियार बरामद गरिएको थियो । त्यस्तै चैत १६ गते पनि ९ थान हतियार बरामद गरेको थियो । ती काममा सेना र आरक्षको संयुक्त टोलीले ओखेटोपहार बरामद गर्ने समेतको काम गरेको गुल्मपति बिनोदबिक्रम बस्नेतले बताए ।

आरक्षको ७ वटा ब्लकले बागलुङ, म्याग्दी र रुकुम जिल्लामा ढाके पनि सेनाको सुरक्षा सिमित क्षेत्रमा मात्रै छ । यहाँ रहेको देवीबक्स गुल्मले आरक्ष कार्यालय रहेको मुख्य पाटन, फागुने, तोगाडी र गुर्जालगायत स्थानमा मात्रै सुरक्षा दिन सकेको छ । ‘हामीले यहाँ सेनाको गण चाहिन्छ भनेर मागेका छौं, तर पाइएको छैन,’ बस्नेतले भने, ‘गण भयो भने सबै ब्लकमा सुरक्षा व्यवस्था गर्न सकिन्छ ।’ सुरक्षा बढाउँदा राजश्व संकलन बढ्ने र चोरी सिकार पनि घट्ने उनले बताए ।

आरक्ष कार्यालयमा समेत दरबन्दी अभाव छ । ७२ जनाको दरबन्दी रहेको आरक्षमा करारका केही कर्मचारी समेत गरी ४७ जनाले मात्रै काम गरेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०८१ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?