कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

स्ववियु निर्वाचन विवादले रामपुर क्याम्पसमा तालाबन्दी

रमेशकुमार पौडेल

चितवन — पूर्वी चितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आंगिक रामपुर कृषि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भए पनि नेपाल विद्यार्थी (नेवि) संघले निर्वाचन प्रक्रिया र नतिजा घोषणाप्रति असहमति जनाउँदै गरेको तालाबन्दी खुलेको छैन ।

स्ववियु निर्वाचन विवादले रामपुर क्याम्पसमा तालाबन्दी

तालाबन्दी नखुल्दा यो क्याम्पसमा चैत २६ गतेबाट सुरु भएको त्रिविको बीएससी एजी पाँचौं सेमेस्टरको परीक्षासमेत हुन सकेको छैन ।

त्रिविअन्तर्गतका क्याम्पसहरूमा चैत्र ५ मा स्ववियु निर्वाचन हुने कार्यतालिका थियो । तर सो कार्यतालिकाभित्र चितवनका दुई क्याम्पसमा मात्रै निर्वाचन भएका छन् । अन्य क्याम्पसमध्ये खैरहनीको रामपुर कृषि क्याम्पसमा चैत्र १७ गते स्ववियु निर्वाचन भएर परिणाम घोषणा भएको छ । तर यसलाई नेवि संघले अस्वीकार गर्दै आएको छ । चैत्र २० मा नेवि संघले क्याम्पसमा ताला लगाएपछि परीक्षासमेत हुन नसकेको हो ।

उम्मेदवारी मनोनयनलगायत निर्वाचनसम्बन्धी सबै प्रक्रिया पूरा भएको अवस्थामा मतदानको अघिल्लो दिन नेवि संघले चैत्र ४ मा तालाबन्दी गरेपछि निर्धारित मितिमा चुनाव हुन सकेको थिएन । चैत्र ८ मा सबै राजनीतिक दलका क्षेत्रीय र नगर समितिका पदाधिकारीहरू, विद्यार्थी संगठनका नेताहरू र क्याम्पस प्रशासन तथा निर्वाचन समितिको सर्वपक्षीय बैठक बसेर स्थगित मतदान चैत १७ मा गर्ने निर्णय गरेको थियो । ‘बीएससी एजी पाँचौं सेमेस्टरको बोर्ड परीक्षा चैत्र १२ गतेदेखि थियो । चैत्र १७ मा खैरहनीको रामपुर कृषि क्याम्पसका स्ववियु निर्वाचन हुने भएपछि परीक्षाको समय चैत २६ देखि वैशाख १२ सम्म सार्‍यौं । हाम्रो मात्रै नभएर त्रिविका अन्य क्याम्पसमा पनि परीक्षा सरेको थियो‚’ क्याम्पस प्रमुख मिलन सुवेदीले भने । अहिले अन्य क्याम्पसमा परीक्षा सुरु भएको छ । तर खैरहनीको रामपुर कृषि क्याम्पसमा मात्रै भएको छैन ।

वैशाख ८ गतेदेखि २१ गतेसम्म बिएससी एजी सातौं सेमेस्टरको परीक्षा छ । स्ववियु निर्वाचनको विषय समाधान नभइकन तालाबन्दी नखुल्ने अडानमा नेवि संघका विद्यार्थी रहेका कारण सो परीक्षा पनि के हुने हो भन्ने अन्योल छ । चैत्र १७ को मतदान हुनुभन्दा दुई दिनअघि नेवि संघले चैत १५ मा निर्वाचन प्रक्रिया र निर्वाचन समितिप्रति असहमति जनाउँदै तालाबन्दी गरेको थियो । तालाबन्दीबीच चैत्र १७ मा दिउँसो मतदान भएको थियो ।

मतदान प्रक्रियाको विरोध गर्दा नेवि संघ इकाई सभापति तथा स्ववियु सभापति पदका उम्मेदवार आशिष जैसी देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो क्रममा उनी घाइते पनि भएका थिए । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराएर उनी चैत्र २७ मा डिस्चार्ज भएका थिए । सोही दिन अर्का विद्यार्थी सुरज यादव पनि घाइते भएका थिए ।

त्यसै गरी चैत २० मा तालाबन्दी गर्ने क्रममा आक्रमणमा परेर अर्का विद्यार्थी विवेक अर्याल पनि घाइते भएका थिए । चैत्र १७ को निर्वाचनमा वामपन्थी विद्यार्थीको संयुक्त प्यानल अखिल संयुक्तका उम्मेदवारहरू विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ । २४१ मतदाता रहेको सो क्याम्पसमा १२० मत खसेको थियो । नेवि संघले आफ्नो उपस्थितिबिना सीमित व्यक्तिको मिलिमतोमा एकलौटी र धाँदलीपूर्ण निर्वाचन गराएको आरोप लगाएको छ । त्यसैले सो निर्वाचन र मत परिणाम घोषणा खारेज हुनुपर्ने संघको माग छ ।

क्याम्पस प्रमुख, निर्वाचन समितिका संयोजक र सो दिन मतदान हुँदा घाइते हुने गरी विद्यर्थाीलाई नियन्त्रणमा लिने सुरक्षा प्रमुखलाई बर्खास्त गर्न पनि नेवि संघले माग गरेको छ । त्यसै गरी घाइते भएका सबै विद्यार्थीको उपचार खर्च प्रशासनले बेहोर्नुपर्ने माग पनि नेविसंघको छ । ‘उपचार खर्च बेहोर्नेबाहेक अरु माग म कसरी पूरा गर्न सक्छु, मैले सक्ने माग म पूरा गरिहाल्छु, परीक्षा हुने वातावरण बनाउ भनेको छु‚’ क्याम्पस प्रमुख सुवेदीले भने । उनले निर्वाचनको विषयमा अदालतमा उजुरी गर्न सुझाव दिए ।

‘निर्वाचनका सबै प्रक्रिया पूरा भएका छन् । यदि कसैलाई त्यस्तो भएको छैन भन्ने लाग्छ भने यो विषय न्यायालयले छिनोफानो गर्दछ । असन्तुष्ट पक्ष त्यता गए नियम मिलेको नमिलेको हेरेर अदालतले नै निर्णय दिन्छ‚’ क्याम्पस प्रमुख सुवेदीले भने । नेविसंघ इकाई सभापछि आशिष जैसी देवकोटा आफूहरू न्यायालय जान पनि तयार रहेको बताउँछन् । पश्चिम चितवन रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएपछि त्रिविले सोही नामको क्याम्पस खैरहनीमा ७५ सालको असारदेखि सञ्चालनमा ल्याएको हो ।

प्रकाशित : चैत्र ३०, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?