२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बनेपाका ६ वटा वडा बालश्रममुक्त घोषणा

काभ्रे — जिल्लाको बनेपा नगरपालिकाको ६ वटा वडालाई बालश्रममुक्त घोषणा गरिएको छ ।

बनेपाका ६ वटा वडा बालश्रममुक्त घोषणा

विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा बुधबार नगरपालिकाका वडा नं २, ३, ५, ११, १२ र १४ नं वडालाई बालश्रममुक्त घोषणा गरिएको हो । नगरपालिकालाई ‘२०८१’ भित्रमा बालश्रममुक्त घोषणा गर्ने लक्ष्य राखेअनुरुप नगरका ६ वटा बालश्रममुक्त गराइएको नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बताए । उनका अनुसार, नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्नका लागि बजार अनुगमनलाई तीव्र बनाइएको छ । ‘अनुगमनको क्रममा भेटिएका बालश्रमिकलाई नगरपालिकाले व्यवस्थापनका लागि सहजीकरण गर्नेछ,’ उनले भने, ‘भेटिएका बालश्रमिकलाई सम्बन्धित पालिकासँग सहकार्य गरेर नगरपालिकाले व्यवस्थापनमा सहजीकरण गर्नेछ ।’

त्यस्तै, बालबालिकालाई श्रममा लगाउने व्यक्तिलाई नगरपालिकाले कानुनअनुसार कारबाही पनि गर्ने उनले बताए । नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्नका लागि नगरपालिकाले २०७७ मा कार्यविधि बनाएर त्यहीअनुरुप नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटाले बताइन् । उनका अनुसार, नगरपालिकाले ‘नगरस्तरीय बालश्रममुक्त घोषणा समन्वय समिति’ र ‘बालमैत्री स्थानीय शासन समिति’सँग बालश्रममुक्त गर्नको लागि वडास्तरीय वस्तुगत स्थिति बारेमा छलफल गरेर ६ वटा वडालाई बालश्रममुक्त गराइएको हो ।

नगरपालिकाको १४ मध्ये ६ वटा बुधबार बालश्रममुक्त गरिएको छ । नगरपालिकाको वडा नं ७, ८ र ९ नम्बर बजार क्षेत्र भएकाले त्यस क्षेत्रका वडाहरुलाई बालश्रममुक्त घोषणा गर्न चुनौती भएको बनेपाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अधिकृत बिजया सुवेदीले बताइन् । उनका अनुसार, ती क्षेत्रमा नगरपालिकाले अनुगमन तथा नियमन कार्य तीव्र पारेको छ । विभिन्न संघ संस्था, प्रहरी प्रशासनको सहयोगमा नगरपालिकाले विभिन्न समयमा अनुगमन गरिरहेको उनले बताइन् ।

नगरका ६ वटा वडालाई बालश्रममुक्त घोषणा गराइएसँगै नगरका जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्नको लागि लिखित प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रकाशित : जेष्ठ ३०, २०८१ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x